उपत्यकामा खानेपानी समस्या ज्यूँका त्यूँ

बढ्दो जनसङ्ख्याका कारण बर्सेनि उपत्यकामा खानेपानीको माग बढेको छ । तर पनि सीमित स्रोतका कारण आवश्यकताअनुसार खानेपानीको आपूर्ति हुन सकेको छैन ।

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीको अभाव हट्न सकेको छैन । मेलम्ची आउला र पिउँला भनेर तीन शताब्दीदेखि कुरेका उपत्यकावासीले अझैसम्म पनि खानेपानी सास्ती खेप्नुपरेको छ ।

बढ्दो जनसङ्ख्याका कारण बर्सेनि उपत्यकामा खानेपानीको माग बढेको छ । तर पनि सीमित स्रोतका कारण आवश्यकताअनुसार खानेपानीको आपूर्ति हुन सकेको छैन । अहिले काठमाडौं उपत्यकामा ४५ करोड लिटर पानीको माग छ । तर, त्यसको करिब एक चौथाइ अर्थात् १२ करोड लिटर पानी मात्र आपूर्ति भइरहेको छ । अझै पनि ३३ करोड लिटर पानी अपुग छ ।

उपत्यकामा खानेपानी वितरणको जिम्मा पाएको काठमाडौं उपत्यका खानोपानी लिमिटेडले मागअनुसार खानेपानीको आपूर्ति व्यवस्थापनमा समस्या देखिएको जनाएको छ । खानेपानीको माग उच्च रहे पनि आपूर्ति व्यवस्थित वितरण गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख महेश भट्टराईले जानकारी दिए । मागको एक चौथाइ मात्र खानेपानी आपूर्ति भएकाले समानुपातिक वितरण गर्न निकै चुनौती रहेको उनले बताए । ‘उपत्यकामा झन्डै ४५ करोड लिटर पानीको माग छ,’ उनले भने, ‘तर हामीसँग निकै कम परिमाण अर्थात् १२ करोड लिटर मात्रै पानीको आपूर्ति हुन्छ । यसले समुचित वितरण गर्न निकै गाह्रो छ ।’

उपत्यकावासीको तिर्खा मेटाउन ठूलो एक मात्र सपना हो— मेलम्ची । तर, अघि बढेको तीन दशक बिते पनि ३/३ ओटा ठेकेदार परिवर्तन भए । तर मेलम्चीको पानी आएन । पछिल्लो पटक ९६ प्रतिशत काम सकिएर यसै वर्ष मेलम्ची आउने अपेक्षा गरिए पनि इटालियन ठेकेदार सीएमसी भागेपछि मेलम्ची खानोपनी आयोजनाको काम ठप्प छ ।

मेलम्चीबाहेक तत्काल खानेपानी व्यवस्थापनका लागि वैकल्पिक योजना सरकारसँग छैन । अहिले नै उपत्यकामा मागअनुसार खानेपानीको वैकल्पिक योजना नभएको खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता शङ्करप्रसाद सुवेदीले बताए ।

यता काठमाडौं महानगरले पनि उपत्यकामा खानेपानीको व्यवस्थापनमा त्यति चासो देखाएको छैन । अन्य वैकल्पिक स्रोतको खोजीमा भन्दा आकासे पानी सङ्कलन र पुनर्भरण गर्नुपर्ने महानगरको जोड छ । बर्खाका बेला पानी सञ्चय गर्ने र हिउँदका बेला त्यसको उपयोग गर्ने गरी पानीको सङ्कलन गर्न सके उपत्यकामा खानेपानीको समस्या नभएको स्वयम् काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाअध्यक्ष ईश्वरमान डङ्गोलले बताए । महानगरका सबै वडा तथा नगरपालिकाले पनि आकासे पानी सङ्कलन र पुनर्भरण गरे खानेपानीको समस्या नहुने उनको तर्क छ ।

उनले आम उपत्यकावासीले पानी सञ्चय गर्ने प्रणाली अवलम्बन गर्न आग्रह गरे ।