१ अर्ब खर्चेर जयनगर—कुर्थामा सरकारी स्वामित्वको आफ्नै रेल

कुल ६९ किलोमिटरको जनकपुर—बर्दिबास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको रेलमार्ग यसअघि नै तयार भएकाले त्यस क्षेत्रमा रेल चलाउन रेलका डिब्बा खरिद गर्न नेपालले भारतीय सरकारसँग प्राविधिक सहयोग लिएर महत्त्वपूर्ण निर्णय समेत गरेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी अमन चित्रकारले बताए ।

काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ खर्चेर जयनगर—कुर्थामा आफ्नै रेल सञ्चालन गर्ने गरी योजना अघि बढाएको छ । आगामी ४ महिनाभित्र ३४ किलोमिटर दूरीको जयनगर—कुर्थामा रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

कुल ६९ किलोमिटरको जनकपुर—बर्दिबास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको रेलमार्ग यसअघि नै तयार भएकाले त्यस क्षेत्रमा रेल चलाउन रेलका डिब्बा खरिद गर्न नेपालले भारतीय सरकारसँग प्राविधिक सहयोग लिएर महत्त्वपूर्ण निर्णय समेत गरेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी अमन चित्रकारले बताए ।

सरकारले आफ्नै स्वामित्वको रेल खरिद गर्ने निर्णय यसअघि नै गरेको उनले बताए । भारत सरकारको स्वामित्वको कम्पनीमार्फत् आवश्यक डिब्बा, इन्जिन र पार्टपुर्जा खरिद गर्ने प्रक्रिया अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले बताए ।

झन्डै १ अर्ब रुपैयाँको अनुमानित लागतको प्रस्ताव आएकाले त्यससम्बन्धी खरिद प्रक्रिया छिटै अघि बढ्ने उनले बताए । ‘४/५ महिनाभित्रै रेल चलाउने गरी आवश्यक खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘दुई सेट डिब्बा र इन्जिनका लागि झन्डै १ अर्ब लाग्नेगरी प्रस्ताव भारतीय पक्षले पठाएको छ ।’ भारतले छिट्टै ‘सप्लायर्स’ दिन सक्ने बताएकाले पनि तोकिएको समयमै रेल सञ्चालन गर्न सकिने अधिकारीको भनाइ छ ।

यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुने छ । यसअघि सन् २०१२ मा सञ्चालनमा रहेको रेल पुनः ७ वर्षपछि सञ्चालनमा आउने छ । सरकारले जयनगर—बर्दिबास ६९ किमी रेल सञ्चालनका लागि १० अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।

जयनगर—कुर्था रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारका काम सकिएका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्रयाकबेल्ट तथा स्टक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् ।

यसअघि पटक पटक रेल सञ्चालनको मिति सर्दै पछिल्लो पटक कात्तिक २०७५ भित्रै सञ्चालन गर्ने तयारी थियो । तर, तोकिएको समयमै रेल सञ्चालनमा आउन सकेन । रेल सञ्चालनका लागि लम्बिँदो खरिद प्रक्रिया, आवश्यक पुँजी सङ्कलन, विद्युत्तीय पोल सार्न कठिनाइ, जग्गा तथा रुख कटानजस्ता समस्याका कारण पनि रेल सञ्चालनमा ढिलाइ भएको रेल विभागले जनाएको छ ।