हाइड्रो सपोर्टले ५३.५ मेगावाटको मध्य कालीगण्डकी आयोजना बनाउने, २०७९ सम्म बिजुली बल्ने

सरकारले हाइड्रो सपोर्ट प्राइभेट लिमिटेडलाई आयोजना निर्माणका लागि अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । आउँदो ३५ दिनपछि कम्पनीलाई विद्युत् उत्पादन लाइसेन्स दिने विद्युत् विकास विभागले जनाएको छ ।

काठमाडौं । निजी लगानीमा ५३.५ मेगाावट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । सरकारले हाइड्रो सपोर्ट प्राइभेट लिमिटेडलाई आयोजना निर्माणका लागि अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । आउँदो ३५ दिनपछि कम्पनीलाई विद्युत् उत्पादन लाइसेन्स दिने विद्युत् विकास विभागले जनाएको छ ।

कम्पनीले गरेको विस्तृत डिजाइनअनुसार आयोजनाबाट वार्षिक ३१ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजना आउँदो ४ वर्ष अर्थात् २०७९ सालसम्म सक्ने लक्ष्य हाइड्रो सपोर्टको छ । आयोजना गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित अन्नपूर्ण गाउँपालिकामा पर्दछ । आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको छ । आयोजनामा २६.८ मेगावाट क्षमताका दुई ओटा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइनबाट बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२ केभी क्षमताको म्याग्दीको दाना सबस्टेसनमा जोडिने छ ।

सरकारले हालसम्म १९७ आयोजनाबाट ७ हजार ५०६ मेगावाट बिजुली उत्पादनका लागि लाइसेन्स दिएको छ । यीमध्ये अधिकांश आयोजनाको काम अघि बढेको छ भने, केहीले सुरु गर्दै छन् ।