लगानी सम्मेलनमा कृषिमा ७६ अर्बका आठ आयोजना प्रस्ताव गरिँदै

विदेशी लगानी भित्र्याउन कृषि पूर्वाधार परियोजनालाई मुख्य प्राथमिकतामा राखिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । रासायनिक मल कारखाना स्वदेशमै स्थापना, कोल्ड स्टोर र गोदाम निर्माणतर्फ जोड दिएर विदेशी लगानी प्रस्तावका लागि योजना अघि सारेको उनले बताए ।

काठमाडौं । चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा सरकारले कृषि पूर्वाधारतर्फ झन्डै ७६ अर्ब (७८४.४४ मिलियन अमेरिकी डलर)का विभिन्न आठ ओटा आयोजना प्रस्ताव गर्ने भएको छ । कृषि पूर्वाधारमा विदेशी लगानी भित्र्याउन ठूलो लगानी आवश्यक परेपछि सरकारले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तामाझ योजना प्रस्तुत गर्न लागेको हो ।

रासायनिक मल कारखाना नेपालमै बनाउने सबैभन्दा ठूलो लगानीको परियोजना हो । प्रदेश २ र ५ मा मल कारखाना स्थापनाका लागि झन्डै ७० अर्ब रुपैयाँ लगानीको अध्ययन गरिएको छ । त्यस्तैगरी, केही साना एकीकृत परियोजनामा पनि विदेशी लगानी ल्याउन लगानी सम्मेलनमा प्रस्तुत गर्ने सरकारको तयारी छ । विभिन्न क्षेत्र र सहर क्षेत्रलाई लक्ष्य गरी सातओटा एकीकृत कृषि परियोजना अघि सारिएको हो ।

एकीकृत कृषि पूर्वाधार परियोजनाअन्तर्गत कर्णालीमा कोल्ड स्टोर र गोदाम स्थापनाका लागि योजना अघि बढेको छ । त्यसका लागि पौने ३५ करोड (३.१४ मिलियन अमेरिकी डलर) अनुमानित लागत अनुमान गरिएको छ । प्रदेश ३ को चितवन र बनेपामा ४८ करोड ६७ लाख (४.४३ मिलियन अमेरिकी डलर), सुदूरपश्चिमको गोदावरी नगरपालिका र अत्तरियामा पौने ३४ करोड (३.१४ मिलियन अमेरिकी डलर), गण्डकीको पोखरामा ६२ करोड २७ लाख (५.६३ मिलियन अमेरिकी डलर), प्रदेश २ को पर्सामा साढे ६७ करोड (६.१ मिलियन अमेरिकी डलर), प्रदेश ५ को तिलोत्तमा नगरपालिका र मणिग्राममा ७२ करोड ४५ लाख (६.५५ मिलियन अमेरिकी डलर र प्रदेश १ को उर्लाबारी मोरङमा ६० करोड २८ लाख (५.४५ मिलियन अमेरिकी डलर)मा कोल्ड स्टोर तथा गोदाम बनाउन ७५ अर्ब ७१ करोड (६८४.४४ मिलियन अमेरिकी डलर) विदेशी लगानीकर्तामाझ लगानी सम्मेलनमा प्रस्तुत गरिनेछ ।

विदेशी लगानी भित्र्याउन कृषि पूर्वाधार परियोजनालाई मुख्य प्राथमिकतामा राखिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । रासायनिक मल कारखाना स्वदेशमै स्थापना, कोल्ड स्टोर र गोदाम निर्माणतर्फ जोड दिएर विदेशी लगानी प्रस्तावका लागि योजना अघि सारेको उनले बताए ।

लगानी सम्मेलनमा सरकारका ६ ओटा प्राथमिकतामध्ये कृषि पूर्वाधार निर्माण परियोजना समावेश गरेको हो । कृषिप्रधान मुलुकका हिसाबले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको २८ प्रतिशत योगदान छ । कुल जनसङ्ख्याको झन्डै ६० प्रतिशत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा कृषिमा आश्रित छन् ।