मेलम्चीबाट भागेको इटालियन ठेकेदार सीएमसी काममा फर्किएन, तनहुँ हाइड्रोपावरले ठेक्का तोडेर ग्लोवल टेण्डर गर्ने

२८ दिनभित्र काम सुरु नगरेकाले सीएमसीसंगको ठेक्का तोड्न बाटो खुलेको तनहुँका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । ‘सीएमसी काममा फर्किएन अब औपचारिक रुपमा ठेक्का सम्झौता तोडिने छ’ उनले भने । ‘आयोजनाको पहिलो लटको कामका लागि पुनः विश्वव्यापी बोलपत्र आह्वान (ग्लोबल टेन्डर) काम सुरु हुनेछ,’ थिकेले क्यापिटल नेपालसँग भने ।

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) सँग ठेक्का सम्झौता तोड्ने भएको छ । प्रवद्र्धक तनहुँ जलविद्युतले दिएको २८ दिन समयसीमा भित्र काम गर्न नआएपछि सीएमसीसंग ठेक्का सम्झौता तोडिने अवस्थामा पुगेको हो ।आयोजनाको जडित क्षमता १४० मेगावाट छ ।

प्रवद्र्धक तनहुँ हाइड्रोले गत माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो । तनहुँले सीएमसीलाई दिएको समय शनिबार सकिएको छ । २८ दिनभित्र काम सुरु नगरेकाले सीएमसीसंगको ठेक्का तोड्न बाटो खुलेको तनहुँका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । ‘सीएमसी काममा फर्किएन अब औपचारिक रुपमा ठेक्का सम्झौता तोडिने छ’ उनले भने । ‘आयोजनाको पहिलो लटको कामका लागि पुनः विश्वव्यापी बोलपत्र आह्वान (ग्लोबल टेन्डर) काम सुरु हुने,’ थिकेले क्यापिटल नेपालसँग भने ।

मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)संग छलफल गरेर लट १ का लागि पुनः ग्लोबल टेण्डर आब्हान गरिने उनले सुनाए । जे गरेपनि आयोजनामा ढिलाइ हुने भएपछि पुनः ग्लोबल टेण्डर गरेर ठेकेदार छनौट गर्ने थिकेले स्पष्टपारे ।

सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भए पनि तनहुँले उसलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) दिएको छैन । सिनो साइटमा परिचालन भइसकेको छ ।

दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँग ठेक्का सम्झौता भइसकेको छ । सिनोले आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

सीएमसी मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको हो । सीएमसी टाट पल्टिएपछि नेपालबाट बाहिरिएको हो । मेलम्ची खानेपानी विकास समितिले सीएमसीको २ अर्ब ५६ करोड रुपैयाँ जमानत जफत गरिसकेको छ । सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदारलगायत अन्य आपूर्तिकर्तालाई १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सीएमसीले गर्दा आयोजनाको भविष्य अनिश्चित भएको छ । ठेक्का तोडिएपछि फेरि नयाँ प्रक्रिया सुरु गर्दा समय लाग्ने भएपछि दोस्रो लटको ठेकेदारको पनि काम प्रभावित हुने सम्भावना छ ।

दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्तर्गत विद्युत गृहदेखि भरतपुरसम्म विद्युत प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केइसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।

आयोजनाको कुल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत छ । एडीबीले १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ अर्ब ४० करोड रुपैयाँ अर्थात १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआईबी) ले ८ अर्ब ५० करोड रुपैयाँ अर्थात ८ करोड ५० लाख डलर र सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ अर्ब ७० करोड रुपैयाँ अर्थात ८ करोड ७० लाख डलर लगानी गरेका छन् ।