मेलम्चीबाट भागेको इटालियन ठेकेदार सीएमसीसँग ठेक्का तोड्ने तयारीमा तनहुँ जलविद्युत्, २८ दिनभित्र काममा नफर्किए प्रक्रिया अघि बढ्ने

सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको हो । ठेक्का सम्झौता भए पनि तनहँुले उसलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) दिएको छैन ।

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदारे कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग भएको ठेक्का सम्झौता तोड्ने भएको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिने भएको छ । सो समयभित्र सीएमसी काममा नर्फकिए सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने तनहँुका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए ।

मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको सीएमसीले अहिले सुरक्षाका कारणले काम गर्न नसक्ने भनेको उनले जानकारी दिए । सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदारलगायत अन्य आपूर्तिकर्तालाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

ऋणदाता एसियाली विकास बैङक (एडीबी)ले पनि सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सुझाएको उनले सुनाए । निर्धारित समयभित्र काममा नफर्किए सम्झौतामा भएको प्रावधानअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने उनले बताए । सीएमसी काममा फर्कने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको हो । ठेक्का सम्झौता भए पनि तनहँुले उसलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) दिएको छैन ।

सीएमसीले गर्दा आयोजनाको भविष्य अनिश्चित भएको छ । ठेक्का तोडिएपछि फेरि नयाँ प्रक्रिया सुरु गर्दा समय लाग्ने भएपछि दोस्रो लटको ठेकेदारको पनि काम प्रभावित हुने सम्भावना छ । दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँँग ठेक्का सम्झौता भइसकेको छ । ऊ काम सुरु गर्ने तयारीमा छ ।

सिनोले आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्र्तगत विद्युत् गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा भएको हो ।

आयोजनाको कुल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत रहेको छ । एडीबीले १५ अर्ब रुपैयाँ अर्थात् १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ अर्ब ४० करोड रुपैयाँ अर्थात् १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआईबी) ले ८ अर्ब ५० करोड रुपैयाँ अर्थात् ८ करोड ५० लाख डलर र सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ अर्ब ७० करोड रुपैयाँ अर्थात् ८ करोड ७० लाख डलर लगानी छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।