बैङ्किङ कसुरमा फरार अजय मिश्र युनाइटेड फाइनान्सको सीईओ !

सिद्धार्थका सीईओ मिश्र जनता बैङ्कको डेपुटी सीईओबाट हालै मात्रै अवकाश लिएका थिए । सिद्धार्थ डेभलपमेन्ट बैङ्क जनता बैङ्कमा गाभिएपछि उनी त्यहाँ डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिद्धार्थ दुई वर्षअघि जनता बैङ्कमा गाभिएको थियो । सिद्धार्थमा जानुअघि उनी तत्कालीन प्रुडेन्सियल फाइनान्समा सीईओ थिए । प्रुडेन्सियल पनि एनएमबी बैङ्कमा गाभिएको थियो ।

काठमाडौं । बैङ्किङ अपराध गरेको आरोपमा प्रहरीको फरार सूचीमा रहेका अजयकुमार मिश्र युनाइटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । युनाइटेड फाइनान्सले शुक्रबारदेखि लागू हुने गरी बिहीबार सीईओ नियुक्त गरेको जानकारी दिएको छ । तर तत्कालीन सिद्धार्थ डेभलमेन्ट बैङ्कको सीईओ हुँदा वित्तीय अपराध गरेको भन्दै प्रहरीले मिश्रलाई खोजी गरिरहेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैङ्कमा ठगीः नक्कली जग्गा देखाएर बैङ्कको सीईओ र शाखा प्रबन्धकले नै २ करोड बढी ऋण निकाले

सिद्धार्थका सीईओ मिश्र जनताको बैङ्कको डेपुटी सीईओबाट हालै मात्रै अवकाश लिएका थिए । सिद्धार्थ डेभलपमेन्ट बैङ्क जनता बैङ्कमा गाभिएपछि उनी त्यहाँ डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिद्धार्थ दुई वर्षअघि जनता बैङ्कमा गाभिएको थियो । सिद्धार्थमा जानुअघि उनी तत्कालीन प्रुडेन्सियल फाइनान्समा सीईओ थिए । प्रुडेन्सियल पनि एनएमबी बैङ्कमा गाभिएको थियो ।

जनता बैङ्कसँग गाभिनुअघि मिश्रले तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैङ्कबाट हुँदै नभएको जग्गा धितोमा राखि दुई करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । काठमाडौंको तीनकुनेस्थित सिद्धार्थको मुख्य शाखाबाट कृष्ण चौधरीको नाममा मिश्रको सहमतिमा दिइएको खुलेको छ ।

तीनकुने शाखा प्रमुख गीता शर्मा सुवेदी, नक्कली जग्गाको मूल्याङ्कन गर्ने सञ्जय दूधानी, कर्जा शाखाकी अनुजा डङ्गोल, लीलावती चौलागाईं, कर्जा समितिमा रहेका सीईओ मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठी मिलेर काठमाडौं इचङ्गुनारायण १ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को भीरमा रहेको अर्कै व्यक्तिको जग्गालाई कृष्ण चौधरीको नाममा नक्कली कागजपत्र बनाएर कर्जा दिइएको पाइएको छ । सीईओ मिश्र र तीनकुने शाखा प्रमुख गीता मिलेर योजनाबद्ध रुपमा बैङ्कलाई हानि पुर्याएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

विगतका कागजातबाट उनीहरुले बैङ्कलाई नोक्सानी पुर्याएको खुलेपछि जनता बैङ्कले महानगरीय प्रहरी परिसर काठमाडौंमा छानबिनका लागि निवेदन दिएको थियो । त्यसपछि प्रहरीले वडा कार्यालयदेखि मालपोत हुँदै नापी कार्यालयसम्म पुगेर अनुसन्धान गर्दा उनीहरुले सबै कागजात नक्कली बनाएर ऋण निकासा गरेको खुलेको हो ।

प्रहरीले ऋणी चौधरीबाहेक सीईओ मिश्र, शाखा प्रमुख गीता शर्मा सुवेदीलगायतलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।