लगानी सम्मेलनमा एकीकृत सुरक्षा प्रणाली

सम्मेलनमा भाग लिन आउने विभिन्न देशका पाहुना घुम्न जाने स्थान, कार्यक्रम स्थल र उनीहरु वास बस्ने स्थानको सुरक्षा के कसरी गर्ने भन्नेबारे योजना बनिसकेको समेत उनले बताए । उनका अनुसार कार्यक्रममा आएका पाहुना काठमाडौंको होटल अन्नपूर्ण, याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी र सांग्रिला होटलमा बस्नेछन् । उनीहरु आउनुअगावै प्रहरीले उक्त स्थानको सुरक्षा जाँचलाई कडाईका साथ हेर्नेछ ।

काठमाडौं । राजधानीमा शुक्रबारदेखि हुन लागेको लगानी सम्मेलनको सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा प्रणाली लागु गर्ने भएको छ । सम्मेलनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कर्मचारीको संयुक्त टोली बनाएर खटाउने तयारी भएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

‘सम्मेलनमा सुरक्षाका दृष्टिकोणबाट कुनै पनि कमी हुनेछैन,’ क्यापिटल नेपालसँग कुरा गर्दै प्रवक्ता सुवेदीले भने, ‘विगतमा नेपालमा सम्पन्न भएको बिम्स्टेक बैठक, सार्क सम्मेलन र २०१७ मा भएको लगानी सम्मेलनको सुरक्षा व्यवस्थालाई अध्ययन गरी सुरक्षा व्यवस्था मिलाएका छौं । गत वर्ष पनि यस्तो कार्यक्रम भएकै हो, सुरक्षाका दृष्टिले कुनै पनि कमी हुनेछैन, हामी त्यसमा गम्भीर छौं ।’

सम्मेलनमा भाग लिन आउने विभिन्न देशका पाहुना घुम्न जाने स्थान, कार्यक्रम स्थल र उनीहरु वास बस्ने स्थानको सुरक्षा के कसरी गर्ने भन्नेबारे योजना बनिसकेको समेत उनले बताए । उनका अनुसार कार्यक्रममा आएका पाहुना काठमाडौंको होटल अन्नपूर्ण, याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी र सांग्रिला होटलमा बस्नेछन् । उनीहरु आउनुअगावै प्रहरीले उक्त स्थानको सुरक्षा जाँचलाई कडाईका साथ हेर्नेछ ।

१५ र १६ गतेलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखिएको प्रवक्ता सुवेदीले बताए । कार्यक्रम स्थलमा आउजाउ गर्दा र पाहुना घुम्न जाँदाको समयमा ट्राफिक व्यवस्थापनबारे पनि योजना बनेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

विप्लव समुहको समस्या छैन

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको कुनै डरत्रास नभएको गृहले जनाएको छ । ‘विप्लव समूहले केही गर्न सक्ने अवस्था छैन, डराउनुपर्दैन । उसका गतिविधिमा राज्यले प्रतिबन्ध लगाएको छ, यस्तो अवस्थामा उसले केही गर्नु अपराध गरेसरह हो, सुरक्षा व्यवस्था बलियो छ,’ सुवेदीले भने ।

सम्मेलनमा ३५ भन्दा बढी देशका ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुनेछ ।