नेपाललाई हिउँदयाममा आवश्यक परेका बखत भारतले दिने र वर्षायाममा भारतलाई खाँचो परेका बेला नेपालले बिजुली आपूर्ति गर्ने संयन्त्र नै इनर्जी बैङ्किङ हो ।
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा बैङ्किङ बनाउने विषयमा सहमति भएको छ । नेपाल र भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) को छैटौं बैठकमा ऊर्जा बैङ्किङ बनाउने विषयमा सम्झौता भएको हो ।
अब ४५६ मेगावाटकको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि वर्षादमा बढी भएको बिजुली भारतले किन्ने र सुख्खायाममा आवश्यकताअनुसार सो बिजुली नेपालमा आयात गर्ने छ । आगामी कात्तिकदेखि माथिल्लो तामाकोसी सञ्चालनमा आउँदै छ । यो सहमतिबाट नेपालमा वर्षादको समयमा बिजुली खेर जाने समस्याको समाधान भएको छ । वर्षादमा निकासी गरेको बिजुली सुख्खायाममा आयात गर्न बाटो खुलेको हो ।
ऊर्जा, जलस्रोत, सिंचाइ सचिव दिनेशकुमार घिमिरे र उनका समकक्षी अजय भल्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैठकले बुधबार भएको सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) ले तय गरेका विभिन्न एजेन्डालाई अनुमोदन र पारित गरेको छ । दुई दिने सो बैठकमा ऊर्जा बैङ्किङको विषयलाई प्रक्रियागत रुपमा अघि बढाउने सम्बन्धमा निर्णय भएको सचिव घिमिरेले जानकारी दिए ।
बैठकको प्रमुख एजेन्डामा गत पुसमा भारतको नयाँ दिल्लीमा पारित इनर्जी बैङ्किङसम्बन्धी द्विपक्षीय सहमतिलाई पारित गरेको हो । एक देशले अर्काे देशलाई आवश्यकता रहेका बेला ऊर्जा आदानप्रदान गर्नुलाई इनर्जी बैङ्किङ भनिन्छ ।
नेपाललाई हिउँदयाममा आवश्यक परेका बखत भारतले दिने र वर्षायाममा भारतलाई खाँचो परेका बेला नेपालले बिजुली आपूर्ति गर्ने संयन्त्र नै इनर्जी बैङ्किङ हो । नेपाललाई बिजुलीको हिउँदयाममा आवश्यकता बढी तर उत्पादन कम हुने गर्छ । यसैगरी भारतमा वर्षायाममा बिजुलीको माग अत्यधिक हुने तर नेपालमा जडित क्षमतामा उत्पादन हुन्छ ।
माथिल्लो तामाकोसीलगायतका आयोजना सम्पन्न भएपछि वर्षायामको ६ महिना भारतलाई बिजुली निर्यात गर्न सकिने भएको छ । यसैगरी टनकपुरबाट थप ५० मेगावाट बिजुली दिन भारत सहमत भएको छ । हाल भारतबाट ६०० मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ ।
बैठकले कोहलपुरदेखि भारतको नानपारासम्म १३२ केभी क्षमताको प्रसारणलाइन भारत सरकारले बनाउने सहमति भएको छ । बर्दघाट गोरखपुर अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारणलाइनको थप अध्ययन गर्न सहमति भएको छ ।