टेकु–कालिमाटी पुल भत्काउन नपर्ने

क्र्याक भएको भाग तोडेर नयाँ प्राविधिक अध्ययनअनुसार बनाउँदा एक डेढ करोड रूपैयाँ खर्च हुने मन्त्री महासेठले बताए । प्राविधिक त्रुटि र कमसल निर्माण सामग्रीको प्रयोग भएको भेटिएपछि यसअघि नै सडक विभागले पुल प्रयोग नगर्न निर्देशन दिएको थियो ।

काठमाडौं । टेकु–कालीमाटी पुल भत्काउन नपर्ने भएको छ । टेस्टिङका क्रममा देखिएको चर्केकाे (क्र्याक) भाग नयाँ प्राविधिक अध्ययनअनुसार बनाएर पुल सञ्चालन ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले क्यापिटल नेपाललाई जानकारी दिए । उनले पुल सबै भत्काउने नभई कमजोर र क्र्याक देखिएको भागलाई पुनः अध्ययन गरी बनाउन निर्देशन दिइसकेको बताए ।

उनले निर्माणका क्रममा ठेकेदार कम्पनीले लापरबाही र निर्देशनविपरीत काम अघि बढाउँदा आफूले पुल ‘ह्यान्डओभर’ नलिएको बताए । ‘निर्माणका क्रममा ठेकेदार कम्पनीले लापरबाही गरेकै हो । निर्देशनविपरीत काम अघि बढाएकै हो,’ उनले भने, ‘अब बनिसकेपछि सबै भत्काउने होइन । जुन परीक्षण गर्दा क्र्याक देखिएको छ त्यो भाग नयाँ टेक्नोलोजीअनुसार अध्ययन गरी मिलाउँछौं । छिटै बनाउन मैले निर्देशन दिइसकेको छु ।’

क्र्याक भएको भाग तोडेर नयाँ प्राविधिक अध्ययनअनुसार बनाउँदा एक डेढ करोड रूपैयाँ खर्च हुने मन्त्री महासेठले बताए । प्राविधिक त्रुटि र कमसल निर्माण सामग्रीको प्रयोग भएको भेटिएपछि यसअघि नै सडक विभागले पुल प्रयोग नगर्न निर्देशन दिएको थियो । यसअघि निर्माणका क्रममा प्राविधिक नै नराखी ढलान गरेको भन्दै पुल सञ्चालन आफैले रोकेको मन्त्री महासेठले बताए ।

निर्माण सम्पन्न भए पनि ६२ मिटर लामो पुल प्राविधिक हिसाबले अत्यन्तै कमजोर पाइएकाले पुल सञ्चालनमा रोक लगाइएको थियो । तर, सञ्चालनमा रोक लगाए पनि अहिले दैनिक रुपमा यातायातका साधन निर्वाध गुडिरहेका छन् ।

यसअघि सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै बेला भत्कन सक्ने भन्दै सञ्चालनमा रोक लगाउन पत्राचार गरेको थियो । २०७१ सालमा पप्पु कन्ट्रक्सनले निर्माण सम्झौता पाएको पुल २०७४ मंसिरमा सम्पन्न गरेको थियो । एसियाली विकास बैङ्क (एडीबी) को २० करोड १३ लाख रूपैयाँ ऋण सहयोगमा पुल निर्माण गरिएको हो ।

पप्पुले सम्झौताको एक वर्ष ढिला गरी पुल निर्माण सम्पन्न गरे पनि प्राविधिक रुपमा त्रुटि देखिएपछि सञ्चालनमा आउन सकेको थिएन ।