चिलिमे हाइड्रोपावरका लगानीकर्ताले आगामी आर्थिक वर्षमा पाउने लाभांशमा कमी आउनेछ । सरकारले दिएको १५ वर्षको कर छुट गत आर्थिक वर्षदेखि सकिएकाले यो वर्षदेखि तिर्नुपर्ने चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।
काठमाडौं : सार्वजनिक निजी साझेदारीमा सञ्चालित चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष ०७५/७६ देखि सरकारलाई आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएको छ । यो आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सरकारलाई २० प्रतिशत आयकर तिर्नुपर्ने भएको हो ।
आयकर तिर्नुपरेपछि यो वर्षदेखि लगानीकर्ताले पाउने लाभांश पनि घट्ने भएको छ । चिलिमे हाइड्रोपावरका लगानीकर्ताले आगामी आर्थिक वर्षमा पाउने लाभांशमा कमी आउनेछ । सरकारले दिएको १५ वर्षको कर छुट गत आर्थिक वर्षदेखि सकिएकाले यो वर्षदेखि तिर्नुपर्ने चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । उनले यो वर्षदेखि २० प्रतिशत आयकर तिर्ने जानकारी दिए ।
आयकर बुझाएपछि लगानीकर्ताले पाउने लाभांश १८ करोड रुपैयाँसम्म घट्ने देखिएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा ९३ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ, जसअनुसार ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिले गरेको छ । जलविद्युत् आयोजनाका लगानीकर्तालाई थप प्रोत्साहित गर्न सरकारले १० वर्ष पूरै र ५ वर्ष आधा कर छुट दिएको छ ।
चिलिमेले आर्थिक वर्ष ०६०/६१ देखि बिजुली उत्पादन थालेको हो । आयकरको दायरामा आउने चिलिमे पहिलो जलविद्युत् कम्पनी हो । सरकारले जलविद्युत् कम्पनीलाई १५ वर्षसम्म कर छुट दिएको छ ।
चलिमेले सहायक कम्पनीमार्फत २७० मेगाावाटका ४ ओटा आयोजना निर्माण गरिरहेको छ । आगामी २ वर्षदेखि चिलिमिले वार्षिक ६० करोड रुपैयाँभन्दा बढी लाभांश सहायक कम्पनीबाट पाउने कोइरालाको भनाइ छ । २ वर्षसम्म चिलिमेका लगानीकर्ताले पाउने लाभांशमा केही कमी आए पनि २ वर्षपछि बढ्ने उनले जानकारी दिए । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ । २ वर्षपछि चिलिमे र उसको सहायक कम्पनीबाट गरी २९२ मेगावाट बिजुली उत्पादन क्षमता हुनेछ ।
२७० मेगावाट क्षमताका ४ जलविद्युत् आयोजना निर्माण गरिरहेको चिलिमेले ४२० मेगावाटको बूढीगण्डकी प्रोक, १६५ मेगावाटको सेती नदी ३ र ६० मेगावाटको स्यारखोला आयोजना बनाउन सर्वेक्षणको काम गरिरहेको छ ।
चिलिमेले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको माथिल्लो भोटेकोसी र १५ मेगावाटको माथिल्लो सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन आयोजना निर्माण गरिरहेको छ । ४ आयोजनामा चिलिमेले साढे ५ अर्ब रुपैयाँ लगानी गरेको कोइरालाले बताए ।