माग बढ्न थालेपछि तेब्बर क्षमतामा उत्पादन गर्दै स्वदेशी वाइन

हार्डड्रिङ्क्स नपिउने पुरुषहरुको रोजाइमा पनि वाइन पर्न थालेपछि स्वदेशी उद्योगमा लगानी बढ्दै गएको हो । महिलाले पनि वाइनको प्रयोग गर्ने क्रम बढेपछि स्वदेशी वाइन उत्पादन बढ्दै गएको छ ।

सामान्य जमघट होस् या ठूलै भोज, मदिराको माग बढ्न थालेको छ । मदिराको माग बढेसँगै मदिरा उत्पादनका प्रकार पनि बढ्न थालेका छन् । केहि वर्ष अघिसम्म वाइनको बजार सामान्य रहेपनि अहिले साना लगानीका वाइन उद्योग बढ्दै गएका छन् ।

पुरुषमा मदिरा कल्चर बढेसँगै महिलाहरुमा पनि वाइन कल्चर बढ्दो देखिन्छ । हार्डड्रिङ्क्स नपिउने पुरुषहरुको रोजाइमा पनि वाइन पर्न थालेपछि स्वदेशी उद्योगमा लगानी बढ्दै गएको हो । महिलाले पनि वाइनको प्रयोग गर्ने क्रम बढेपछि स्वदेशी वाइन उत्पादन बढ्दै गएको छ ।

बजार विस्तारसँगै स्वदेशी उद्योगले पनि क्षमता बढाइरहेका छन् । वार्षिक १५ हजार बोटल वाइन उत्पादन सुरु गरेको मकालु वाइन इन्डस्ट्रिज प्रालिले क्षमता बढाएर अहिले वार्षिक साढे तीन लाख बोटल उत्पादन पु¥याएको छ । वन जङ्गलमा पाइने चुत्रो र ऐंसेलुको प्रयोग गरेर सङ्खुवासभामा उद्योग सञ्चालन गरेको मकालुले हिन्वा ब्राण्डमा रेड र ह्वाइट वाइन उत्पादन गर्छ ।

नेपालमा बहुराष्ट्रिय कम्पनीका ब्राण्ड आउने क्रमसँगै स्वदेशी उद्योगीले समेत लगानी बढाउँदै आएका छन् । चेसुङ र डिसेन्ट ब्राण्डका वाइन तयार गर्दै आएको तीनजुरे वाइन इन्डस्ट्रिज प्रालिले पनि उत्पादन क्षमता बढाएको छ । तीनजुरेले एक लाख बोटलबाट तेब्बर वृद्धि गरेर अहिले वार्षिक तीन लाख बोटल उत्पादन गर्न थालेको छ ।

मकालु, तिनजुरेमात्र नभएर डिभाइन, स्नो म्यान वाइनरी प्रालि, महाकाली वाइन प्रालि, डाँडाघरे , युनिभर्सल वाइन इन्डस्ट्रिज, रोयल काठमान्डु हिमालय वेभरज प्रालि लगायतका डेढ दर्जन कम्पनीले क्रमशः उत्पादन क्षमता बढाउँदै गएका छन् ।

उद्योगीका अनुसार बजारको आधा हिस्सा स्वदेशी उत्पादनले ओगट्न थालेका छन् । नेपालमा बहुराष्ट्रिय कम्पनीका ब्राण्ड आउने क्रमसँगै स्वदेशी उद्योगीले समेत लगानी बढाउँदै आएका छन् । उद्योगीले नासपति, अङ्गुर लगायतका फलफूल, हर्बल, हनी र यार्सागुम्बा सम्मिश्रण गरेर उत्पादन गरेको वाइन लोकप्रिय बन्दै गएका छन् ।

पश्चिमी संस्कृति, खुला अर्थतन्त्रको बढ्दो प्रभाव र नेपालीहरुको वैदेशिक भ्रमण र रोजगार वृद्धिले पनि मदिरा कल्चर बढ्दै गएको छ ।

वाइन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको डिभाइन वाइनका सन्तोष खड्का बताउँछन् । केही कम्पनीले विदेश समेत निर्यात गर्न थालेका छन् । डिभाइनले नर्वेमा निर्यात गरिरहेको छ । व्यक्तिको आम्दानीअनुसार न्यून मूल्यदेखि निकै महँगा मदिरा नेपाली बजारमा छन् । स्वदेशीमात्र नभएर विदेशी ब्राण्डेण्ड ह्विस्की तथा वाइनले पनि नेपाली बजारमा बाक्लै उपस्थिति जनाइहेका छन् ।

नेपालमा छिमेकी मुलुक भारत, चीनसहित फ्रान्स, स्कटल्यान्ड, अमेरिका, अस्ट्रेलिया युरोपियन मुुलुक स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली हुँदै साउथ अफ्रिकासहित दर्जनौं देशबाट चर्चित ब्रान्डका रक्सी आउने गरेका छन् । घरेलु, स्वदेशी उद्योगले उत्पादन गरेका र विदेशबाट आयात गरेका ब्रान्डेड रक्सीले पनि आ–आफ्नै वर्चस्व जमाएका छन् ।