सरकारको निर्णय पर्खंदै मेलम्ची

विशेष परिस्थिति वा नियमित प्रक्रिया जुनसुकै प्रक्रियाबाट आयोजना अघि बढाए पनि त्यसका लागि आयोजना पक्षले आवश्यक तयारी गरेको जनाइएको छ । अहिले मेलम्ची खानेपानी विकास बोर्डबाट निर्णय भई कन्ट्र्याक्ट डकुमेन्ट तयार पारिएको निर्णय हुनासाथ सूचना निकालिने समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले बताए ।

काठमाडौं । मन्त्रिपरिषद्ले निर्णय गरे एक हप्ताभित्र मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन सकिने देखिएको छ । फास्ट ट्र्याकमै गएर आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले निर्णय गरेमा आयोजना एक हप्तामै अघि बढाउन सकिने मेलम्ची खानेपानी विकास समितिका प्रमुख सूर्यराज कँडेलले जानकारी दिए ।

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमेस्ट्री (सीएमसी डे रेभना) भागेपछि अलपत्र रहेको मेलम्चीको काम फास्ट ट्र्याकमै अघि बढाउनुपर्ने आयोजनाको निष्कर्ष छ ।

मेलम्चीमा अबको विकल्प के ? भन्ने क्यापिटल नेपालको प्रश्नमा उनले भने, ‘अब फास्ट ट्र्याकमै गएर मेलम्चीका बाँकी काम सम्पन्न गर्नु उत्तम हुन्छ । त्यसका लागि सरकार निर्णय कुरेका छौं । सरकारीस्तर वा मन्त्रिपरिषद्बाट निर्णय भए एक हप्ताभित्रै बाँकी काम अघि बढाउनेछौं ।’ सरकारले निर्णय नगर्दासम्म आयोजना कसरी अघि बढाउने भन्ने विषयमा यसै भन्न नमिल्ने उनले बताए । नेपाली ठेकेदारमार्फत नै आयोजनाको बाँकी काम पूरा गराउन प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।

‘अब सीएमसी फर्कने आशा गरेका छैनौं, फास्ट ट्र्याकमार्फत नै छिटोभन्दा छिटो आयोजना सम्पन्न गर्ने पक्षमा छौं,’ उनले भने, ‘त्यसका लागि मन्त्रिपरिषद्को निर्णय हुनुपर्र्छ ।’ नेपाली ठेकेदार वा सबकन्ट्याक्टरमार्फत नै आयोजनाको बाँकी काम सम्पन्न गर्ने निर्णय भएमा मेलम्ची छिटो आउने उनले बताए ।

नियमित प्रक्रियामार्फत जाँदा आयोजना थप ३ वर्ष धकेलिने आयोजना पक्षले जनाएको छ । यदि फास्ट ट्र्याकमार्फत नेपाली ठेकेदारमार्फत नै आयोजना अघि बढाएमा ६ महिनादेखि १ बर्षभित्र मेलम्ची उपत्यकामा ल्याउन सकिने आयोजना प्रमुख आचार्यको तर्क छ । फास्ट्र ट्र्याकमै गर्ने कि नियमित प्रक्रियामार्फत अघि बढाउने भन्नेबारे निर्णय गर्ने अधिकार समितिलाई नरहेको कँडेलको भनाइ छ । त्यसकारण मेलम्ची खानेपानी विकास बोर्ड र सरकारी स्तरबाट नै यसबारे ठोस निर्णय आउनुपर्ने उनले बताए ।

विशेष परिस्थिति वा नियमित प्रक्रिया जुनसुकै प्रक्रियाबाट आयोजना अघि बढाए पनि त्यसका लागि आयोजना पक्षले आवश्यक तयारी गरेको जनाइएको छ । अहिले मेलम्ची खानेपानी विकास बोर्डबाट निर्णय भई कन्ट्र्याक्ट डकुमेन्ट तयार पारिएको निर्णय हुनासाथ सूचना निकालिने समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले बताए ।

मेलम्चीमा बाँकी रहेको काम पुरा गर्न झन्डै ३ अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजना पक्षले जनाएको छ । विगत ३ महिनादेखि अलपत्र रहेको आयोजना अघि बढाउन सरकारी क्षेत्रबाट ठोस निर्णय नहुँदा आयोजना अनिर्णयको बन्दी बनेको छ ।