विकास सरकारले नै गर्ने हो, तर योजना बनाउँदैन : सीताराम कट्टेल ‘धुर्मुस’सँग विकास वार्ता

जनताले दिएको हरेक सहयोगको हिसाबकिताब राखेका छौं । कुनै परियोजना सकिनेबित्तिकै हिसाब सार्वजनिक गर्ने गरेका छौं । जनताले परिश्रम गरेर सामाजिक कामका लागि भनेर दिएको पैसा हिनामिना गरेर हामीलाई पापको खोल ओढेर धर्ती छाड्नु छैन ।

कलाकालितामा चर्चित नाम हो— सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे (सुन्तली) । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएको यो जोडी यति बेला धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत एकीकृत बस्ती निर्माणदेखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा लागेको छ । महत्त्वाकाङ्क्षी योजनाका रुपमा अघि सारेको नमुना नेपाल परियोजनालाई थाती राख्दै फाउन्डेसन रङ्गशाला निर्माणमा जुटेको छ । भरतपुर महानगरपालिका– १५ मा २० बिघा ६ कठ्ठा जमिनमा रङ्गशाला बनाउन धुर्मस जोडी लागिपरेको छ । रङ्गशाला निर्माणका लागि महानगरपालिका र फाउन्डेसनबीच सम्झौता भइसकेको छ । सरकारले गर्नुपर्ने विकासका काममा कलाकारहरुले अग्रसरता लिइरहेका छन् । कतिपयले सरकारले काम गर्नुपर्नेमा चन्दा उठाएर जनताले नै गरिरहेको कामलाई सरकारको असफलता र कमजोरी ठानिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेका फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सँग क्यापिटलका लागि सुवास योञ्जनले गरेको विकास वार्ता :

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन लाग्नुभएको छ । यति महत्त्वाकाङ्क्षी परियोजना कसरी बनाउने योजना छ ?

रङ्गशाला निर्माणको मोडालिटी भनेको सबैको सहभागितामा बनाउने हो । धुर्मुस–सुन्तली फाउन्डेसन गैरनाफामूलक संस्था भएकाले यसमा सबैको सहयोगको जरुरत पर्छ । यो कुनै कम्पनी होइन, नितान्त सामाजिक कामका लागि खडा गरिएको संस्था हो । त्यसैले सबैले सहयोग गर्नुहुन्छ भन्ने आशमा हामी छौं । धेरैलाई लाग्न सक्छ, क्रिकेट रङ्गशाला व्यापारिक प्रायोजनका लागि निर्माण गर्न लागिएको हो भन्ने । हामी क्रिकेट रङ्गशाला मात्र बनाउँदैनौं, त्यो स्पोर्ट्स भिलेज पनि हो । त्यहाँ स्पोर्ट्सको एकेडेमी सञ्चालन गर्छौं । निरन्तर सञ्चालनका लागि ७७ ओटै जिल्लाका हरेक विधाका खेलाडीहरुलाई ल्याएर शिक्षण दिएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने हो । एउटा खेलाडीले निर्धक्कसाथ खेल खेलेर बाँच्न सक्छन् है भन्ने परियोजना हो । भोलि त्यहाँबाट प्राप्त रकम सम्पूर्ण खेलाडीहरुको स्तरोन्नतिका लागि खर्च हुन्छ । र सञ्चालन गर्दा पनि अपरेटिङ कस्ट लाग्छ । त्यहाँबाट बाँकी रहेको रकम सामाजिक काममा खर्च गर्छौं । र त्यसका लागि छुट्टै कोष बनाउँछौं । क्रिकेटले अन्तर्राष्ट्रिय रुपमा सफलता हात पारिरहेको बेला नेपालमा पनि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको महसुस भएकाले निर्माणमा लागेका हौं ।

सरकारले बनाउनुपर्ने रङ्गशाला धुर्मुस–सुन्तलीले बनाउन लाग्यो भनेर टिकाटिप्पणी पनि सुरु हुन थालेका छन् । खासमा यस्तो काम सरकारले नै गर्नुपर्ने होइन र ?

