एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैङ्कबाट अपुग (ब्रिज लोन) लिन लागेको हो । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) सँग ६५ अर्ब ६० करोड रुपैयाँ अर्थात् ४१ अर्ब भारु र नेपाली बैङ्कसँग पनि एक साथ ऋण सम्झौता हुने एसजेबीएन स्रोतले बतायो । स्टेट बैङ्क र नेपालका एभरेष्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात् ५० अर्ब भारु ऋण लिने भएको छ ।
काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले दुई नेपाली बैङ्कबाट १४ अर्ब ४० करोड रुपैयाँ अर्थात् ९ अर्ब भारु ऋण लिने भएको छ ।
एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैङ्कबाट अपुग ऋण (ब्रिज लोन) लिन लागेको हो । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) सँग ६५ अर्ब ६० करोड रुपैयाँ अर्थात् ४१ अर्ब भारु र नेपाली बैङ्कसँग पनि एक साथ ऋण सम्झौता हुने एसजेबीएन स्रोतले बतायो । स्टेट बैङ्क र नेपालका एभरेष्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात् ५० अर्ब भारु ऋण लिने भएको छ ।
एभरेष्ट र नबिलसँग छलफल भइरहेको तथा औपचारिक सहमति हुन बाँकी रहेको स्रोतले जानकारी दियो । एभरेष्टमा भारतको पञ्जाव नेसनल बैङ्कको मुख्य लगानी छ । एभरेष्टले प्रसारणलाइनमा लगानी सम्झौता गरिसकेको छ ।
आयोजनाको विद्युतगृह सङ्खुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रवीनराज अर्यालले बताए । लाइसेन्स पाएपछि उसलाई ऋण सम्झौताको बाटो खुला भएको उनले सुनाए ।
प्रसारणलाइनको लाइसेन्स पाएपछि एसजेबीएनले ऋण लिनका लागि प्रक्रिया अघि बढाएको छ । अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैङ्क र प्रवद्र्धक एसजेबीएनबीच सहमति भइसकेको छ । अब औपचारिक रुपमा सम्झौता हुन बाँकी छ । हालसम्म आयोजनाको १५ प्रतिशत काम सकिएको छ ।
५ वर्षअघि लगानी बोर्ड र एसजेबीएनबीच भएको आयोजना विकास सम्झौता (पीटीए) मा विद्युत् उत्पादन र प्रसारणलाइन निर्माणको लाइसेन्स पाएपछि मात्र लगानी सम्झौता हुने व्यवस्था छ ।
आउँदो ४ महिनाभित्र ऋण सम्झौता भइसक्ने स्रोतको भनाइ छ । तीन महिना आन्तरिक प्रक्रिया पूरा गर्न र एक महिना नेपाल राष्ट्र बैङ्कको विदेशी लगानी ल्याउन अनुमतिका लागि लाग्ने स्रोतको भनाइ छ ।
विद्युत् उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैङ्कहरुले ऋण लगानी गर्ने छन् । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैङ्कसँग ऋण सम्झौता भइसकेको छ । एभरेष्ट बैङ्कले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात् २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैङ्कसँग पनि ८ अर्ब रुपैयाँ अर्थात् ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत् उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत् २५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात् सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युतगृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश ९जेपी० एसोसिएट्स लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ ।
प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकेजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।