सुपरदोर्दी जलविद्युत आयोजनाको ३५ प्रतिशत काम सकियो, २०७७ असारसम्म बिजुली बल्ने

नेपाल विद्युत् प्राधिकरणसँग ०७१ फागुनमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको उक्त आयोजना विसं २०७२ असारबाट निर्माण कार्य सुरु भएको थियो । आयोजना ४९.६ मेगावाटमा डिजाइन गरिएकोमा पछि ५४ मेगावाट पुगेको छ । बाँकी ४ मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए)को अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

लमजुङ । पिपल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ डेढ वर्षभित्र सम्पन्न हुने भएको छ । २०७७ असारसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण भइरहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग ०७७ असारसम्म बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।

तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले आयोजनाको काम तीव्र रुपमा भइरहेको पिपल्सका निर्देशक अर्जुन गौतमले क्यापिटल नेपाललाई जानकारी दिए । उनले अहिलेसम्म आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न भएको बताए । ‘आयोजनाको मुख्य मानिएको सुरुङ खन्ने काम ५१ प्रतिशत सकिएको छ,’ उनले भने, ‘त्योबाहेक २० किलोमिटर सडकलगायतका पूर्वाधारका काम सकिएका छन् ।’

६४० मिटर अग्लो हेड रहेको उक्त आयोजनामा २ ओटा टर्बाइन रहनेछन् । सुरुङको हेड रेस ५.१ किलोमिटर रहेको छ । आयोजना निर्माण भएपछि वार्षिक ३२ करोड युनिट विद्युत् उत्पादन हुने निर्देशक गौतमले जानकारी दिए । सानिमा बैङ्कको अगुवाइमा सातओटा बैङ्कको ऋण लगानी आयोजना निर्माण भइरहेको छ । आयोजनाको प्रारम्भिक कुल लागत अनुमान ८ अर्ब ८० करोड रुपैयाँ छ । आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रा कन्स्ट्रक्सन, वज्रगुरु कन्स्ट्रक्सन र बीपीसी कम्पनीले काम गरिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणसँग ०७१ फागुनमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको उक्त आयोजना विसं २०७२ असारबाट निर्माण कार्य सुरु भएको थियो । आयोजना ४९.६ मेगावाटमा डिजाइन गरिएकोमा पछि ५४ मेगावाट पुगेको छ । बाँकी ४ मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए)को अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माण भएपछि उत्पादित विद्युत् लम्जुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । हाल उक्त सबस्टेसनको काम पनि तीव्र रुपमा अघि बढेको छ । दोर्दी करिडोरमा मात्रै निजी लगानीमा आधा दर्जन आयोजना निर्माणाधीन छन् ।