सर्वप्रथम म उहाँहलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले भन्नुभएको कुरा स्वाभाविक हो । सरकारकै काम हो विकास निर्माण गर्ने । सरकारको आफ्नै नीतिनियम र प्रक्रियाहरु हुन्छन् । आजको भोलि नै रङ्गशाला बनाउने भने फुत्त कार्ययोजना बनाएर अघि बढ्न सक्ने अवस्था छैन । तर यो चिज आजको भोलि नै चाहिएको छ । कसैले गर्न चाहेमा आजको भोलि नै कार्ययोजना बनाएर निर्माण गर्न सकिन्छ र राज्यको आधारभूत आवश्यकता हो भन्ने महसुस गरेर हामीले निर्माण गर्ने घोषणा गरेका हौं । र निर्माणको तयारी अगाडि बढाएका हाैं । यसमा भरतपुर महानगरपालिकाले जग्गा दिएको छ, हामी सरकार सँगै छौं । देश बनाउने जिम्मा सरकारको मात्र हुन्न । अब हरेक व्यक्ति सरकार बन्नुपर्छ । र अहिले हरेक व्यक्ति सरकार बन्ने बेला आएको पनि छ । हामी त्यही महसुस गरेर रङ्गशाला निर्माणको तयारीमा जुटेका छाैं ।

निर्माणको जिम्मा कसलाई दिनुहुन्छ ? प्रतिस्पर्धाबिना काम गर्दा वीर अस्पतालमा विवादमा आउनुभएको थियो ? अब कसरी अगाडि बढ्नुहुन्छ ?
हामी आफैं रङ्गशाला निर्माण गर्छौं । निर्माण व्यवसायीलाई जिम्मेवारी दिएर काम छिटो र राम्रो तरिकाले सम्पन्न हुन्छ भन्ने छैन । हामी त्यससँग सम्बन्धित विज्ञहरुसँग समन्वय गर्छौं । विभिन्न कन्सल्टेन्सीहरुसँग कामको प्रक्रियाअनुसार सम्झौता गर्दै जान्छौं । र निर्माणको मोडालिटी हामी आफैंले अगाडि बढाउने भएकाले हाम्रै उपस्थितिमा काम हुन्छ । यसमा कसैलाई जिम्मेवारी दिने पक्षमा छैनौं । धेरैभन्दा धेरै निर्माण कम्पनी हाम्रो सम्पर्कमा आउनुभएको छ । उहाँहरुसँग सहकार्य गर्दै जान्छौं । तर एउटैलाई पूरै जिम्मेवारी दिँदैनौ । किनकि हामीलाई नगद मात्र होइन, जिन्सी सामग्रीहरुको पनि सहयोगको ठूलो आवश्यकता छ । देशका ठूला कम्पनीहरुले स्वयंसेवीको हिसाबमा लिइदिनुभयो भने रङ्गशाला छिटो बन्छ भन्ने अवधारणासाथ मोडालिटी बनाएका हौं ।

नमुना बस्ती निर्माण गरिसक्नुभएको छ । अहिले रङ्गशाला निर्माणमा जुट्नुभएको छ । कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

बस्ती बनाउँदा धेरै चुनौती थियो । हामी नयाँ थियौं । नयाँ हुँदाहुँदै पनि ठूलो परियोजनामा हात हालेका हौं । आँट र मिहिनेत गरियो भने सफल भइन्छ भन्ने अठोटका साथ लागिपर्यौं । बस्ती निर्माणको बेला यस्तो अवस्थासम्म आयो— कि आफू रहिन्छ, कि रहिँदैन । ती चुनौतीहरुलाई पार गर्दै आएको हुनाले सहजै निर्माण गर्न सकिन्छ भन्ने आँट आएको छ । गल्ती केही गरिएको छैन । इमानदार भएर अगाडि बढ्ने हो । निःस्वार्थ भावनाले लागिएको छ ।

