‘बी टु’ र ‘बी थ्री ई’ हेलिकप्टरबीचको राजनीति

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितका उच्च व्यक्तिहरु यात्रा गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएपछि केही व्यवसायीकै पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टरले ५ प्लस १ मात्रै बोक्न पाउने निर्णय गरेपछि व्यवसायीहरु दुई खेमामा विभाजित छन् ।

काठमाडौं । अहिले हेलिकप्टर सञ्चालकबीच ‘बी टुु’ र ‘बी थ्री ई’का बारेमा ठूलै बहस भइरहेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितका उच्च व्यक्तिहरु यात्रा गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएपछि केही व्यवसायीकै पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टरले ५ प्लस १ मात्रै बोक्न पाउने निर्णय गरेपछि व्यवसायीहरु दुई खेमामा विभाजित छन् ।

सिट क्षमतालाई लिएर हेलिकप्टर सञ्चालकबीच ‘कोल्ड वार’ नै चलेको छ । बी टु हेलिकोप्टर हुनेहरुले यो निर्णयलाई स्वागत गरेका छन् भने, बी थ्री ईका मालिकले सरकारको कच्चा र बिना अध्ययन गरिएको निर्णय भन्दै विरोध सुरु गरेका छन् । तर, नियमन निकायका अगाडि खुलेर विरोध गर्न सकेका छैनन् ।
सरकारले सुरक्षाको दृष्टिकोणबाट ५ प्लस १ मात्रै बोक्न पाउने निर्णय गरेको बताएको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेर गएकाले ताप्लेजुङमा दुर्घटना भएको र त्यो दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको निष्कर्ष निकाल्दै सरकारले व्यवसायीको रोहवरमा र व्यवसायीकै प्रस्तावमा ५ प्लस १ लागू गर्ने निर्णय गरेको हो । त्यो निर्णयमा हेलिकप्टर सोसाइटीकै पदाधिकारीको हस्ताक्षर छ ।

हेलिकप्टरले पाँच जना बोक्ने कि ६ जना बोक्ने भन्ने हुँदैन
क्यानले क्षमताभन्दा बढी मान्छे बोकेकाले हेलिकप्टर दुर्घटनामा परेको निष्कर्ष निकालेको र त्यही भएर ५ प्लस १ बनाएको हो । तर, हेलिकप्टरले पाँच जना बोक्ने कि ६ जना बोक्ने भन्ने हुँदैन । हेलिकप्टरले कति तौल बोक्ने भन्ने हुन्छ ।

बी टुले कति तौल र बी थ्रीले कति तौल बोक्न सक्छ भन्ने हुन्छ । र हेलिकप्टरले कति तौल बोक्न सक्छ भन्ने कुरा तीन चिजमा भर पर्छ । १. बाहिरको तापक्रम कति, २. कति उचाइ छ, र ३. हावाकाे वेग कति छ भन्ने कुराले जहाजले कति तौल बोक्न सक्छ भन्ने निर्धारण गर्छ ।

जति चिसो भयो त्यति क्षमता बढ्दै जान्छ । जति तापक्रम बढ्दै गयो हेलिकप्टरको क्षमता घटदै जान्छ ।

जति उचाइ बढ्दै गयो क्षमता घट्दै जान्छ । उचाइको आफ्नै इफेक्ट हुन्छ, तापक्रमको पनि आफ्नै इफेक्ट हुन्छ । दुई ओटा कुरा अलग अलग हुन् । त्यही उचाइमा काठमाडौंबाट उड्दा २० डिग्री सेन्टिग्रेटमा जति मान्छे बोक्न सकिन्छ, १० डिग्रीमा त्योभन्दा बढी बोक्न सकिन्छ । अथवा ३० डिग्रीमा घटी बोक्न सकिन्छ । तर, काठमाडौंमा २० डिग्रीमा जति बोक्न सकिन्छ, लुक्लामा २० डिग्रीमा त्यति बोक्न सकिन्न । यी दुईकोे उचाइ फरक छ । हरेक हेलिकप्टरको यो तापक्रममा, यति उचाइमा यति तौल बोक्न सकिन्छ भन्ने चार्ट हुन्छ । त्यस हिसाबले पाँच जना बोक्ने कि ६ जना बोक्ने भन्नेमा अर्थ रहँदैन ।

जहासम्म अघि दुई ओटा सिट राख्ने चलन छ, त्यो हेलिकप्टर उत्पादक कम्पनीले सर्टिफाइड गरेको हुन्छ । एउटा हेलिकप्टर कम्पनीले सर्टिफाइड गरेको कुरालाई असुरक्षित छ भनेर भन्न मिल्दैन । नयाँ हेलिकप्टर किन्दा म्यानुफ्याक्चररले सिट लगाएर दिएपछि कसरी असुरक्षित भन्न मिल्छ ?

