बुटवल-लमही र कोहलपुर–सुख्खड रेलमार्गको डीपीआर अन्तिम चरणमा

भरतपुरदेखि बुटवलसम्मको डीपीआर यसअघि नै तयार भइसकेको छ । पर्सा राष्ट्रिय निकुन्ज र चितवन निकुन्ज जोडेर रेलमार्ग लैजाने प्रस्ताव भए पनि त्यो उपयुक्त नदेखिएपछि नयाँ रुटको रुपमा निजगढ–हेटौंडा–भरतपुर खण्डमा पूर्वसम्भाव्यता अध्ययन, सर्भे, डिजाइन काम अघि बढी टेन्डरका लागि आशयपत्र मागेको छ ।

काठमाडौं : पूर्व–पश्चिम विद्युतीय रेलको बुटवलदेखि गड्डाचौकीसम्म बन्ने रेलमार्ग निर्माणको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । चार ओटा तहमा बनाइने रेलमार्गको डीपीआर झन्डै अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ ।

बुटवल—लमही, लमही—कोहलपुर, कोहलपुर–सुख्खड, सुख्खड–गड्डाचौकी गरी चार चरणमा डीपीआर बन्नेछ । कुल ४०९ किलोमिटर रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन, सर्भे र डिजाइन सम्पन्न भई डीपीआर स्वीकृत भई फाइनल भएर आउने चरणमा रहेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी अमन चित्रकारले बताए ।

चार तहको रेलमार्ग निर्माणको डीपीआर छुट्टाछुट्टै हुने उनको भनाइ छ । यसमध्ये लमही–कोहलपुर र सुख्खड–गड्डाचौकी खण्डको रेलमार्गको डीपीआर फाइनल भएर विभागमा आइसकेको उनले बताए । चाइना र कोरियन कन्सल्ट्यान्टले डीपीआर निर्माण गरिरहेको चित्रकारको भनाइ छ । ‘दुई ओटा प्याकेजको डीपीआर रिपोर्ट फाइनल भएर आइसकेको छ,’ उनले भने, ‘तर, दुई प्याकेजमा केही काम बाँकी भएकाले त्यसको पनि डीपीआर अन्तिम रिपोर्ट आउने चरणमा छ ।’

भरतपुरदेखि बुटवलसम्मको डीपीआर यसअघि नै तयार भइसकेको छ । पर्सा राष्ट्रिय निकुन्ज र चितवन निकुन्ज जोडेर रेलमार्ग लैजाने प्रस्ताव भए पनि त्यो उपयुक्त नदेखिएपछि नयाँ रुटको रुपमा निजगढ–हेटौंडा–भरतपुर खण्डमा पूर्वसम्भाव्यता अध्ययन, सर्भे, डिजाइन काम अघि बढी टेन्डरका लागि आशयपत्र मागेको छ । आशयपत्र प्राप्त भएपछि आवेदन दिने कम्पनीहरुको सर्ट लिस्टमा नाम सार्वजनिक गरिने रेल विभागले जनाएको छ । त्यसपछि मात्रै डीपीआर निर्माण अघि बढ्नेछ । एक बर्षभित्र सो खण्डको डीपीआर पूरा गरी रेलमार्ग निर्माण अघि बढ्ने विभागको योजना छ ।

यसअघि ३ अर्ब ३० करोड रुपैयाँ खर्चेर महोत्तरीको बर्दिवासदेखि सर्लाहीको लालबन्दीखण्डमध्ये ३० किमिमा रेलमार्ग निर्माण भइसकेको छ । एक सय ४० किमीको बर्दिवास–सिमरा–वीरगन्ज खण्डको रेलमार्ग निर्माणको डीपीआर बने पनि रेलमार्ग निर्माणको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन ।

रेल विभागका अनुसार, बुटवलदेखि गड्डाचौकीसम्म निर्माण गरिने रेलमार्गका लागि २ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ । आर्थिक वर्ष २०६६/०६७ देखि निर्माण सुरु भएको रेलमार्ग कुल लम्बाइ ९ सय ४५ किमि छ ।