राष्ट्रपतिको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआरमा एमओयू हुने

राष्ट्रिय महत्त्वको उक्त रेललाइन निर्माणमा चिनियाँ पक्षको चासो रहेकाले पनि राष्ट्रपतिको भ्रमणका बेला सम्झौता हुने भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारीले क्यापिटल नेपाललाइ जानकारी दिए ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला चीन—केरुङ रेल कनेक्टिभिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ ।

राष्ट्रिय महत्त्वको उक्त रेललाइन निर्माणमा चिनियाँ पक्षको चासो रहेकाले पनि राष्ट्रपतिको भ्रमणका बेला सम्झौता हुने भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारीले क्यापिटल नेपाललाइ जानकारी दिए । ‘पोलिटिकल तहमा यसबारे सहमति गर्नेगरी तयारी भएको छ,’ उनले भने, ‘राष्ट्रिय महत्त्वको आयोजना निर्माणमा चिनियाँ पक्षको चासो छ । राष्ट्रपतिको भ्रमणमै डीपीआरमा सम्झौता हुनेछ ।’

केरुङ—काठमाडौं रेलमार्ग चीनसँग जोड्ने एक मात्र रेल ‘लाइफलाइन’ हो । रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रिफिजिबिलिटी) प्रतिवेदन तयार भइसकेको छ । चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटबाट चिनियाँ प्राविधिकको टोलीले अध्ययन रिपोर्ट बुझाइसकेको छ ।

चिनियाँ पक्षले रेलमार्ग निर्माणमा चासो दिए पनि नेपालले त्यसअनुसार भूमिका खेल्न सकेको छैन । चीन र नेपाल जोड्ने अन्तरदेशीय रेलमार्गका रुपमा केरुङ—काठमाडौं रेलमार्गलाई लिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेला केरुङ—काठमाडौं रेलमार्गको अध्ययन र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । रेलमार्ग चिनियाँ अनुदान सहयोगमै बनाउनु पर्ने नेपाली पक्षको जोड छ ।

झन्डै ३ खर्ब रुपैयाँ लागत अनुमान गरिएको रेलमार्गमा अधिकांश पुल र सुरुङमार्ग हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

केही दिनअघि मन्त्रालयले एक वर्षमा गरेको भौतिक प्रगति विवरण प्रस्तुत गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आगामी ६ महिनाभित्र केरुङ—काठमाडौं रेलमार्गको डीपीआर तयार भइसक्ने बताएका थिए ।