नेपालको पर्यटन अर्को उचाइमा पुग्दै छ – बोर्डका सीईओ जोशीसँगको अन्तर्वार्ता

अहिलेको संरचनामा केही सुधार गर्नुपर्छ । त्यो आजको आवश्यकता हो । यसमा मलाई लाग्छ, एक त अस्थिर सरकार भएरै होला । अहिले स्थिर सरकार आएको छ, अब चाहिँ पुन संरचनाको काम अघि बढ्छ । सबै पुन:संरचना गर्न आवश्यक छैन । विशेषगरी, दुई तीन ओटा मात्रै परिमार्जन आवश्यक छ ।

अत्यन्तै कठिनपूर्ण समयमा पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्हालेका दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रलाई निकै सुधारेका छन् । सीईओको जिम्मेवारी सम्हालेको साढे दुई वर्षमै १० लाखभन्दा बढी पर्यटक नेपाल ल्याउन सफल जोशीसँग क्यापिटल नेपालका संवाददाता सुवास योञ्जनले गरेको कुराकानी : 

विनाशकारी भूकम्प, तराई आन्दोलन र नाकाबन्दी, सगरमाथामा भएको दुर्घटना, अन्नपूर्ण पदयात्रामा आएको हिउँपहिरो, उड्डयनमा कालोसूची प्रकरणले नेपालको पर्यटनक्षेत्र तहस–नहस भएका बेला तपाईं बोर्डको सीईओ बनेर आउनुभएको थियो । यो दुई वर्षभित्र त्यो क्षतिलाई कसरी ‘रिभाइब’ गर्नुभयो ?

तपाईंले भनेको कुरा एकदम सही हो । म एकदमै ‘क्रिटिकल सिचुएसन’मा सीईओ बनेर आएको हुँ । त्यो बेला देशको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको थियो । त्यो बेला झन्डै तीन लाख मात्रै पर्यटन नेपाल आउने अनुमान गरिएको थियो ।
भूकम्प, नाकाबन्दी र अन्नपूर्ण क्षेत्रमा गएको पहिरोले पर्यटन क्षेत्र पूर्ण रुपमा तहसनहस भएको थियो । ती घटना नेपालको इतिहासमा पर्यटन क्षेत्रमा घटेका ठूला दुर्घटना थिए । विदेशबाट पर्यटक आउने र नेपाललाई माया गर्नेहरुले पनि त्यस्तो राम्रो देश ध्वस्त भयो भनेर चिन्ता व्यक्त गरेर ‘नेगेटिभ’ प्रचार गरिरहेका थिए । त्यो अवस्थालाई चिर्न हामीले चार–पाँचओटा नयाँ कामहरु गरेका छौँ ।

एघार ओटा राष्ट्रिय निकुञ्जमध्ये एउटा लाङटाङ मात्र भूकम्पले प्रभावित पारेको थियो, अरु सुरक्षित छन् र ३५–३६ ओटा ट्रेकिङ रुटमध्ये एक दुईओटा मात्र प्रभावित भएका हुन् भन्ने सन्देश फैलायौँ । नेपालका ७५ जिल्लामध्ये ८ देखि १० ओटा जिल्ला मात्र प्रभावित भएका हुन् भन्ने इन्फोग्राफ नै बनाएर प्रचारमा लाग्यौँ ।

नेपालको पर्यटन इतिहासमा पहिलो पटक विदेशी मिडिया र सेलिब्रेटीलाई नेपाल बोलाएर मिडिया क्याम्पेन सञ्चालन ग¥यौँ । र नेपाल भ्रमण गराएर नेपालका केही जिल्ला मात्र भूकम्पले प्रभाव पारेको हो भन्ने सन्देश विश्वभर फैलाउन सफल भयौँ । जसबाट नेपालका पर्यटकीय स्थलहरु सुरक्षित छन्, ढुक्कसँग नेपाल आए हुन्छ भन्ने सन्देश विश्वभर फैलियो र पर्यटकहरु धमाधम नेपाल आउन थाले ।

त्यस्तै पर्यटकीय क्षेत्रलाई ‘प्रमोट’ गर्ने उद्देश्यले वेबसाइट निर्माण ग¥यौँ । जुन वेबसाइटमा नेपालका पर्यटकीय स्थलहरुका बारेमा जानकारी र तस्बिरहरु राखेका छौँ । त्यो पनि अत्यन्तै प्रभावकारी बन्यो । त्यस्तै गैरआवसीय नेपाली सङ्घ (एनआरएन)सँग पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक सम्झौता ग¥यौँ । उहाँहरुको ७० ओटा देशसँग नेटवर्किङ छ, त्यसलाई परिचालन ग¥यौँ । अर्को ‘नेपाल नाव’ भन्ने अभियान सञ्चालन ग¥यौँ र नेपाल आउने पर्यटकहरुलाई त्यो ‘प्लेटफम’ दिएर फोटोहरु फेसबुक र ट्वीटरमा सेयर गर्न लगायौँ, त्यसबाट पनि नेपाललाई ठूलो सहयोग पुग्यो । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सधैँ ‘कन्फ्लिक्ट’ हुने गरेको थियो, तर म आएपछि त्यो अन्त्य गरेँ र सबैसँग सहकार्य गरी काम गरिरहेको छु । हामी जहाँ गयौँ, त्यहाँ निजी क्षेत्रलाई लिएर गयौँ । किनकि पर्यटन क्षेत्रमा विकास गर्न निजी क्षेत्रको ठूलो भूमिका छ । उहाँहरुसँगको सहकार्यलाई एकदम मजबुत बनायौँ, र यही बीचमा पनि करिब करिब ८० ओटा ट्राभल ट्रेड फेस्ट, विश्वका ७०–८० ओटा सिटीमा सेल्स मिसन सञ्चालन ग¥यौँ । जहाँ हामीले एक वर्षमा कम्तीमा २ सय ३५–४० गरेर टोटल पाँच सय जस्तो टुर अपरेटर, होटल, एयरलाइन्स, ट्राभल बिजनेस प्लाटफमहरु क्रियट गर्योँ । नयाँ मार्केट एक्सप्लोर गरायौँ,– जसले भियतनाम, म्यानमार, श्रीलङ्का, यूएसए तथा युकेबाट नयाँ पर्यटक भित्र्याउन सक्यौँ । र, सन् २०१७ ऐतिहासिक वर्ष रह्यो, किनकि करिब १० लाख पर्यटक भित्र्याउन सफल भयौँ ।

पर्यटन पुनरुत्थान गर्न सन् २०१६ लाई ‘इयर अफ सर्भाइभल’ र सन् २०१७ लाई ‘इयर अफ रिभाइभल’का रुपमा काम गर्ने योजना बनाउनुभएको थियो । त्यो कति सफल भयो ?

त्यो एकदमै सफल भएको पाएको छु । किनभने मेरो आकलन के थियो भने, करिब–करिब तीन, साढे तीन लाख पर्यटक २०१५ मा आएका थिए, अनि २०१६ मा आठ लाख त पु¥याउन सकिँदैन भन्ने लागिरहेको थियो, त्यही बेला भूकम्प, नाकाबन्दी र राजनीतिक उतार–चढाव थियो । ती सबै घटनाक्रमले हामीलाई निकै गाह्रो परिरहेको थियो । मैले त्यसबेला के आँकलन गरेको थिएँ भने, आठ लाख नपु¥याए पनि करिब साढे ६ लाख पु¥यायौँ भने पर्यटन उद्योगलाई केही न केही राहत पुग्छ र उद्योग ‘सर्भाइभ’ गर्छ । यस हिसाबले ‘इयर अफ सर्भाइभल’को आन्तरिक कार्ययोजना बनाएको थिएँ । आखिरमा ७ लाख ५६ हजार पर्यटक आए, र त्यसले अत्यन्तै ऊर्जा दियो र २०१७ मा हामी अझ एग्रेसिभ भएर लाग्यौँ ।

