भेरी बबई डाइभर्सनको २ किमी सुरुङ खन्न बाँकी, बैशाखसम्म सकिने

नेपालमा पहिलो पटक अमेरिकी प्रविधिमा चीनमा निर्मित टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्न सुरु गरिएपछि आयोजनाको काम तीव्र रुपमा अघि बढेको हो ।

काठमाडौं : भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.३ किलोमिटर सुरुङमार्गमध्ये १० किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको बाँकी २ किलोमिटर सुरुङ खन्ने काम आगामी बैशाखभित्र सम्पन्न हुने भएको आयोजनाले जनाएको छ ।

नेपालमा पहिलो पटक अमेरिकी प्रविधिमा चीनमा निर्मित टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ खन्न सुरु गरिएपछि आयोजनाको काम तीव्र रुपमा अघि बढेको हो । बाँकी २ किमी सुरुङको ब्रेक थु्र आगामी बैशाखभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार आयोजनाको निर्माण कार्य तीव्ररुपमा अघि बढेको आयोजना प्रमुख सञ्जिव बरालले बताए । ‘टीबीएम मेसिनको प्रयोगले टनेल खन्ने काम छिटो छिटो भइरहेको छ । हालसम्म १० किमी सुरुङ खन्ने काम सम्पन्न भयो,’ उनले भने, ‘बाँकी २ किमी सुरुङ र यससम्बन्धी अन्य काम बैशाखसम्म सम्पन्न हुन्छ ।’ उनले आयोजनामा सुरुङ निर्माणको झन्डै ८५ प्रतिशत निर्माण सकिएको बताए ।

सुरुङ मार्गको ब्रेक थु्र भएपश्चात् सुरुङको ढलान र फिनिसिङ गर्न थप ३ महिना लाग्ने आयोजना पक्षले जनाएको छ । बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिँचाइ गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट ४८ मेगावाटको भेरी बबई डाइभर्सन जलविद्युत् आयोजनाको निर्माण हुनेछ । त्यसका लागि आयोजनाको डिटेल डिजाइन र लागत अनुमान व्यस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको यस आयोजनाको निर्माण कार्य आगामी सन् २०२० मार्चसम्म सम्पन्न गर्ने लक्ष्य छ । टनेलतर्फ आयोजनाको कुल लागत १० अर्ब ५६ करोड लागत अनुमान गरिएको छ । स्वदेशी लगानीमा निर्माण हुने उक्त आयोजनाको कुल लागत १६ अर्ब रुपैयाँ अनुमान गरिए पनि लागत बढेर ३३ अर्बसम्म पुग्ने देखिएको प्रमुख बरालले बताए ।