निकुञ्ज छलेर जाने रुटबाहेक पूर्व-पश्चिम रेलमार्गको डीपीआर तयार

यसअघि ती दुई निकुञ्ज भएर रेलमार्ग निर्माण गर्ने एलाइनमेन्ट परिवर्तन गरी निजगढ-हेटौंडा-भरतरपुर रेलमार्ग नयाँ रुट तोकिएको हो । उक्त खण्डको १३६ किमिबाहेक सबै खण्डको डीपीआर सम्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको रेल विभागले जनाएको छ ।

काठमाडौं । पर्सा र चितवन राष्ट्रिय निकुञ्ज भएर जाने रुटबाहेक पूर्व-पश्चिम विद्युत्तीय रेलमार्गको सबै खण्डको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । यसअघि ती दुई निकुञ्ज भएर रेलमार्ग निर्माण गर्ने एलाइनमेन्ट परिवर्तन गरी निजगढ-हेटौंडा-भरतरपुर रेलमार्ग नयाँ रुट तोकिएको हो । उक्त खण्डको १३६ किमिबाहेक सबै खण्डको डीपीआर सम्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको रेल विभागले जनाएको छ ।

अहिले निजगढ-हेटौंडा-भरतपुर खण्डमा पूर्व सम्भाव्यता अध्ययन, सर्भे, डिजाइनको काम अघि बढेको छ । आशयपत्र प्राप्त गरी विभागले ६ ओटा कम्पनीको आर्थिक तथा प्राविधिक मूल्याङ्कन गरिरहेको छ । आशयप्राप्त कम्पनीमध्ये प्राविधिक तथा आर्थिक प्रस्ताव राम्रो हुने कम्पनी छानेर उसैलाई डीपीआर निर्माण गर्न दिइनेछ । कम्पनी छनौट गर्ने काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । एक वर्षभित्र सो खण्डको डीपीआर पूरा गरी रेलमार्ग निर्माण अघि बढ्ने विभागको योजना छ ।

बुटवलदेखि महेन्द्रनगरको गड्डाचौकीसम्म चार खण्ड छुट्याएर डीपीआरको काम अघि बढेको थियो । अहिले बुटवलदेखि गड्डाचौकीको चारखण्डको डीपीआर तयार भई आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘निकुञ्ज क्षेत्रमा पर्ने खण्ड एलाइनमेन्ट परिवर्तन भएर आएको डीपीआरअनुसार अघि बढेका छौं,’ उनले भने, ‘त्यसबाहेक सबैजसो खण्डकोे डीपीआर रिपोर्ट आइसकेको छ ।’ उनले यसअघि लमही-सुख्खड खण्डमा केही घर विस्थापित गर्नुपर्दा समस्या भई डीपीआरमा ढिलाइ भए पनि डेढ हप्ताअघि नै समस्या हल गरेर डीपीआर रिपोर्ट आइसकेको बताए ।

महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीखण्डको ३० किमि रेलमार्गको ट्रयाक सम्पन्न भएको छ । एक सय ४० किमिको बर्दिवास-सिमरा-वीरगन्ज खण्डको रेलमार्ग निर्माणको डीपीआर बने पनि रेलमार्ग निर्माणको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । यता, भरतपुरदेखि-बुटवल खण्डको डीपीआर यसअघि नै बनिसकेको छ ।

आर्थिक वर्ष २०६६/०६७ देखि अघि बढाइएको पूर्व-पश्चिम विद्युत्तीय रेलमार्ग राष्ट्रिय गौरवको अयोाजना हो । पूर्व-पश्चिम विद्युत्तीय रेलमार्गको लम्बाइ ९४५ किमि छ ।