सिद्धार्थ डेभलपमेन्ट बैङ्कमा ठगीः नक्कली जग्गा देखाएर बैङ्कको सीईओ र शाखा प्रबन्धकले नै २ करोड बढी ऋण निकाले

हालको जनता बैङ्कसँग गाभिनुअघि सिद्धार्थ डेभलपमेन्टका सीईओ अजयकुमार मिश्र, तिनकुने शाखा प्रमुख गीता शर्मा सुवेदीलगायत बैङ्कका कर्मचारी मिलेर कृष्ण चौधरीको नामबाट सो कर्जा प्रवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं । जनता बैङ्क  (तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैङ्क) सिद्धार्थका  प्रमुख कार्यकारी अधिकृत (सीईओ ) र शाखा प्रबन्धक मिलेर भिरपाखामा भएको जग्गालाई पिच बाटो भन्दै नक्कली कागजपत्र बनाएर २ करोेड २५ लाख रकम निकालेको तथ्य फेला परेको छ ।

हालको जनता बैङ्कसँग गाभिनुअघि सिद्धार्थ डेभलपमेन्टका सीईओ अजयकुमार मिश्र, तिनकुने शाखा प्रमुख गीता शर्मा सुवेदीलगायत बैङ्कका कर्मचारी मिलेर कृष्ण चौधरीको नामबाट सो कर्जा प्रवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२०७३ साल असार २९ मा चौधरीको नामबाट उनीहरुले उक्त रकम निकासा गरेका थिए । तिनकुने शाखा प्रमुख सुवेदी, नक्कली जग्गाको मुल्यांकन गर्ने सञ्जय दुधानी, कर्जा शाखाकी अनुजा डंगोल, लिलावती चौलागाईँ र कर्जा समितिमा रहेका सीईओ अजयकुमार मिश्र, सुजन सुवेदी, रबी शाक्य र मुकुन्द त्रिपाठी मिलेर काठमाडौं इचंगुनारायण १ मा कित्ता नम्बर १६७,१६९,१८८८ र १८९को भिरमा रहेको अर्को ब्यक्तिको जग्गालाई कृष्ण चौधरीको नाममा नक्कली कागजपत्र बनाएर उक्त कर्जा प्रवाह गरेका थिए ।

त्यसरी भिरमा भएको जग्गालाई समथर र पिच बाटो भन्दै बैङ्कलाई हानी पुर्याउने सीईओ, प्रबन्धकलगायतका कर्मचारीलाई प्रहरीले पक्राउ गरी कीर्तेमा मुद्धा चलाएको छ । उनीहरुले उक्त ऋण दिँदा वडा कार्यालय, नापी कार्यालय र मालपोतको नक्कली कागज बनाएका थिए ।

त्यसैगरी भिरपाखामा भएको जग्गा मिलाउने कार्यमा संलग्न कृष्ण चौधरीका भाई रमेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । ऋणी चाैधरी बाहेक अन्य सबै फरार छन्।  सीओ मिश्र र तिनकुने शाखा प्रमुख गीता मिलेर योजनावद्ध रुपमा बैङ्कलाई हानी पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जनता बैङ्कमा गाभिएपछि बिगतका कागजहरु पल्टाएर हेर्दा उनीहरुलले बैङ्कलाई नोक्सानी पुर्याएको खुलेपछि जनता बैङ्कले महानगरीय प्रहरी परिसर काठमाडौंमा छानविनका लागि निवेदन दिएको थियो ।

त्यसपछि प्रहरीले वडा कार्यालयदेखि मालपोत हुँदै नापी कार्यालयसम्म पुगेर अनुसन्धान गर्दा उनीहरुले सबै कागजपत्रहरु नक्कली बनाएर ऋण निकासा गरेको खुलेको हो । सीइओ मिश्र, शाखा प्रमुख सुवेदीलगायत ठगीमा संलग्नहरुलाई प्रहरीले सरकारी सहिछाप किर्तेमा मुद्धा चलाएको छ ।