दुई दशकपछि मेलम्चीको ब्रेकथ्रु 

ब्रेकथ्रुपछि चार ठाउँबाट फिनिसिङको काम सुरु हुनेछ । आगामी ३ महिनाभित्र काम सक्नेगरी दैनिक ५० मिटरका दरले फिनिसिङको काम भइरहेको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले जानकारी दिए ।

काठमाडाैं उपत्यकाबासीको तिर्खा मेटाउने बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्भेदनको काम सकिएको छ । सिन्धु—ग्याल्थुम खण्डअन्तर्गतकोे सुरुङ खन्ने काम सकिएपछि सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर लामो सुरुङमार्ग सम्पन्न भएको जानकारी गराइएको हो । पत्रकार सम्मेलनका अवसरमा खानेपानी, सरसफाइ तथा सिँचाइ मन्त्री बिना मगरले ब्रेकथु्रपछिका बाँकी काम आगामी असारभित्र सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरिन् ।

ब्रेकथ्रुपछि चार ठाउँबाट फिनिसिङको काम सुरु हुनेछ । आगामी ३ महिनाभित्र काम सक्नेगरी दैनिक ५० मिटरका दरले फिनिसिङको काम भइरहेको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले जानकारी दिए । ‘तीन महिनाभित्र फिनिसिङ, टनेल भेन्टिलेसन, पाइप विस्तार तथा अस्थायी पाइप लाइन राख्ने काम सकिन्छ’ उनले भने, ‘टनेलको आउटगेटबाट पानी प्रशोधन केन्द्रसम्म २ सय ५० मिटर पाइप जडान हुन्छ ।’ उनका अनुसार १ महिनाभित्र अस्थायी पाइप लाइन विस्तार हुने बताए ।

उनले ३ महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने र १५ दिनभित्र परीक्षण गरिने बताए । हालसम्म कुल २७ अर्ब ७६ करोडमध्ये २४ अर्ब २२ करोड रुपैँया खर्चेर ब्रेकथु्रको काम सकिएको आयोजनाले जनाएको छ । सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गतवर्ष नै जोडिएको थियो भने ग्याल्थुम–अम्बाथान खण्ड गत पुसमा ब्रेकथु्र भएको थियो ।