दोर्दीखोलाबाट मात्रै निजी लगानीमा ११८ मेगावाट बिजुली उत्पादन हुँदै

आईएमई ग्रुप र गैरआवासीय नेपालीहरुको अगुवाइ तथा सहयोगमा हिमालयन पावर पार्टनर लिमिटेडले अघि बढाएको २७ मेगावाटको आयोजनाको काम पनि तोकिएकै समयभित्रै सम्पन्न हुने गरी काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए । अहिलेसम्म आयोजनामा झन्डै २ हजार ८०० मिटर सुरुङमार्गमध्ये २ हजार २०० मिटर सुरुङ खन्ने काम सकिएको उनले जानकारी दिए ।

लमजुङ । जिल्लाको दोर्दीखोलाबाट मात्रै ११८ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला करिडोरमा निजी लगानीमा ४ ओटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । डेढदेखि दुई वर्षभित्र यी आयोजना सम्पन्न भइसक्ने प्रवर्द्धकले बताएका छन् । निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्न आयोजनाको निर्माण तीव्र रुपमा अघि बढेको छ ।

दोर्दी करिडोरमा हाल ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, २५ मेगावाटको अपर दोर्दी, १२ मेगावाटको दोर्दी ‘ए’ र २७ मेगावाटका दोर्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । सुपर दोर्दीको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरले कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको सम्भाव्यता अध्ययन थालेको छ । उसले यो आयोजना पनि निर्माणको तयारी थालेको छ । सो करिडोरमा निर्माणाधीन अवस्थामा रहेको आयोजना सुपरदोर्दी ख हो ।

सुपरदोर्दी ‘ख’ को हालसम्म ३५ प्रतिशत निर्माण सकिएको छ । पिपुल्स हाइड्रोपावरको प्रवद्र्धन रहेको आयोजनामा ५० प्रतिशत सुरुङ निर्माण काम सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए । सानिमा बैङ्कको अगुवाइमा नौ बैङ्कको वित्तीय सहयोगमा अघि बढेको आयोजनामा ८ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तैगरी, लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको अपर दोर्दी जलविद्युत् आयोजनाको काम पनि तीव्र रुपमा अघि बढेको छ । २ हजार ६२३ मिटर लामो सुरुङमार्गका ब्रेक थु्र गत वर्ष नै सम्पन्न भइसकेको छ । सुरुङको ढलान र फिनिसिङको काम सुरु भइसकेको आयोजनाले जनाएको छ । अहिले पेनस्टक पाइप जडान, पावर हाउस निर्माण, प्रसारणलाइन निर्माणको काम अघि बढेको छ । प्रतिमेगावाट १६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना भूकम्प र नाकाबन्दीका कारण काम नभएपछि लागत बढ्ने देखिएको छ ।

यता, २०७६ भदौभित्र सम्पन्न गर्ने लक्ष्यसहित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् र २५ मेगावाटको अपर दोर्दी जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन हुने लक्ष्य लिइएको छ । दुवै आयोजनाबाट उत्पादित विद्युत् लमजुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

आईएमई ग्रुप र गैरआवासीय नेपालीहरुको अगुवाइ तथा सहयोगमा हिमालयन पावर पार्टनर लिमिटेडले अघि बढाएको २७ मेगावाटको आयोजनाको काम पनि तोकिएकै समयभित्रै सम्पन्न हुने गरी काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए । अहिलेसम्म आयोजनामा झन्डै २ हजार ८०० मिटर सुरुङमार्गमध्ये २ हजार २०० मिटर सुरुङ खन्ने काम सकिएको उनले जानकारी दिए ।

यता, गतवर्षदेखि निर्माण सुरु भएको १२ मेगावाटको दोर्दी ए जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । सो आयोजनाको झन्डै ४५ प्रतिशत काम सम्पन्न भएको आयोजना पक्षले जनाएको छ । साढे २ अर्ब रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको आगामी २०७७ भित्र निर्माण सम्पन्न हुनुपर्छ ।