त्रिवेणी विकास बैङ्कमा ठगीः  भीरपाखाका जग्गामा पिच सडक देखाएर १ करोड २६ लाख  ऋण प्रवाह

२०७३ साल जेठ १७ गते तत्कालीन त्रिवेणी विकास बैङ्क (हालको जनता बैङ्क) थापालथी शाखाका शाखा प्रमुख छविलाल हुमागाईँलगायत बैङ्कका तत्कालीन सीईओ सागरकुमार घिमिरेसहित १२ जना कर्मचारी मिलेर कमला बीएमको नाममा १ करोड २६ लाख ऋण दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

काठमाडौं । तत्कालीन त्रिवेणी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा शाखा प्रमुखले कर्मचारीको मिलोमतोमा बाटो नै नभएको जग्गामा पिच सडक रहेको झुटा विवरण पेश गरी १ करोड २६ लाख ऋण दिएको तथ्य खुलेको छ । २०७३ साल जेठ १७ गते तत्कालीन त्रिवेणी विकास बैङ्क (हालको जनता बैङ्क) थापाथली शाखाका शाखा प्रमुख छविलाल हुमागाईँलगायत बैङ्कका तत्कालीन सीईओ सागरकुमार घिमिरेसहित १२ जना कर्मचारी मिलेर कमला बीएमको नाममा १ करोड २६ लाख ऋण दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरुले काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ३ र ५ का विभिन्न व्यक्तिको जग्गा जम्मा पारी सडक नपुगेको र भिरमा भएको जग्गालाई पिच बाटो पुगेको ठाउँ भन्दै वडा कार्यालयको नक्कली कागजपत्र बनाएर उक्त ऋण दिएका थिए । हाल जनता बैकसँग मर्ज भएको त्रिवेणी विकास बैङ्कका सीईओ घिमिरेका अतिरिक्त तत्कालीन थापाथली शाखाका प्रमुखले त्यसरी बैङ्कलाई हानि पुग्ने गरी कर्जा प्रवाह गरेको भेटिएपछि जनता बैङ्कले महानगरीय प्रहरी परिसर टेकुमा छानबिनका लागि अनुरोध गरेको थियो ।

प्रहरीको अनुसन्धानपछि उनीहरुले वडा कार्यालयदेखि नगरपालिका र विभिन्न ब्यक्तिको नाममा भएको जग्गाको नक्कली कागजपत्र बनाएर कमला बीएमको नाममा कर्जा प्रवाह गरेको फेला परेको हो । प्रहरीले शाखा प्रबन्धकदेखि जग्गा मिलाउने र अनि ऋणी कमला बिएमलाई प्रतिबादी कायम गरी सरकारी सहीछाप किर्ते गरेको अभियोगमा काठमाडौं प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जनता बैङ्कका तर्फबाट अजयकुमार मिश्रको जायरी दरखास्त र कमाला बीएमको बयानको आधारमा प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सईओ घिमिरे र शाखा प्रमुख हुमागाईँले यसरी पचाए १ करोड २६ लाख

प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका २ र ५ मा भएका राजबहादुर पुतुवार, पूजा राजबहाक पुतुवार, सुर्दशनप्रसाद भट्टराई, लगायत स्थानीयबासीको भिर र बाटो नै नपुगेको जग्गालाई समथर र पिच बाटो पुगेको भनेर मूल्याकंन गरी सबै कागजहरु नक्कली बनाएर कमला बीएमको नाममा उक्त कर्जा प्रवाह गरेका हुन् ।

प्रहरीका अनुसार शाखा प्रमुख हुमागाईँले कमला बीएमलाई ऋणी बनाएर उक्त जग्गाको नक्कली कागज बनाएको र हुमागाईँलाई कर्जा शाखाका बिपुल सुवेदी, पुजन कोइराला र ब्रजेश अर्यालले साथ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसरी आएको नक्कली पत्रलाई कर्जा समितिमा रहेका सीईओ घिमिरे, उदेश भट्टराई, रमेश निरौला, सुरेन्द्र थापा, हिमाल पौडेल, शैलेश ढकालले सदर गर्दै कर्जा दिने निणर्य गरेका थिए । त्यसैगरी प्रबन्धकको योजना अनुसार नक्कली कागजकै आधारमा इन्जिनियर भरतप्रसाद बन्जरा र सुनिल सिंहले जग्गाको मूल्यांकन गरेका थिए । उक्त जग्गा मिलाउँदा मध्यस्तकर्ताको भूमिका सुरेन्द्र यादव र मिलन विष्टले निर्वाह गरेका थिए ।

शाखा प्रबन्धकबाट सीईओ घिमिरे हुँदै ऋण स्वीकृतिको प्रस्ताव सञ्चालक समितिमा पुगेको थियो । त्यसबेला सञ्चालक समितिमा लंकबहादुर केसी, प्रा.डा भीमप्रसाद न्यौपाने, टंकप्रसाद ढकाल, भोजप्रसाद तिमल्सिना, मदन अधिकारी, गौतमप्रसाद खनाल, रामप्रसाद भट्ट र बालकुमार बास्तोलालेसमेत कमला बीएमकको नाममा २०७३ भदौ ११ गते कर्जा अनुमोदन गरी १ करोड २६ लाख रुपैयाँ ऋण दिएको थियो ।