घलेम्दीखोलाको उत्पादन साउनभित्र

आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ । आयोजनाका लागि चाहिने निर्माण सामग्री भारतबाट आइसकेको छ । आगामी साउनसम्म आयोजनाबाट विद्युत् उत्पादन हुन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माण भइरहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी साउनसम्म विद्युत् उत्पादन सुरु गर्ने भएको छ । अहिलेसम्म आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक एनबी अधिकारीले जानकारी दिए ।

उनले आगामी साउनसम्म सेयर निष्कासन गर्ने तयारी रहेको बताए । ‘आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ । आयोजनाका लागि चाहिने निर्माण सामग्री भारतबाट आइसकेको छ’ उनले भने, ‘आगामी साउनसम्म आयोजनाबाट विद्युत् उत्पादन हुन्छ ।’

५ मेगावाट क्षमताको उक्त आयोजना निर्माणको भारतीय कम्पनी स्लोबेल इनर्जीले इलेक्ट्रो मेकानिकल, स्वदेशी कम्पनी सिभिल वर्ल्ड वाइडले कन्स्ट्रक्सनको काम र सीई हाइड्रो कम्पनीले हाइड्रो मेकानिकलको काम गर्दै आएका छन् । अहिलेसम्म आयोजनाको मुख्य ड्याम, पावर हाउस निर्माण, बाँधदेखि पोखरीसम्म नहर निर्माण लगायतका काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

लुम्बिनी विकास बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कको सह–वित्तीय लगानीमा निर्माण हुन आयोजनाका लागि अनुमानित लागत ९४ करोड रुपैयाँ छ । हालसम्म आयोजना निर्माणका लागि ७० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको अधिकारीले बताए । सुुरुमा ८१ करोड लागतको अनुमान गरिए पनि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र समयमै निर्माण सामग्री आपूर्ति नभएका कारण निर्माणमा ढिलाई भर्इ लागत बढ्न गएको उनले बताए ।

विसं २०७१ सालमा आयोजनाले निर्माणको अनुमति पाएको थियो । आयोजनाको जेनेरेसन लाइसेन्स आइसकेको र डेढ महिनापछि सेयर निष्कासन गर्ने तयारी रहेको अधिकारीको भनाइ छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।