दाना सबस्टेसनको ढिलाइले घलेम्दीखोला जलविद्युत् आयोजना ६ महिना धकेलियो

निर्माण सामग्री ढुवानी र आपूर्तिमा ढिलाइ, अमेरिकी डलरको भाउ बढ्नु र आयातित सामग्री महँगो भएको र प्रसारण लाइन समयमै नबन्दा आयोजनाको लागत बढेको कम्पनीले बताएकाे छ । आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोड्न ५ किलोमिटरको ट्रान्समिसन लाइन बनाइसकेको छ ।

काठमाडौं । म्याग्दीमा निर्माणाधीन दाना सबस्टेसन निर्माणको ढिलाइ ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना थप ६ महिना धकेलिने भएको छ । यसअघि वैशाख अन्तिमसम्ममा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । तर, आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने दाना सबस्टेसन निर्माण पूरा नहुँदा आयोजना ६ महिना धकेलिन सक्ने घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक एनबी अधिकारीले जानकारी दिए ।

आयोजनामा ढिलाइ भएकै कारण लागत बढेको उनले बताए । प्रारम्भिक लागत ८५ करोड अनुमान गरिएको आयोजनामा हालसम्म १ अर्ब २५ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको लागत प्रारम्भिक लागतमा थप ५० करोड बढ्न सक्ने उनको भनाइ छ । अहिले दाना सबस्टेसन निर्माण अघि बढे पनि सम्पन्न हुन ६ महिना लाग्छ । वैशाख मसान्तभित्र आयोजनाको विद्य्रुत् उत्पादनको परीक्षण गरिने भनिए पनि प्रसारण लाइनको समस्या हुन सक्ने अधिकारीले जानकारी दिए ।

निर्माण सामग्री ढुवानी र आपूर्तिमा ढिलाइ, अमेरिकी डलरको भाउ बढ्नु र आयातित सामग्री महँगो भएको र प्रसारण लाइन समयमै नबन्दा आयोजनाको लागत बढेको कम्पनीले बताएकाे छ । आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोड्न ५ किलोमिटरको ट्रान्समिसन लाइन बनाइसकेको छ ।

आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । अहिले सिभिल, विद्युत् गृह निर्माण, बाटो, पेनस्टक पाइप जडान, हेडवक्र्सलगायत भौतिक निर्माणका काम सकिएका छन् । भारतीय स्लोबेल इनर्जी कम्पनीले इलेक्ट्रोमेकानिकल, नेपाली कम्पनी सिभिल वल्र्डवाइड कन्स्ट्रक्सनले सिभिल र सीई हाइड्रो कम्पनीले हाइड्रो मेकानिकलको काम गरिरहेका छन् । अहिले विद्युत् गृहभित्र उपकरण तथा मेसिन जडान, ट्रान्समिसन लाइनलगायत अन्य सहायक निर्माणका काम भइरहेका छन् । यसअघि साउनभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि आयोजना निर्माण सामग्रीको समस्याका कारण आयोजना ६ महिना पर धकेलिएको हो ।

लुम्बिनी विकास बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कको सहवित्तीय लगानीमा आयोजना निर्माण भइरहेको छ ।