पर्यटन तथा नागरिक उड्डयन अध्ययन उपसमितिको प्रतिवेदन, निजगढ विमानस्थल बने फास्ट ट्र्याक ८ किमि छोटिन्छ

काठमाडौं—तराई मधेस दु्रतमार्गको प्रारम्भिक दूरी ७६.२ छ । निजगढ विमानस्थल निर्माण भएको खण्डमा ६८ किमि दूरीमा फास्ट ट्र्याक गर्न सकिने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं । बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए काठमाडौं–तराई मधेस दु्रतमार्गमा आठ किलोमिटर सडक छोटिने भएको छ । प्रतिनिधिसभाअन्तर्गत पर्यटन तथा नागरिक उड्डयन अध्ययन तथा अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनले विमानस्थल निर्माण भए फास्ट ट्र्याकको दूरी घट्ने जनाएको हो ।

काठमाडौं—तराई मधेस दु्रतमार्गको प्रारम्भिक दूरी ७६.२ छ । निजगढ विमानस्थल निर्माण भएको खण्डमा ६८ किमि दूरीमा फास्ट ट्र्याक गर्न सकिने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । विमानस्थल निर्माणमा मुख्यतया मुआब्जा तथा बस्ती स्थानान्तरण, रुख कटानी, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए)लगायतका समस्या छन् । विमानस्थल बनाउन झन्डै १ लाख रुख काट्नुपर्छ । तर वन तथा वातावरणीय हिसाबले न्यून क्षति हुने गरी रुख कटान गर्न स्थानीय सरकारको माग छ । विमानस्थल निर्माण आसपासका झन्डै डेढ घरलाई उचित वासस्थानमा सार्नुपर्छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि प्रारम्भिक अध्ययन गरी निर्माण सुरु भए पनि अझै पनि निजगढ विमानस्थलको मोडालिटी बन्न सकेको छैन । लामो समयदेखि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन प्राधिरकरले विमानस्थल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सहितको मोडालिटी बनाएर अघि बढाउने विषयमा छलफल भए पनि कहिलेदेखि विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न भन्ने टुङ्गो छैन ।

अहिले निजगढ विमानस्थलमा जग्गा मुआब्जा वितरण, ईआईए, रुख कटानलगायतका काम अघि बढेका छन् । उपसमितिले निजगढ विमानस्थलको प्रारम्भिक अवस्थाबारे स्थलगत अवलोकन गरी तयार पारेको प्रतिवेदन सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाएको छ ।

घोषित विमानस्थल क्षेत्रमा चार किल्लाका लागि ५०÷५० मिटर कङ्क्रिटको पोलद्वारा छुट्याउने कार्य भइसकेको प्रतिवेदनमा उल्लेख छ । रुख कटान तथा व्यवस्थापनका लागि नेपाली सेनासँग समझदारी भइसकेको छ ।

रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयले २०७५ जेठमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआई) स्वीकृत गरिसकेको छ ।

उपसमितिले बुझाएको प्रतिवेदनमाथि समितिका सदस्य तथा सांसदहरुले आआफ्ना धारणा राखेका थिए । उपसमिति संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण भएमा नेपालको पर्यटन, कृषि तथा आर्थिक क्षेत्रमा विकास गर्न सकिने बताए ।

प्रतिवेदन बुझ्दै समितिका सभापति पवित्रा निरौलाले पर्यटन क्षेत्रको विकासका लागि निजगढ विमानस्थल निर्माणको विकल्प नरहेको बताइन् ।

दु्रतमार्ग निर्माण बारा जिल्लामा झन्डै ८ किमी पर्छ । महेन्द्र राजमार्गको पसाहा खोलादेखि बकैया नदीसम्म विमानस्थलको प्रभावित क्षेत्र पर्छ । त्यसैले बारा र मकवानपुर क्षेत्रमा निर्माण हुने सडकको दुरी कम हुने देखिएको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता गोकुल भण्डारीले बताए ।