काठमाडौंका मेयरलाई सर्वसाधारण सोधिरहन्छन्— स्मार्ट र क्लिनसिटी कहिले ?

अहिले सहरमा बढ्दै गएको यातायातको चापले प्रदूषण बढिरहेको छ । धूलोमुक्त सहर बनाउन महानगरले केही हप्ताअघि पाँचओटा ‘ब्रुमर’ ल्याए पनि केही बिग्रेर थन्किइसके भने १/२ ओटा त्यो पनि मुख्य सहरी क्षेत्रमा मात्रै चलाइन्छ । सहरका अन्य क्षेत्र र चोकको फोहोर हट्न सकेको छैन ।

काठमाडौं । सोह्रखुट्टे नयाँबजार बस्दै आएकी शोभा शाक्य जागिरे हुन् । उनी दैनिक रुपमा सार्वजनिक यातायात चढेर कार्यालय आउनुपर्छ । प्रत्येक दिन उनलाई मास्क लगाएर ९ बजेअघि घरबाट निस्कनुपर्छ । नत्र समयमै कार्यालय पुग्न गाह्रो पर्छ । एक त, ट्राफिक जाम छ भने अर्कोतर्फ सडकमा धूलोधूवाँ । कहिले डेढ घण्टा त कहिले एक घण्टा जाममै पर्नुपरेको उनी बताउँछिन् ।

सरकारले स्मार्ट र क्लिनसिटी बनाउने भनेको छ । अब जाम र धूवाँधूलो हट्छ होला नि भन्ने प्रश्नमा उनले नेताप्रति आक्रोश पोख्दै भनिन्, ‘चुनावमा भोट माग्दा यस्तै नारा दिन्छन् । चुनाव जितेपछि फर्केर नि हेर्दैनन् । केको स्मार्ट सिटी बनाउँथे यिनले ?’

उनी मात्रै होइन, गोङ्गबुमै बस्ने रुद्र पौडेल पनि दैनिक रुपमा बढ्दै गएको सहरक्षेत्र धूलोधूवाँ र फोहोरको व्यवस्थापनप्रति महानगर मूकदर्शक बनेको बताउँछन् । ‘सहरबाहिर निस्कनै गाह्रो भइसक्यो । धूवाँ र फोहोरमैलाको दुर्गन्धले सहर झनै प्रदूषित बन्दै गएको छ,’ उनले भने, ‘यसबारे महानगरले समयमै व्यवस्थापनबारे सोच्नुपर्छ ।’

यिनीहरु त केही प्रतिनिधि पात्र मात्रै हुन्, अहिले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने ४० लाखभन्दा बढी बासिन्दाको नियति यस्तै छ । सडकमा जताततै धूवाँधूलो, सडक पेटीमा फुटपाथ र ट्राफिक जामले यात्रा गर्नेलाई निकै बाधा हुने गर्छ । बाहिर निस्क्यो कि, मास्कबिना हिँड्नै सकिन्न । फोहोरको दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने नियति सायद महानगरवासीलाई बानी नै परिसक्यो । अहिलेको नियति हेर्दा काठमाडौं होइन, धूलोमान्डु भएको छ ।

निर्वाचन ताका सडकलाई स्मार्ट र क्लिन सिटी बनाउने घोषणापत्र खै कता छन् ? सायद मुसाले नष्ट गरिसके होलान् । काठमाडौं महानगरमा पनि अहिलेका मेयर विद्यासुन्दर शाक्यले यस्तै यस्तै घोषणा दिएका थिए । तर, अहिले उनै मेयरले नेतृत्व सम्हालेको २ वर्ष हुनै लाग्यो । तर, सहरको रुप फेरिएन् । उस्तै छ । जताततै धूलो र फोहोर र अस्तव्यस्त । यसले सहरलाई दिनानुदिन कुरुप बनाइरहेको छ ।

त्यो मात्रै होइन। मेयर शाक्यले उपत्यकाभित्र मेट्रो र मोनो रेल जस्ता नारा त अघि सारेका थिए । तर, अघि सारिएको त्यस्ता घोषणा कहिले सुरु हुने हो कुनै अत्तोपत्तो छैन । मुख्यमुख्य सहरमा ‘फ्री वाइफाई जोन’ बनाउने भनिएको थियो । तर सीमित क्षेत्रबाहेक अन्य ठाउँमा सेवा पुग्नै सकेन ।

अहिले सहरमा बढ्दै गएको यातायातको चापले प्रदूषण बढिरहेको छ । धूलोमुक्त सहर बनाउन महानगरले केही हप्ताअघि पाँचओटा ‘ब्रुमर’ ल्याए पनि केही बिग्रेर थन्किइसके भने १/२ ओटा त्यो पनि मुख्य सहरी क्षेत्रमा मात्रै चलाइन्छ । सहरका अन्य क्षेत्र र चोकको फोहोर हट्न सकेको छैन ।

