निजगढ–हेटौंडा–भरतपुर विद्युतीय रेलमार्गको कम्पनी छनोट अन्तिम चरणमा

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको उक्त खण्ड १३६ किमि पर्छ । विभागले आशयपत्र जारी गरेपछि विभिन्न ६ ओटा कम्पनीको ‘सर्ट लिस्ट’का आधारमा प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।

काठमाडौं । पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटांैडा–भरतपुर रेलमार्ग निर्माणका लागि कम्पनी छनोट कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्ग निर्माणका लागि विभिन्न ६ कम्पनीले आवेदन भरेकाले ती कम्पनीहरुको प्राविधिक तथा आर्थिक मूल्याङ्कन भइरहेको रेल विभागले जानकारी दिएको छ ।

रेलमार्गअघि बढाउन कम्पनी छनोट प्रक्रियालाई छिटोभन्दा छिटो सक्न कम्पनीको प्रस्तावउपर मूल्याङ्कन भइरहेको विभागका महानिर्देशक बलराम मिश्रले क्यापिटल नेपाललाई जानकारी दिए । ‘निजगढ–भरतपुर खण्डको डीपीआर अघि बढाउन कम्पनी छनोटको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘६ ओटा कम्पनीको प्रस्ताव मूल्याङकन भइरहेको छ ।’

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको उक्त खण्ड १३६ किमि पर्छ । विभागले आशयपत्र जारी गरेपछि विभिन्न ६ ओटा कम्पनीको ‘सर्ट लिस्ट’का आधारमा प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।

आइसीटी इन्डिया/युकसेल टर्की जेभी, टीएमएस नेपालसँगको सहकार्यमा कुन्ह्वा कोरिया, पेक कोरिया÷सुसङ कोरिया/केआरएनए कोरिया/एएआरभीईई इन्डिया जेभी, राइट्स इन्डिया/बीडीए नेपाल जेभी, सियोन चाइना/ईआरएमसी नेपाल जेभी र योसिङ कोरिया/बार्साल इन्डिया/सीआरईईसी चाइना/एफबीसी नेपाल जेभी कम्पनी छन् ।

यसअघि भरतपुरदेखि बुटवलसम्मको डीपीआर भने तयार भइसकेको छ । चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्ज जोडेर रेलमार्ग लैजाने प्रस्ताव उपयुक्त नभएपछि नयाँ रुटको रुपमा निजगढ–हेटौंडा–भरतपुर खण्डमा पूर्वसम्भाव्यता अध्ययन, सर्भे, डिजाइन काम अघि बढी टेन्डरका लागि आशयपत्र माग गरिएको थियो ।

आशयपत्र प्राप्त भएपछि आवेदन दिने ६ कम्पनीहरुको सर्ट लिस्टमा नाम सार्वजनिक गरिएको रेल विभागले जनाएको छ । त्यसपछि मात्रै डीपीआर निर्माण अघि बढ्नेछ । एक वर्षभित्र सो खण्डको डीपीआर पूरा गरी रेलमार्ग निर्माण अघि बढ्ने विभागको योजना छ ।