यातायात प्राधिकरण गठन प्रक्रिया अन्तिम चरणमा

सरकारले ३०० विद्युतीय सवारीको सञ्चालन प्राधिकरणअन्तर्गत नै गर्नेछ । यसअघि यातायात क्षेत्रमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गर्दै यातायात क्षेत्रलाई थप व्यवस्थित गर्न प्राधिकरणले अधिकार पाएको छ ।

काठमाडौं । यातायात प्राधिकरण गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यातायात क्षेत्रमा देखिएका समस्या र त्यस्को व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण गठन प्रक्रिया सम्पन्न हुन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जानकारी दिए ।

अब छिट्टै यातायात प्राधिकरण गठन भइसक्ने गरी सम्पूर्ण प्रक्रियाको काम भइरहेको उनले बताए । ‘यातायात क्षेत्रलाई व्यवस्थित गर्दै सञ्चालन गर्न प्राधिकरण गठनको प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘छलफल भइरहेको छ । अब छिट्टै टुङ्ग्याएर यातायात प्राधिकरण गठन गर्छाैं ।’

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रको यातायात क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरण लाग्ने अधिकारीले बताए । उपत्यकाभित्र चल्ने सवारीसाधनको भाडा निर्धारण, सवारीसाधन दर्ता, रुट परमिट अनुमति, निश्चित समयभित्र सञ्चालन र अपडाउन गर्नुपर्ने व्यवस्था प्राधिकरणले कडाइपूर्वक लागू गर्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यकाको यातायात क्षेत्रलाई व्यवस्थित गर्दै प्राधिकरणलाई अरु प्रदेश तहका यातायात विभाग कार्यालयमा पनि लागू गर्ने तयारी छ । ‘प्राधिकरण गठनपछि त्यसले पहिलो चरणमा काठमाडौं भ्यालीको यातायातलाई व्यवस्थित गर्नेछ,’ उनले भने, ‘त्यसपछि उपत्यकाबाट पाठ सिक्दै प्रदेश तहमा लागू गर्नेछौं ।’

सरकारले ३०० विद्युतीय सवारीको सञ्चालन प्राधिकरणअन्तर्गत नै गर्नेछ । यसअघि यातायात क्षेत्रमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गर्दै यातायात क्षेत्रलाई थप व्यवस्थित गर्न प्राधिकरणले अधिकार पाएको छ ।

प्राधिकरणको गठन, काम, कर्तव्य र अधिकार केकस्तो रहने भन्ने विषयमा अध्ययनका लागि समिति गठन गरिएको छ । उक्त समितिले विस्तृत छलफल गरेर सुझाव समेटेर प्राधिकरण गठन प्रक्रियालाई पूर्णता दिइनेछ ।

प्राधिकरणमा सरकार र निजीक्षेत्रको समेत सहभागिता हुनेछ ।