गल्ती छोप्न सर्वोच्च पुग्यो पप्पु

पप्पुले पाउन बाँकी रकमसमेत रोक्का गर्न सरकारले निर्देशन दिएको थियो । सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा संसदीय समितिको छुट्टाछुट्टै टोलीले पुलको अवलोकन गरेको थियो ।

काठमाडाैं । बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल निर्माणमा भएको लापरबाहीका कारण पुल भास्सिएपछि आफ्नो दायित्वबाट उम्कन पप्पु कन्स्ट्रक्सन सर्वोच्च पुगेको छ । पप्पु कन्स्ट्रक्सनले बनाएको पुल सरकारलाई हस्तान्तरण हुन बाँकी रहेका बेला २०७४ साउन २९ गते भास्सिएको थियो ।

यसपछि सरकारले पुल भास्सिनुको कारणबारे अनुसन्धान गर्दा पप्पु कन्स्ट्रक्सनको चरम लापरबाही र गम्भीर कमजोरी रहेको देखिएपछि पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न निर्देशन गरेको थियो ।

पप्पुले पाउन बाँकी रकमसमेत रोक्का गर्न सरकारले निर्देशन दिएको थियो । सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा संसदीय समितिको छुट्टाछुट्टै टोलीले पुलको अवलोकन गरेको थियो ।

पप्पु कन्स्ट्रक्सनले सडक विभागले गरेको ड्रोइङ डिजाइनका कारण पुल भास्सिएको र आफ्नो त्यसमा केही गल्ती नभएको भन्दै आफूले पाउनुपर्ने रकम मागदाबी गर्दै २०७४ मङ्सिर ८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

पप्पुले सर्वोच्चमा दायर गरेको रिटमा भनिएको छ, ‘ठेक्का पाउदा सरकारले दिएको ड्रोइन डिजाइन ठीक थिएन, त्यसलाई आफ्नो कम्पनीले परिर्वतन गरौं भन्दा मानेन, त्यसैका कारण पुल भास्सियो ।’

पुलको ठेक्का सम्झौता पाएपछि आफूले ड्रइङ डिजाइन ठीक छ वा छैन भनी जाँच गर्दा सम्झौताअनुसारको डिजाइन जियोलोजी एन्ड हाइड्रोलोजी ठीक नभएको भन्दै आफूले ७०० एमएम डायमिटर बोर पाइललाई नै परिर्वतन गरी ७०० एमएम डायमिटर वेल फाउन्डेसन बनाउनुपर्ने सुझाए पनि सरकारले नमान्दा पुल भास्सिएको उसको दाबी छ ।

सरकारले दिएको गलत डिजाइनमा पुल बन्दा समस्या आएको र त्यसमा आफ्नो दोष नभएको पप्पु कन्स्ट्रक्सनको भनाइ छ ।
वर्षा धेरै भएको र त्यही बेला बालुवा जम्मा हुँदा पुल भास्सिएको पप्पुको दाबी छ । तर सार्वजनिक खरिद प्रक्रियाअनुसार सरकारले जुन मापदण्डका आधारमा बोलपत्र आह्वान गर्छ, निर्माण कम्पनीले त्यसैका आधारमा निर्माण सम्पन्न गर्नुपर्छ । सरकारले आह्वान गरेको बोलपत्रभन्दा फरक बनाउन मिल्दैन । बरु निर्माणबाट उम्कनुपर्ने हुन्छ । तर पप्पुले काम कमजोर गरेर सरकारको दोष देखाउन खोजेको छ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई दिएको डिजाइनअनुसार पुल निर्माण नगरेका कारण पुल भासिएको बताएको छ ।

पप्पु कन्स्ट्रक्सनले बनाएको पुल ४३६.०५ लम्बाइको बन्नुपर्ने हो । तर ४३३.५५ मिटरको बनाएको छ । स्पान लम्बाइ २५.० हुनुपर्नेमा ३.० घटेका कारण पुलले तोकिएको भारवहन गर्न नसकेका कारण समस्या पैदा भएको सरकारको भनाइ छ ।

सरकारले गठन गरेको छानबिन समितिले पप्पु कन्स्ट्रक्सनलाई चार ओटा गल्ती औंल्याएर त्यसलाई सच्याउन २०७३ जेठ ११ र १६ एवम् असार ६ गते र १६ गते बारम्बार ताकेता गरेको थियो । तर त्यसलाई पनि पप्पुले वास्ता गरेन ।

निर्माण व्यवसायीले करारबमोजिम पुल निर्माण सम्पन्न भएको १२ महिनासम्म कुनै समस्या भए मर्मत गर्नुपर्ने दायित्व रहने भन्दै सरकारले पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गर्दै र पप्पुकै लापरबाहीका कारण भास्सिएको सरकारको दाबी छ ।