एयरबसले नै अघि सिट फिट गर्न दिएपछि कसरी असुरक्षित भन्न सकिन्छ ? तर, कम्पनीले भनेको हुन्छ, त्यहाँ एक सय ५० किलोभन्दा बढी तौल राख्न पाइदैन । अघि पट्टीको सिटमा दुई जना बढी तौल भएका मान्छे बस्न मिल्दैन । उदाहरणको रुपमा ८०/८० किलोको मान्छे राख्न पाइँदैन । र, अर्को कुरा के हेर्नुपर्छ भने त्यहाँ सेन्ट्रल ग्राविटी हेर्नुपर्छ । हेलिकप्टरमा तौल राख्दा मिलाएर राख्नुपर्छ । एकातिर घटी र अर्कोतिर बढी तौल नहोस् भन्नका लागि यस्तो गरिन्छ । त्यो पाइलटले मिलाउने हो, मिलाउँछन् । यदि तौल मिलेन भने पाइलटलाई उडाउन गाह्रो हुन्छ ।

ताप्लेजुङमा भएको दुर्घटना ६ जना बोकेर भएको नहुन सक्छ
हेलिकप्टरमा मान्छेको सङ्ख्या भन्दा पनि तौल महत्त्वपूर्ण कुरा हो । ताप्लेजुङमा ६ जना बोकेकै भरमा हेलिकप्टर झरेको नहुन सक्छ । बरु त्यहाँ बढी तौल भएको हुन सक्छ । बढी तौल भएका कारण दुर्घटना भएको हुन सक्छ । बढी तौल र ६ जनाबीच कुनै तालमेल मिल्दैन ।

किनभने, अत्यन्तै मोटो मोटो मान्छे हेलिकप्टरमा बसे भने हेलिकोप्टरले पाइलट बाहेक ३ जना मात्रै मान्छे पनि लिएर उडाउनु पर्छ । त्यस्तो बेला हेलिकप्टरको क्षमता पाँच जनाको हो, जति मोटो भए पनि पाँच जना उडाउन सकिन्छ भनेर उडायो भने, त्यो हेलिकोप्टर दुर्घटनामा पर्छ । त्यसैले हेलिकोप्टरले तोकिएको तौल बराबरमा मात्रै उडान सक्ने होे ।

उदाहरणको रुपमा लिँदा काठमाडौबाट कालापत्थर ५ जना लिएर जानुभयो भने दुर्घटना हुन्छ । अहिले क्यानले ५ प्लस १ सर्टिफाइट गरिएको छ, म ५ जना लिएर जान्छु भन्नुभयो भने त्यो हेलिकप्टर दुर्घटना हुन्छ ।

बी टु हेलिकप्टर हुनेकाे राजनीतिले यस्तो निर्णय भयो
पुरानो बी टु हेलिकप्टरमा ६ जना बोक्न सकिँदैन । किनकि यसको इन्जिन क्षमता कम हुन्छ । इन्जिन सानो हुनेबित्तिकै ५ जनाभन्दा बढी मान्छे बोक्नै मिलेन । तर, बी थ्री ईमा टुडी इन्जिन हुन्छ, र यसको क्षमता पनि बढी हुन्छ । त्यसैले ६ प्लस १ बोक्न कुनै आपत्ति छैन ।

बीटुमा टुबी वान इन्जिन हुन्छ । यो भनेको कम क्षमताको हो । त्यही तापक्रममा त्यही उचाइमा बीटुले जति तौल बोक्न सक्छ, बी थ्रीले त्योभन्दा बढी बोक्न सक्छ । किनकि बी थ्री ईको इन्जिन नै बढी क्षमताको छ ।

म्यानुफ्याक्चररले सर्टिफाइड गरेको छ, बी टुले पाँच जना बोक्छ, बी थ्री ईले ६ जना बोक्छ । मानौ बी थ्रीले २ लाख रुपैयाँ लिएर ६ जना लिएर उड्यो भने प्रतिव्यक्ति यात्रुलाई ३३ हजार ३ सय रुपैयाँ पर्न आयो ।

तर, २ लाख रुपैयाँमै बी टुले पाँच जना मान्छे लिएर उड्यो भने प्रतिव्यक्ति ४० हजार रुपैयाँ पर्न आयो । भनेपछि यात्रुलाई त बी टु चढ्नुभन्दा बी थ्री ई चढ्दा सस्तो पर्यो । त्यसकारण यात्रुले किन बी टु हेलिकप्टर चढ्ने ? त्यही भएर बीटु हेलिकप्टरवालाले समान रेट बनाउन र बीटुवालाले बढी आर्थिक लाभ लिन यस्तो गरेको प्रस्ट रुपमा देखिन्छ ।

बी थ्रीको क्षमता बढी, इन्जिन पावर पनि बढी भएकाले तेल पनि बढी खपत गर्ने, हेलिकप्टर पनि महँगो छ । तर, भाडाको दर बी टु र बी थ्रीको बराबर । अहिलेको राजनीति यही हो । क्यानको रोहवरमा ५ प्लस १ गर्नेबित्तिकै बीटुवालाहरु मालामाल हुने भए ।

जसले बी टु उडाइरहेका थिए, उसैको प्रस्ताव
एयर डाइनेष्टीको बी थ्री ताप्लेजुङमा दुर्घटना भयो । उसँग भएको बी थ्री सकियो र बाँकी रह्यो बी टु । र, क्यानको मिटिङमा एयर डाइनेष्टिका पवित्रबहादुर कार्कीले ५ प्लस वानको प्रस्ताव राखे ।

बी टु र बी थ्रीलाई समान बनाउने कार्कीको भित्री योजना सफल बनाउनु थियो । त्यही भएर बी टुका मालिक कार्कीको प्रस्तावमा बी थ्रीका मालिकले आँखा चिम्लेर सही गरेर आए ।

पाइलटलाई जति कम तौल उडाउन पायो, उत्ति फाइदा
पाइलटहरु खालि हेलिकप्टर उठाउन उत्सुक हुन्छन् । पूर्ण क्षमतामा उडाउँदा उनीहरुले बढी मिहिनेत गर्नुपर्छ । कम तौल उडाउन कम मिहिनेत गरे पुग्छ । त्यसैले उनीहरुले स्वागत गरेको कुरा ठिक छ । कम तौल उडाउन पाइन्छ भने, पाइलटले त्यति गर्नु स्वाभाविक हो ।