५५० किमि सडक कालोपत्रेको लक्ष्य पूरा नहुने, ८ महिनामा आधाभन्दा कम मात्रै काम सम्पन्न

सडक विभागका अनुसार यस वर्ष साढे ५ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि ८ महिनासम्म आधाभन्दा कम मात्रै सडक कालोपत्रे भएको छ ।

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा ठूला तथा साना सडकको २१३ किलोमिटर कालाेपत्रे भएका छन् । सडक विभागका अनुसार यस वर्ष साढे ५ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिए पनि ८ महिनासम्म आधाभन्दा कम मात्रै सडक कालोपत्रे भएका छन् । सबैभन्दा ठूलाे राजमार्गको रुपमा रहेको हुलाकी राजमार्गमा ६७ किलोमिटर सडक कालोपत्रे र ७० किलोमिटर ग्राभेल गर्ने काम सम्पन्न भएको छ । २ ओटा पुल सुसदी र अदुवामा सप्तरीमा निर्माण सम्पन्न भइसकेका छन् । मध्यपहाडी लोकमार्गमा २९ किलोमिटर सडक कालोपत्रे र ५५ किमी ग्राभेल सडक स्तरोन्नति भएको छ ।

मदन भण्डारी राजमार्गमा निर्माणतर्फ, धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली बजार-हेटौंडा सडक (३१८ किमी)लाई दुई लेनमा स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अघि बढेको छ । चालू आवमा हालसम्म सो खण्डमा ५० किलोमिटर सडक कालोपत्रे र ६५ किलोमिटर ग्राभेल भएको छ ।

त्यस्तै, एडीवी-सासेक रोडतर्फ लेगुवाघाट भोजपुर सडक ६५ किलोमिटरमध्ये गत आर्थिक वर्षसम्म ४० किलोमिटर र चालू आर्थिक वर्षमा १० किलोमिटर सम्पन्न भएको छ । नदाहा कोसीपुल, चतरा रुपनगर ६१ किमि सडकमध्ये हालसम्म ५८.५ किमि, हलेसी दिक्तेल सडक ३६ किलोमिटरमध्ये गत आवमा १० किलोमिटर र चालू आर्थिक वर्षमा १२ किलोमिटर सडक कालोपत्रे भएको छ ।

व्यापारिक राजमार्ग विस्तार आयोजना अन्तर्गत, बेलहिया-सडकको सम्पूर्ण खण्ड २४ किलोमिटरलाई ६ लेनमा विस्तार गर्ने क्रममा गत आर्थिक वर्षमा १० किलोमिटर र चालू आर्थिक वर्षमा २२ किलोमिटर र सर्भिस लेनतर्फ ९.७ किलोमिटर सडक कालोपत्रे भएको छ । रानी-विराटनगर-इटहरी सडकको ३५ किलोमिटर सडकलाई विस्तार गर्ने लक्ष्यअनुसार हालसम्म ८.५ किलोमिटर, वीरगञ्ज पथलैया सडक २८ किलोमिटर सडक विस्तार कार्य भइरहेको र चालू आर्थिक वर्षमा ७ किलोमिटर सडक कालोपत्रे भएको सडक विभागले जनाएको छ ।

जटही-जनकपुर-ढल्केबर ३६ किलोमटर सडकको विस्तार कार्य भइरहेको र हालसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । विभागका अनुसार मोहनापुल अत्तरिया खण्डको १४ किलोमिटर ठेक्कापट्टा व्यवस्थापन भई निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । उक्त सडकको ६ किलोमिटर सडकमा ग्राभेल भएको छ ।

त्यस्तै, कान्ति राजपथ सडक खण्डको ८० किलोमिटरमध्ये १६ किलोमिटर चालू आर्थिक वर्षमै कालोपत्रे भएको छ । १४ किलोमिटर बेसको कार्य सम्पन्न भएको र टेवा पर्खाल, ढल, कर्ब, स्टोन पाइप कल्भर्टलगायतका कामहरु भइरहेका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत नारायणघाट-बुटवल ११५ किलोमिटर सडक चार लेनको राजमार्गका रुपमा विस्तार गर्ने कार्य अघि बढेको छ । कमला बलान ८० किलोमिटर सडक खण्डको स्तरोन्नतिको ठेक्का मूल्याङ्कन अदालतमा विचाराधीन रहेकोमा निर्णय भई मूल्याङ्कन प्रक्रिया पुनः सूचारु भएको छ ।

त्यस्तै, पुल निर्माणतर्फ, मुग्लिङ त्रिशूली आर्क बृज (१६० मिटर), बागमती पुल, माधवपुर रौतहट, धोबीखोला पुल र बागमती खोलामा डाउनस्ट्रिमतर्फ नेटवर्क आर्क बृज निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्गमा २ ओटा पुल, मदनभण्डारी राजमार्ग निर्माणतर्फ २५ ओटा पुल गरी हालसम्म ८७ पुल निर्माण भइसकेको सडक विभागअन्तर्गतको पुल महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्ष ३०० पुल निर्माण गर्ने लक्ष्य थियो ।

सडक विभागले पर्याप्त बजेट नहुँदा सडक कालोपत्रे र पुल निर्माण लक्ष्य अनुसार गर्न नसक्ने बताएको छ । ‘बजेट अभावका कारण लक्ष्यअनुसार पुल निर्माण गर्न सक्ने अवस्था छैन’ सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भने, ‘थप बजेटका लागि अर्थ मन्त्रालयसँग पहल गरिरहेको छौं ।’ उनले समयमै बजेट नआए लक्ष्यअनुसार सडक र पुल निर्माण गर्न नसक्ने उल्लेख गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको सडक विभागले निर्माण गरिरहेका सडक निर्माण र पुलका लागि थप बजेट अभाव भएको बताएको छ । बजेट नहुँदा चालू आर्थिक वर्षको लक्ष्यअनुसार आयोजनाको प्रगति हासिल गर्न नसकिने अवस्था आएको योजना अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख अर्जुन सुवालले जानकारी दिए ।

उनले चालू आर्थिक वर्षको लक्ष्यअनुसार ३०० पुल निर्माण गरिसक्नु पर्छ । अहिलेसम्म सडक निर्माण अन्तर्गतका साना ठूला गरी ८७ पुल निर्माण भइसकेका छन् । अझै पनि २०० भन्दा बढी पुल निर्माण गरेपछि मात्रै चालू आर्थिक वर्षको लक्ष्य हासिल हुन्छ ।

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार पुल निर्माण गर्नका लागि थप २ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने सुवालले बताए । ‘अहिलेसम्म ८७ पुल तयार भएका छन्’ उनले भने, ‘चालू आर्थिक वर्षमा ३०० पुल बनाउने लक्ष्य हो । बजेट अभावले बनाउन नसक्ने अवस्था देखिएको छ । तोकिएको लक्ष्यअनुसार पुल निर्माण गर्न थप २ अर्ब रुपैयाँ आवश्यक पर्छ ।’