नेपाल गुणस्तर तथा नापतौत विभागले घरयासी विद्युतीय केवल तार उत्पादनका लागि नयाँ मापदण्ड ल्याएको छ । हालसम्म कम्पनीले १÷१८, ३÷३३ लगायतका तार उत्पादन भएर बजारमा आएको थियो । विभागले नयाँ मापदण्ड ल्याएसँगै पुरानो तार विस्थापन गर्ने भएको हो । विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीका अनुसार नयाँ मापदण्ड आएपछि उद्योगीले मल्टीस्ट्रयान्ड तार उत्पादन गरेर बजारमा ल्याउनुपर्ने छ ।
उनका अनुसार हाउस वायरिङ तारको मापदण्ड संशोधन गरेर नयाँ ल्याएको हो । नेपाल गुणस्तर तथा नापतौल परिषद्को बैठकले तारको मापदण्ड संशोधन गरेपछि पुरानो तार विस्तापित हुने भएको हो ।
‘परिषद्ले मापदण्ड स्वीकृति गरेको छ,’ उनले भने, ‘अब राजपत्रमा सूचना प्रकाशित भएपछि कार्यान्वयनमा जान्छ ।’ पुडासैनीका अनुसार नयाँ मापदण्डको कार्यान्वयनको विषयमा उद्योगीसँग छलफल हुन्छ ।
उद्योगीसँग भएको पुराना तार कहिलेसम्म विक्री गरिसक्छन् त्यस विषयमा सोध्न व्यवसायीसँग छलफल आयोजान गर्न लागिएको उनले बताए । ‘अहिले तत्काल नयाँ मापदण्ड अनुसार तार उत्पादन गरेर बजारमा पठाउने सम्भावना हुँदैन्,’ उनले भने, ‘व्यवसायीसँग छलफल गरेर कार्यान्वयनको मिति तय गर्छौ ।’
उनका अनुसार आगामी चार महिनाभित्र नयाँ मापदण्ड लागू गर्छौ । कम्तिमा पनि चार महिनाभित्र बजारमा भएको पुरानो तार बिक्री भइसक्ने र सो अवधिभित्र उद्योगले आफूलाई चाहिने नयाँ तथा उच्च प्रविधिको मेसिन समेत ल्याईसक्ने भएकाले सो समयसीमा राखिएको पुडासैनीले जानकारी दिए ।
‘मल्टीस्ट्रयान्ड’ केवलले विद्युत् खपत कम गराउनु साथै वायरिङमा समेत सजिलो हुने विभागले जनाएको छ । सीएफएल चिम जस्तै यसले विद्युत् खपत गर्न ठूलो सहयोग पु¥याउने भएकाले कार्यान्वयनमा ल्याउन लागिएको बताए । अन्य चिमको तुलनामा सीएफएलले कम विद्युत् खपत गरेजस्तै मल्टीस्ट्रयान्ड तारले पनि कम विद्युत् खपत गर्छ । त्यसैगरी, उपभोक्ताको सुरक्षाको दृष्टिकोणबाट पनि यो उत्तम हुने विभागले जनाएको छ ।
नेपालमा विद्युतीय तार उत्पादन गर्ने उद्योगको सङ्ख्या २२ पुगेको छ । यीमध्ये करीब १२ ओटाले औद्योगिक र घरायसी दुवै प्रकारका तार उत्पादन गर्दै आएका छन् । उद्योगहरूले ६ सयभन्दा बढी प्रकारका विद्युतीय केबल उत्पादन गर्दै आएका छन् । स्रोतका अनुसार एउटै कम्पनीको सबै किसिमको केबल उत्पादन गर्ने क्षमता भने छैन । नेपाली बजारमा खपत हुने लगभग शतप्रतिशत विद्युतीय केबल स्वदेशी लगानीकै उत्पादन भएको व्यवसायीहरूको दाबी छ ।