सडक आसपास र पेटी क्षेत्रमा अव्यवस्थित राखिएका फुटपाथ पसलले सहज रुपले हिँडडुल गर्न सकिँदैन । रत्नपार्क, असन, नयाँ बसपार्क र अन्य मुख्य सहरका चोकहरुमा त्यस्ता फुटपाथ पसल हटाउन महानगरले कसरत गरे पनि हटाउन सकेन, जसका कारण, सडक दुर्घटना, चोरी र सहज आवतजावतमा महानगरवासीले सास्ती खेप्दै आएका छन् ।

उपत्यकाभित्र मुख्य सहरचोकमा बिजुलीका तार व्यवस्थापन भद्रगोल छ । तार व्यवस्थापन महानगरले विद्युत् प्राधिकरणले र अन्य सेवा प्रदायकसँग समन्वयन गर्न नसक्दा विद्युतीय कारण जोखिम बढेको छ । एउटै पोलमा धेरै पुराना तारको गुजुल्टो परेको छ भने केही भुइँ छुने गरी झुन्डिएका छन् । बेलाबेलामा हाई भोल्टेजका कारण पोलमा आगलागी बढ्दै गएको छ । तर त्यस्ता अव्यवस्थित तार हटाउन सकिएको छैन ।

ढल निकासको व्यवस्थापन हुन सकेको छैन । जसका कारण, झरी पर्दा सडकमै नदी बगेर ताल बन्छ । केही महिनाअघि नयाँ बसपार्क क्षेत्रमा सडकमा वर्षाका कारणले पानीको ताल बनेपछि सडक पार गर्ने क्रममा एक बालिकालाई बगाएको थियो । यस्ता घटना आगामी दिनमा पनि नघट्लान् भन्न सकिँदैन ।

सडकमा खनिएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएका छन् । बजार क्षेत्रमा ढल निकास, प्रदूषण र यत्रतत्र सडकमै निर्माण सामग्री थुपारिएका छन् । यसले यातायात क्षेत्रलाइ मात्रै नभएर आम नगरवासीको दैनिकीमा असर पु¥याएको छ ।

बजारमा विज्ञापन र प्रचारका नाममा ठुल्ठूला होर्डिङ बोर्डले सहरलाई कुरुप बनाइरहेको छ । होडिङ बोर्ड हटाई डिजिटलाइज गर्ने योजना वर्षौंदेखि कार्यान्वयन हुन सकेको छैन ।

सडकमा ट्राफिक लाइट बिग्रिएका छन् भने केही ठाउँमा अझै पनि बनेका छैनन् । जसका कारण, सवारी दुर्घटना र ट्राफिक नियम पालना गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । यात्रुलाई सहजै सार्वजनिक यातायात गर्न सकून् भनेर महानगरले ‘पिक एन्ड ड्रप’ प्रणाली लागू गरे पनि अझै व्यवस्थित हुन सकेको छैन ।

महानगरभित्रको सहर ‘स्मार्ट र क्लिन’ बनाउन योजना त्यति महत्त्वाकाङ्क्षी पक्कै होइन । तर जसरी घोषणा गरिएअनुसार काम हुनुपथ्र्यो त्यसअनुसारको सुरुवात र प्लानिङ नभएको पक्कै हो । सहरलाई सफा र व्यवस्थित बनाउन त्यत्रो महाभारत हुन्थ्यो भने किन घोषणापत्रमा आम नागरिकलाई भ्रममा पारियो ? प्रश्न उठेको छ ।

यसबारे काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य घोषणापत्रमा अघि सारिएका योजना बिस्तारै कार्यान्वयन भइरहेको जवाफ दिन्छन् । ‘हामीले जसरी घोषणापत्रमा महानगरलाई स्मार्ट र क्लिनसिटी बनाउने भनेका छौं,’ उनले भने, ‘त्यसअनुसार नै योजना बनाएर काम सुरुवात गरिसकेका छौं ।’

धूलोमुक्त सहर बनाउन महानगरकै पहलमा चीनबाट ‘ब्रुमर’ ल्याई दिनरात र बिहानमा सडकको धूलो सफा गरिरहेको उनले बताए । ‘धूलोमुक्त महानगर बनाउन भनेर चीनबाट पाँचओट बु्रमर ल्याई चलाएका छौं’, उनले थपे, ‘अहिले सडकको धूलो हटिसकेको छ ।’

बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण सफा र सुन्दर सहर निर्माणमा बाधा पुगिरहेको छ । मापदण्डविपरीत अग्ला र ठूला भवन निर्माणले सहरमा खुला क्षेत्र खुम्चिँदै गएको छ । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगर क्षेत्रको विकास र अघि सारिएका योजनामा सरकारले पनि ध्यान दिनुपर्छ । महानगरले मात्रै गर्न सक्दैन । तर महानगरका मेयरज्यूले चुनावताका आफ्ना मतदातासमक्ष अघि सारिएका योजना र घोषणा पूरा गर्नैपर्छ ।