बोर्डको स्थापनादेखि नै यसको ऐनका विषयमा पनि बहस चल्दै आएको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा (९) को उपदफा (२) खण्ड ६ मा उल्लिखित बोर्डको कार्यकारिणी संरचनाकै कारण समस्या भएको हो । विज्ञले पुनः संरचना गर्न पटकपटक सुझाएका छन् । तर अहिलेसम्म काम अघि बढेको छैन । किन ?

अहिलेको संरचनामा केही सुधार गर्नुपर्छ । त्यो आजको आवश्यकता हो । यसमा मलाई लाग्छ, एक त अस्थिर सरकार भएरै होला । अहिले स्थिर सरकार आएको छ, अब चाहिँ पुन संरचनाको काम अघि बढ्छ । सबै पुन संरचना गर्न आवश्यक छैन । विशेषगरी, दुई तीन ओटा मात्रै परिमार्जन आवश्यक छ ।

अब प्रादेशिक संरचनामा देश अघि बढेपछि बोर्डको प्रदेश सँगको लिङ्क के रहने भन्ने मात्र हो । अब आउने प्रादेशिक सरकारसँग त्यो क्षेत्रमा पर्यटक प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको भूमिका के रहने अथवा लिङ्क कस्तो हुने त्यो एउटा स्पष्ट हुन जरुरी छ । त्यसका लागि पुन संरचना आवश्यक छ । अर्को, अगाडिदेखि नै उठेको र समधान नभएको विषय के हो भने नेपाल पर्यटन बोर्ड पब्लिक पार्टनरसिप अप्रोचमा आयो, यसको मुख्य काम के थियो भने नेपालको पर्यटनलाई प्रमोसन गर्ने, व्यवसाय प्रवद्र्धन गर्ने व्यवसायीसँग सहकार्य गर्ने मात्र थियो । तर उद्देश्यहरु अथाह भरिदिएको थियो । त्यो उद्देश्यअनुसार यसको म्यान्डेट र क्यापासिटी छैन । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्ने विषयमा उनीहरुको आधार केके मान्ने र कस्ता कस्तालाई समेट्ने भन्ने स्पष्ट छैन । कहिलेकाहीँ ट्रेकिङबाट तीन जना र होटलबाट दुई जना समेट्दा अन्य क्षेत्रको छुट्ने गरेको छ । यसलाई तत्काल छुट्याउन आवश्यक छ । संस्थागत सहभागिता आजको आवश्यकता हो ।

बोर्डले पर्यटन प्रवद्र्धन भन्दै विभिन्न ३० प्रकारका प्रचार पुस्तिका छाप्ने गरेको छ । बोर्डले अघिल्लो वर्ष प्रवद्र्धनात्मक सामग्री उत्पादन शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सन् २०१८ का लागि भने सो शीर्षकमा एक करोड बजेट विनियोजन गरेको छ । बोर्ड अझै किन प्रविधिमैत्री बन्न नसकेको ?

यसमा केही सत्यता छ । हामी धेरै डिजिटल मार्केट फ्रेन्डली भइसकेका छैनौँ । हुनुपर्ने हो । आवश्यकता हो । तर भइसकेका छैनौँ । त्यो हामीले स्विकार्नुपर्छ । तर हाम्रो चाहना डिजिटल मार्केटमा जाने नै हो । पुस्तक र प्रचार सामाग्री छपाइका लागि २०१५÷१६ मा १ करोड ८५ लाख थियो, २०१७ मा एक करोड ५० लाख र अहिले एक करोडमा खर्च झारेका छौँ र आउने बर्षमा अझ कममा झार्ने कोसिसमा हामी छौँ । अहिले डिजिटल मार्केटमा लगानी ह्वात्तै बढाएका छौँ, पहिला हामी जिरोमा थियौँ । हाम्रो उद्योग पनि डिजिटल मैत्री नभएको र म्यानपावर नभएकै कारण ढिला भएको हो । अब हामी डिजिटल मार्केटमै जान्छाँै ।

२०१७ मा करिब १० लाख पर्यटन नेपाल भ्रमणमा आएका थिए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यो पूरा गर्न के के गर्नुपर्छ ?

