रेल विभाग आफैँले रेल चलाउन नमिल्ने भएपछि बन्द कम्पनी पुनःसञ्चालन गरिँदै

रेल विभाग अन्तर्गत रेल चलाउन नमिल्ने भएकाले यसअघि स्थापना भएको रेल कम्पनीलाई नै पुनः सञ्चालन गरी सोही कम्पनीमार्फत रेल चलाउने तयारी गरिएको रेल विभगले जनाएको छ ।

काठमाडौं । बन्द अवस्थामा रहेको रेल कम्पनीलाई सरकारले पुनः सञ्चालन गर्ने तयारी गरेको छ । रेल विभाग अन्तर्गत रेल चलाउन नमिल्ने भएकाले यसअघि स्थापना भएको रेल कम्पनीलाई नै पुनः सञ्चालन गरी सोही कम्पनीमार्फत रेल चलाउने तयारी गरिएको रेल विभगले जनाएको छ ।

यसअघि जनकपुर जयनगरमा रेल सञ्चालनमा रहँदा रहेको रेल कम्पनीको नीति र संगठनात्मक संरचनाअनुसार नै अबको रेल सञ्चालन हुने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । त्यस्का लागि रेल कम्पनीको नयाँ नीति, संगठनात्मक संरचना र रेल्वे ऐन स्वीकृतका लागि मन्त्रालयमा पठाइ सकिएको पनि उनले बताए ।

रेल्वे कम्पनीको पदेन अध्यक्ष रेल विभागको महानिर्देशक रहने व्यवस्था छ । यसबाहेक विभिन्न ७ ओटा मन्त्रालयका एक एक प्रतिनिधी कम्पनीको सदस्य रहन्छन् । उक्त कम्पनीलाई नयाँ किसिमले अघि बढाई रेल सञ्चालन गरिने मिश्रको भनाई छ । यसअघि रेल विभागअन्तर्गत रहेपनि नेपालमा रेल सञ्चालन बन्द भएपछि उक्त कम्पनी निष्क्रिय बनेको थियो ।

त्यस्तै, रेल सञ्चालनका लागि विभागले रेल्वे ऐन बनाएर स्वीकृतिका लागि पठाएको पनि उनले जानकारी दिए । यसअघिको रेल्वे ऐन २०२० लाई शंशोधन गर्दै नयाँ रेल्वे कानुन स्वीकृतीको चरणमा रहेको विभागले जनाएको छ ।

लामो समयदेखि रेल्वे कानुन बन्न सकेको थिएन् । उक्त कानुन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि रेल चलाउन सहज बाटो खुल्ने जानकारहरु बताउँछन् । अहिले जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनको अन्तिम तयारीमा छ । त्यस्का लागि रेल्वे कम्पनी र रेल्वे कानुन आवश्यक पर्ने भएकाले विभागले योजना र प्रक्रिया अघि बढाइसकेको मिश्रको भनाइ छ ।

जयनगर कुर्थाको ३४ किलोमिटर खन्डको रेलका लागि ट्«याक तयार भई रेल खरिदका लागि सम्झौता भएर प्रक्रिया अघि बढेको छ । भारत सरकारको रेल्वे कम्पनीसँग खरिदका लागि सम्झौता र स्वीकृत भइसकेकाले रेल आउन मात्रै बाँकी छ ।

भारतबाट रेल आउनासाथ सञ्चालन गर्ने रेल विभागको योजना छ । त्यस्का लागि रेल्वे कम्पनी र ऐन आवश्यक पर्छ ।