हामीले गल्ती नै के गरेका छौं र ? एउटा देशमा रङ्गशाला बनाऊँ है भनेर नागरिकका तर्फबाट आवाज उठाएका त हौं नि । बन्नका लागि सबैको सहयोग भयो भने बन्ने हो । त्यसैले च्यालेन्ज र चुनौतीका रुपमा लिएको छैन । र जसरी अरु परियोजना सफल बनाइयो, रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने भएकाले त्यससम्बन्धी विज्ञ नेपालमा नहुन सक्छन्, बाहिरबाट हायर गर्नुपर्ने अवस्था आउन सक्छ । तर रङ्गशाला जसरी पनि बन्छ ।

लगानी तीन अर्ब रुपैयाँको छ । यति ठूलो रकम सहयोगमै उठ्छ भन्ने विश्वास लिनुभएको छ ?

सामान्य तरिकाले हेर्ने हो भने ३ करोड नेपालीले १/१ सय रुपैयाँ दिनुभयो भने पुगिहाल्छ । हामी जहिल्यै सडकमा उत्रिएर विकास चाहियो भन्छौं । तर आफैं अग्रसर भएर किन निर्माणमा नजुट्ने ? यही सोचबाट प्रेरित भएर हामी अघि बढेका हौं । यो परियोजना सफल भइरहँदा नेपालको विकास निर्माणको स्वरुप परिवर्तन हुने हो । यहाँबाट उठ्ने पैसा सरकारकै हुने हो । नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि यो रङ्गशालाले ठूलो टेवा पुर्याउँछ । विकासको मोडल छिटो प्रक्रियाअन्तर्गत यसरी गर्नुपर्ने रहेछ भन्दा त धेरैतिरको ध्यानाकर्षण गर्छ । सरकारलाई ध्यानाकर्षण गर्छ, विकास निर्माणमा जुटौं भन्नेहरुलाई थप हौसला प्रदान गर्छ । यो अभियान हो । विकासको आन्दोलन हो । त्यसैले हामी राजनीतिक परिर्वतनका लागि सडकमा आउने तर विकास निर्माणका लागि किन अगाडि नबढ्ने त ? अब विकास निर्माणको अभियान लिएर सडकमा आउनुपर्ने अवस्था आएको छ । हामीले गर्ने काममा भ्रष्टाचार भएको छैन । रङ्गशालाको थ्रीडीमा देखिएको जस्तो रङ्गशाला बनाउन ३ अर्ब रुपैयाँले पुग्दैन । १० अर्ब रुपैयाँभन्दा बढी लाग्न सक्छ । तर हामीले सबैको साथसहयोग र श्रममा बनाउन लागिएकाले ३ अर्ब रुपैयाँ लागत राखिएको हो ।

निर्माण व्यवसायीले गर्ने हरेक सरकारी काम ढिला भएको छ ? काम ढिला भएको र गुणस्तरहीन गरेको भन्दै निर्माण व्यवसायीलाई सरकारले धरपकडसमेत गर्न थालेको छ । तर तपाईंहरुले निर्धारित समयमै केही परियोजना बनाइसक्नुभएको छ ? यो कसरी सम्भव भयो ?

उहाँहरुका विभिन्न सम्झौताहरु हुन्छन् । यो समयमा यति काम गर्ने र यति बजेटमा काम गर्ने भन्ने हुन्छ । कतै बजेट ढिला पुग्छ, त्यसले पनि काम ढिला हुन सक्छ । उहाँहरुलाई स्रोतसाधन जुटाउन धेरै समस्या हुन सक्छ । तर हामीलाई सबै जुट्यो भने धमाधम काम गर्ने हो । कसैको रोकावट हुन्न । मात्र आर्थिक सहायता हुनुपर्छ । हाम्रोमा काम गर्ने मोडालिटी अलि फरक छ । म आफैं फिल्डमा उत्रिन्छु । म एक सेकेन्ड फिल्ड छाड्दिनँ । मलाई डिजाइन मन परेन भने पनि अगाडि बढाउँदिनँ, काम गर्ने सिलसिलामा कसैले ठग्न पाउँदैन र कसैले ठग्न खोज्यो भने पहिला नै थाहा हुन्छ । त्यसैले हाम्रो काम गराइमा सिस्टम छ । कामको टाइम अवधि तोकेका छौं । निश्चित समयमा काममा पसेपछि समय अवधि नसकेसम्म बाहिर निस्कन दिँदैनौं । हाम्रो सिस्टमकै कारण निर्धारित समयमै काम सकिएको हो ।

‘नमुना नेपाल’ काम कहाँ पुग्यो ? एक्कासि रङ्गशाला निर्माणमा लाग्नुभयो नि ?