सबैभन्दा ठूलो कुरा पूर्वधार निर्माण नै हो । हामीले मन्त्रीज्यूलाई पनि प्राथामिकतामा राख्न भनिसकेका छौँ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टाबाट २१ घण्टा सुचारु गर्दै छौँ । अफ सिजनमा पनि नेपालमा घुम्न आउने वातावरण बनाउन सक्यौं भने नम्बर बढाउन सक्छौँ । नेपाल आउनै पर्ने कारण के त भन्ने छु्ट्टै मार्केटिङका लागि ‘स्टाटेजी’ तयारी गरिहेका छौँ, एक महिनामा पूरा हुन्छ । नेपाल ‘फर हिरो एक्सप्रेन्सी’ भन्ने लाइनमा मार्केटिङ ‘स्टाटेजी’ तयार पार्दै छौँ ।

पर्यटन बोर्डको ८० देखि ९० प्रतिशत समयचाहिँ मेला र महोत्सवमै सकिन्छ भन्ने कुरा आएको छ ? यसमा तपाईंहरुले पनि आवाज उठाउनुभएको हो ? यस्मा केही परिवर्तन भयो ?

हो, यसले पर्यटन प्रवद्र्धन गर्न अप्ठ्यारो भएको छ । यसलाई परिवर्तन गर्न जरुरी छ । तर, अहिलेसम्म त्यो भएको छैन । बजेटको हिसावले कुल बजेटको कुल बजेटको ८ देखि १० प्रतिशत मात्र खर्च हुने गरे पनि समय धेरै खर्च हुने गरेको छ ।

यसलाई कसरी परिवर्तन गर्ने त ?

यसमा पर्यटन बोर्डको कार्यक्रममै स्वीकृत भएकोबाहेक अन्यमा सहभागी नहुने र फाइनान्सियल पनि सहभागी हुन नपर्ने ‘म्यान्डेट’ आउन जरुरी छ । नेपालीको नो भन्ने बानी नभएकै कारण समस्या भएको छ । अब हामीले नो भन्न सक्नुपर्छ ।
तपार्इं सीईओ भएर आएपछि गरेका मुख्य–मुख्य काम के हो ?

परिणामका हिसाबले दुई वर्षमा पर्यटकको सङ्ख्या डबल पु¥याउन सकियो । यही हो, सबैभन्दा ठूलो उपलब्धि । पहिलेभन्दा अहिले खर्च गर्ने पर्यटक पनि बढेका छन् । म आउँदा प्रतिदिन ४७ डलर खर्च गर्नेहरु थिए भने अहिले ६५ डलर खर्च गर्न भइसकेका छन् । पर्यटनसँग सम्बन्धित सबै निकायसँग सम्बन्ध राम्रो बनायौं । नेपालकै इतिहासमा घुमफिर वर्ष मनायौं । हिमालय ट्राभल मार्ट ग¥यौँ । अन्तर्राष्ट्रिय ‘मेगा क्याम्पेन’हरु ग¥यौं । नयाँ मार्केटहरु खोजी गर्यौं । अफ सिजनमा पनि पर्यटक बढाउन विभिन्न क्याम्पेनहरु सञ्चालन ग¥यौं । डिजिटल मोर्केटिङमा फोकस ग¥यौं । होमस्टे ट्राभल मार्ट सञ्चालन ग¥यौं । पर्यटनलाई व्यवसाय मार्फत विविधिकरण गर्नुपर्छ, भन्ने अभियान सञ्चालन ग¥यौं ।