कोसी करिडोर प्रसारणलाइन आयोजनामा धरान उपमहानगरको अवरोध, ५०० मेगावाट विद्युत् खेर जाने

धरान हुँदै प्रसारणलाइन लैजाँदा त्यहाँका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पुग्ने भन्दै धरान उपमहानगरपालिकाले प्रसारणलाइनको रुट परिवर्तन दबाब दिँदै आएपछि आयोजना अघि बढ्न सकेको छैन । धरान क्षेत्र हुँदै प्रसारणलाइन गएमा प्रस्तावित प्याराग्लाइडिङ, केबुलकार, भ्यू टावर, बिमानस्थल, ब्रिटिस गोरखा मेमोरियल पार्कजस्ता सम्पदा प्रभावित हुने भन्दै लाइन निर्माणको रुट परिवर्तन गर्न र नभए बनाउन नदिने भन्दै उपमहानगरले पत्राचार गरेको छ ।

काठमाडौं । पूर्वी क्षेत्रका ४ जिल्लामा जोडिने २२० केभी क्षमताको कोसी करिडोर प्रसारणलाइन आयोजना निर्माणमा धरान उपमहानगरपालिकाले अवरोध गरेको छ । यस्तै बन क्षेत्रमा पर्ने जग्गाको उपयोग र रुख कटानको अर्को समस्याले आयोजना नै थलिने अवस्थामा पुगेको छ ।

धरान हुँदै प्रसारणलाइन लैजाँदा त्यहाँका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पुग्ने भन्दै धरान उपमहानगरपालिकाले प्रसारणलाइनको रुट परिवर्तन दबाब दिँदै आएपछि आयोजना अघि बढ्न सकेको छैन । धरान क्षेत्र हुँदै प्रसारणलाइन गएमा प्रस्तावित प्याराग्लाइडिङ, केबुलकार, भ्यू टावर, बिमानस्थल, ब्रिटिस गोरखा मेमोरियल पार्कजस्ता सम्पदा प्रभावित हुने भन्दै लाइन निर्माणको रुट परिवर्तन गर्न र नभए बनाउन नदिने भन्दै उपमहानगरले पत्राचार गरेको छ ।

धरानको यो निर्णयले आगामी डेढ बर्षभित्र प्रसारणलाइन बन्न नसक्ने अवस्था आएको छ । निर्धारित समयभित्र लाइन नबने पुर्वमा बन्ने अवस्थामा रहेका आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् खेर जाने आयोजनाका प्रमुख राजन ढकालको भनाई छ । आगामी डेढ दुइ महिनासम्म पनि समस्या र अवरोध कायमै रहेमा आयोजनाको कुनैपनि क्षेत्रमा काम गर्न नसकिने उनले बताए । जसका कारण ठेकेदारलाई काममा लगाउन नसकिने अवस्था आएको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिका—२० चिन्डेडाँडा क्षेत्रबाट जाने प्रसारणलाइन जान नदिँदा आयोजना निर्माण अन्यौलमै रहने देखिन्छ । तर, आयोजना पक्षले भने त्यस क्षेत्रका प्रस्तावित सम्पदामा प्रभावित नहुने जनाएको छ । त्यस क्षेत्रमा स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, जनप्रतिनिधी र स्थानीयले लाइनको रुट परिवर्तन गर्न दबाब दिदैँ आएका छन् । चिन्डेडाँडा भएर जाने लाइनको रुटमा जग्गा अधिग्रहण, मुआब्जा वितरण, फाउन्डेसन निर्माण कार्य भइसकेको छ । यदि लाइनको रुट परिवर्तन गर्नुपरेमा आयोजना थप दुइ देखि तीन बर्ष थप ढिला हुने र अन्य समस्या आउने आयोजना प्रमुख ढकालको दाबी छ ।

आयोजना निर्माणका लागि आवश्यक जग्गा र रुख कटान सम्वन्धी स्वीकृत नपाउँदा काम अघि बढ्न सकेको छैन । बनक्षेत्रमा पर्ने जग्गा आयोजनाले उपयोग गरेबापत सट्टा भर्नास्वरुप अर्को स्थानमा आयोजनाले जग्गा उपलव्ध गराउनुपर्छ । सट्टा भर्नास्वरुप जग्गा उपलव्ध नगराएसम्म आयोजनाले बन क्षेत्रमा काम गर्न पाउँदैन । सट्टा भर्ना बापतको जग्गा खोज्न र पहिचान गर्नुपर्दा पनि आयोजना निर्माणमा ढिलाई भइरहेको छ । अहिले निजी जग्गामा मात्रै अहिले लाइन निर्माण तथा विस्तारको काम भइरहेको छ ।

लाइनको बन क्षेत्रको रुटमा पर्ने झन्डै १३ हजार रुख काट्नुपर्ने भएपनि बन विभागको स्वीकृत नहुँदा काम अड्किएको छ । आयोजना निर्माण क्रममा अत्यावश्यक निर्माणमा सामग्रीको अभाव भएपछि काम अघि बढ्न सकेको छैन् । खासगरी संखुवासभामा बन कार्यालय र जिल्ला समन्वय समितिले विद्यमान क्रसर उद्योग बन्द गर्ने निर्देशन दिएसँगै निर्माण सामग्रीका रुपमा गिट्टी तथा बालुवाको अभाव भएको हो । निर्माण सामग्रीको अभावले प्रसारणलाइन, सवस्टेशन निर्माण कार्य प्रभावित भएको छ । निर्माण सामग्रीको अभावले तुम्लिङ्टार र बानेश्वर सवस्टेशन निर्माणको काम प्रभावित भएको ढकालले जानकारी दिए ।

प्रसारणलाइन आयोजना प्रभावितका बासिन्दाहरुले उचित मुआव्जा नपाएका कारण विभिन्न समयमा अवरोध गर्दै आएका छन् । केही स्थानीय बासिन्दाले मुआव्जा पाएपनि केहीले भने अझै मुआव्जा पाउन सकेका छैनन् ।

आर्थिक बर्ष २०७३/०७४ मा निर्माण सुरु भएको आयोजना आगामी आव २०७७÷०७८ सम्म सम्पन्न लक्ष्य लिएपनि विभिन्न अवरोधका कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन । जस्का कारण, अहिले निर्माण भइरहेका आयोजना सम्पन्न भएर उत्पादित विद्युत् खेर जाने चिन्ता उत्तिकै छ ।

अहिले आयोजना निर्माणमा देखिएको समस्या र अवरोधका कारण आयोजना निर्धारित समयभित्रै सम्पन्न हुन निकै चुनौतीपूर्ण देखिन्छ । खासगरी रुख कटान, बनक्षेत्रको जग्गा, गिट्टी तथा बालुवा अभाव लगायतका समस्याले आयोजनाको प्रगति निकै सुस्त छ । आयोजनामा भारतको आयात निर्यात बैङ्क(एक्जिम) को करिव ९ अर्ब रुपैयाँ अर्थात ९ करोड अमेरिकी डलर ऋण लगानीमा निर्माण सुरु भएको हो ।