नमुना नेपालको पनि काम अघि बढिरहेको छ । तत्कालको आवश्यकता भनेको नमुना नेपालभन्दा रङ्गशालाको भएकाले हाम्रो ध्यान यता गएको हो । नमुना नेपालका लागि जग्गा छनोट भइसकेको छ ।

ललितपुरको लेलेमा रहेको खावाडाँडामा १६ सय रोपनी जग्गाको सर्भेको काम सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम गरिरहेका छौं । हालसम्म स्वदेश तथा विदेशबाट ३६ लाख ८६ हजार ३ सय ३१ रुपैयाँ ७४ पैसा सङ्कलन भएको छ । तीमध्ये प्रारम्भिक तयारी र सर्भेका लागि २३ लाख १४ हजार २ सय ११ रुपैयाँ खर्च भएको र फाउन्डेसनको खातामा १३ लाख ७२ हजार १ सय २० रुपैयाँ ७४ पैसा मौज्दात छ । सो रकम नमुना नेपाल निर्माणकै लागि खर्च गर्छौ । धुर्मुस–सुन्तली फाउन्डेसनलाई मात्रै भनेर हालसम्म जम्मा भएको २ करोड ९ लाख २८ हजार ७ सय ८२ रुपैयाँ क्रिकेट स्टेडियमका लागि खर्च गर्छौं ।

तपाईंहरुले अर्बौंको परियोजना बनाउन लाग्नुभएको छ । यति ठूलो परियोजनामा अनियमितता पनि हुने डर हुन्छ नि ?

हामीले अहिलेसम्म सहयोगमार्फत उठेका रकमबाट सामाजिक कामबाहेक घरखर्चमा चलाएका छैनौं । बस्नका लागि घर पहिला नै बनाएका थियौं । हामी श्रीमान्श्रीमती दुवै सामाजिक कामबाहेक विभिन्न कार्यक्रम गर्न देशविदेशमा हिँडिरहेका हुन्छौं । त्यही रकमले जीविकोपार्जन गरिरहेका छौं । जनताले दिएको हरेक सहयोगको हिसाबकिताब राखेका छौं । कुनै परियोजना सकिनेबित्तिकै हिसाब सार्वजनिक गर्ने गरेका छौं । जनताले परिश्रम गरेर सामाजिक कामका लागि भनेर दिएको पैसा हिनामिना गरेर हामीलाई पापको खोल ओढेर धर्ती छाड्नु छैन । त्यसकारण यसमा कुनै पनि तलमाथि हुनेछैन । यसका लागि हामीसँग हरेक हिसाबकिताब राख्ने अकाउन्टेन्ट हुनुहुन्छ । तपाईंहरुले चाहेको जुनसुकै बेला हिसाब हेर्न सक्नुहुन्छ ।

कलाकारिता सजिलो कि सामाजिक अभियन्ता बन्न ?

दुई ओटै काम उत्तिकै गाह्रो छ । दर्शक हँसाउन पनि धेरै मिहिनेत गर्नुपर्छ । र सामाजिक काम गर्न पनि उत्तिकै मिहिनेत पर्छ । हिजोको दिनमा म आफ्नो घर बनाउँदा बरु बस्न पाइनँ । यससम्बन्धी ज्ञान पनि थिएन । तर समयको माग र परिस्थितिका कारण अहिले डोजर चलाउन सक्ने भएको छु । त्यसैले सिक्दै र अनुभवले हुने कुरा रहेछ सबै ।

क्यापिटल बिजनेस म्यागजिनबाट