सिन्धुज्वाला हाइड्रोपावरले सिन्धुपाल्चोकमा ६४ मेगावाटका २ आयोजना बनाउँदै

आयोजनाको कुल लागत ७ अर्ब रुपैयाँ रहेको अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमध्ये संस्थापक सेयरधनीहरुको लगानी ७५ प्रतिशत, प्रभावित स्थानीय जिल्लाबासीहरुका १० र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशतम सेयरको व्यवस्था गरिएको उनले जानकारी दिए ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित सिन्धुज्वाला हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकमा ६४ मेगावाट क्षमताका दुई ओटा जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ । ३ मेगावाटको आयोजना बनाइरहेको सिन्धुज्वालाले थप २ ओटा आयोजनाको काम सुरु गरेको हो ।

जिल्लाको जुगल गाउँपालिका वडा नं ३ मा ४३ मेगावाटको अपर नेसम खोला जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेसम खोला ए जलविद्युत आयोजना निर्माण थालेको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको यो आयोजना कोदारी राजमार्गको बलेफीदेखि करिब ५० किलोमिटर उत्तरमा पर्दछ ।

कम्पनीको अधिकृत र जारी पुँजी हाललाई २ अर्ब ५० करोड रुपैयाँ छ । आयोजनाको कुल लागत ७ अर्ब रुपैयाँ रहेको अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमध्ये संस्थापक सेयरधनीहरुको लगानी ७५ प्रतिशत, प्रभावित स्थानीय जिल्लाबासीहरुका १० र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशतम सेयरको व्यवस्था गरिएको उनले जानकारी दिए ।

आयोेजना निर्माणका लागि प्रभु बैङ्कको नेतृत्वमा ५ अर्ब २५ करोड रुपैयाँ को ऋण सम्झौता भएको उनले जानकारी दिएका छन् । नेसम खोला र लामपोखरी खोलाको पानीलाई १ हजार ३०० मिटर लामो सुरुङ तथा ३ हजार ८०४ मिटर लामो पेनस्टक पाइपद्वारा विद्युतगृहमा पानी खसालिने छ । नेसम खोला र लामपोखरी खोलाको पानीको बहाव राम्रो हुनु र उच्च हेड हुनु आयोजनाको आकर्षक पक्ष हो ।

आयोजना हिमाली क्षेत्रमा भएको र पानीको स्रोत विभिन्न हिमाल श्रृखला भएकोले वार्षिक बहावमा खासै उतारचढाव नहुन यस आयोजनाको विशेषता रहेको छ । यसले सुख्खायाममा बिजुली उत्पादनमा पनि कम असर गर्ने आयोजनाको भनाई छ । आयोजनाको पानीको बहाव ५.८७ घनमिटर प्रतिसेकेण्ड छ भने ग्रस हेड ८६० मिटर छ । आयोजनाको स्रोत क्षेत्र अर्थात क्याचमेन्ट क्षेत्र ६२ वर्गकिलोमिटर रहेको छ ।

आयोजनाको विद्युतगृहमा ४ ओटा पेलटन टर्वाइन जडान गरी ४३ मेगावाट विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको जुगल गाउँपालिको पाङताङ सबस्टेसन बलेफी कोरिडोरमा जडान गर्ने आयोजनाले १३ किलिमिटर लामो प्रसारण लाईन निमार्ण गर्नेछ ।

सिन्धुज्वालाले २०६५ चैत २८ मै विद्युत उत्पादन सर्भेक्षण अनुमति पाएको र २०७१ फागुन १४ मा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सरकारले स्वीकृत गरिसकेको बताइएको छ । २०७३ मङ्सिर ७ मा कम्पनीले विद्युत उत्पादन अनुमति पाएको र २०७३ कात्तिक २३ मा नेपाल विद्युत प्राधिकरणसँग ४१.४ मेगावाटको विद्युत खरिद सम्झौता भएको छ । कम्पनीले उत्पादन गर्ने बाँकी विद्युतको सम्झौताको प्रक्रिया अघि बढिरहेको छ ।

हाल आयोजनाको सम्पूर्ण निर्माण कार्य गर्नका लागि सर्भे गर्ने काम सम्पन्न भै क्पाम्प समेत निर्माण भैरहेको छ । आयोजनाको लागि प्रवेश मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले २१ मेगावाटको अर्को आयोजना माथिल्लो नेसम खोला ए जलविद्युत आयोजना निर्माणको लागि समेत अुनमती पत्र प्राप्त गरिसकेको छ । यो आयोजनाको पनि विद्युत खरिद सम्झौता भैसकेको छ । यस आयोजनाको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना दुवै आयोजना निर्माण सुरु भएको मितिले ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यसैबीच शनिबार सो हाइड्रोपावर कम्पनीको दोस्राे साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक प्रतिवेदन २०७४/०७५, लेखापरीक्षकको प्रतिवेदन २०७४/०७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

त्यसैगरी प्रबन्धपत्र नियमावलीको संशोधन तथा समितिमा रिक्त रहेको सञ्चालकको चयनको अनुमोदन गरेको छ । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको छ ।