मापदण्डविपरीतका पाँच विद्युतीय बस फिर्ता लैजान पर्यटन मन्त्रालयको निर्देशन

उद्घाटनमा प्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्री तथा उपत्यकास्थित महानगर तथा नरपालिकाका मेयरहरुको उपस्थितिमा उद्घाटन भएका ती बस मेकानिकल टेस्ट नगरी नेपाल भित्रिएको खुलेको छ ।

काठमाडौं : पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले साझा यातायातले भित्र्याएका पाँच ओटा विद्युतीय बस मापदण्डविपरीत भएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ ।

कार्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ औपचारिक उद्घाटन गरिएका विद्युतीय बस तोकिएको मापदण्डअनुसारका नपाइएपछि सम्बन्धित बीओआईडी कम्पनीलाई फिर्ता लैजान वा साट्न निर्देशन दिएको हो ।

उद्घाटनमा प्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्री तथा उपत्यकास्थित महानगर तथा नरपालिकाका मेयरहरुको उपस्थितिमा उद्घाटन भएका ती बस मेकानिकल टेस्ट नगरी नेपाल भित्रिएको खुलेको छ ।

उद्घाटन भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि बस साझा यातायातको ग्यारेजमा थन्क्याइएको थियो । अहिले आएर बल्ल बस मापदण्डविपरीत भएको खुलेको हो ।

पर्यटन सचिव कृष्ण देवकोटाले मेकानिकल इन्जिनियरले तयार पारेको रिपोर्टमा माग अनुसारका गाडी नआएकाले अस्वीकृत गर्ने निर्णय भएको बताए । उनले गाडी दिने कम्पनीलाई साट्न वा फिर्ता लैजान भनिएको जानकारी दिए ।

खासगरी लुम्बिनी क्षेत्रमा सञ्चालन गर्ने गरी लुम्बिनी बिकास कोषले ती विद्युतीय बस ल्याउने निर्णय गरेको थियो । त्यहाँ विद्युतीय चार्जिङ् स्टेसन समेत बनाइएको थियो । तर लुम्बिनी क्षेत्रमा विद्युतीय बस चलाउन पूर्वाधार नभएको भन्दै साझाले उपत्यकामा चलाउने गरी स्वामित्व लिएको थियो ।

लुम्बिनी क्षेत्रभित्र सञ्चालन गर्न ल्याइएका बसको चार्जिङ् स्टेसनसमेत अहिले प्रयोगविहीन छन् । साझा यातायातका निर्देशक महेन्द्रराज पाण्डेले प्राविधिक समस्याका कारण बस सञ्चालनमा ढिलाइ भइरहेको भन्दै आलटाल गरिरहेका थिए । बस भित्र्याउन एसियाली बिकास बैङ्कले सहयोग गरेको थियो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सरोजकुमार भट्टराईले मापदण्ड नपुगेको तथा पर्यटन मन्त्रालयले बस फिर्ता अथवा साट्ने विषयमा आफूलाई जानकारी नआएको बताए ।