अबको केही महिनाभित्र मयूरले पर्यटकीय स्थल पोखरा, लुम्बिनी तथा बुटवलसम्म सेवा दिने बताएको छ । काठमाडौंमा यात्रुहरुको मन जितिसकेको मयूरले अब अन्य ग्रामीण भेगमा समेत बस सेवा सञ्चालन गर्ने तरखरमा छ ।
काठमाडौं : मयूर यातायात प्राइभेट लिमिटेडले राजधानीबाहिर पनि बस सेवा सुरु गरेको छ । राजधानीमा मात्र बस सञ्चालन गरिरहेको मयूरले केही दिनअघि मात्र ओखलढुङ्गा, सिन्धुली र रामेछापको मन्थलीमा बस सेवा सुरु गरेको हो । ठूला ३२ सय सीसी क्षमताका एसी बस लामो रुटमा चलाएको हो ।
मयूरका अध्यक्ष मोहनबहादुर श्रेष्ठले काठमाडौं बाहिर पनि सेवा विस्तारको काम सुरु भएको बताए । ‘हामीले अहिले ओखलढुङ्गाा तथा रामेछापमा बस सेवा सुरु गरेका छौं,’ उनले भने, ‘अन्य क्षेत्रमा समेत सुरु गर्ने तयारी भइरहेको छ ।’
अबको केही महिनाभित्र मयूरले पर्यटकीय स्थल पोखरा, लुम्बिनी तथा बुटवलसम्म सेवा दिने बताएको छ । काठमाडौंमा यात्रुहरुको मन जितिसकेको मयूरले अब अन्य ग्रामीण भेगमा समेत बस सेवा सञ्चालन गर्ने तरखरमा छ ।
सेवा सञ्चालन गरेका क्षेत्रका लागि मयूरले सातदेखि दस ओटा सुविधायुक्त बस राखेको छ । काठमाडौंबाहिर चल्ने बस ३२ सय सीसीसम्मका छन् । यी बस रुट विभाजन गरी अन्य क्षेत्रमा समेत चलाइने मयूरका अध्यक्ष श्रेष्ठले बताए ।
राजधानीका हरेक सडकमा मयूरका ठूला बसमा देखिन्छन् । अहिले राजधानीमा करिब ७० ओटा बस सञ्चालनमा छन् । अहिले आएका बसमा करिब ५ करोड रुपैयाँ लगानी भएको मयूरका अध्यक्ष श्रेष्ठले बताए । उपत्यका बाहिर चल्ने तीन हजार सीसीभन्दा बढी क्षमताका बस ५५ लाखभन्दा बढी रुपैयाँ मूल्य परेको उनको भनाइ छ ।
मयूर यातायातले एक वर्षभित्र सय ओटा विद्युतीय बस पनि सञ्चालनमा ल्याउनका लागि आन्तरिक तयारी थालिसकेको छ । अध्यक्ष श्रेष्ठका अनुसार पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरिद गर्ने योजनामा छ । अहिले उपत्यकामा चक्रपथ, रत्नपार्क, कलङ्की, थानकोट, बनेपा, धुलिखेल, भकुन्डेबेसी रुटमा चलिरहेका छन् ।