सिंगटीखोला जलविद्युत आयोजनाको टनेल निर्माणको काम अन्तिम चरणमा

अहिले टनेल निर्माणको काम झन्डै अन्तिम फेजमा छ’ सापकोटाले भने, ‘अहिलसम्म आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । त्यो बाहेक सिभिलतर्फको काम पनि तीव्र गतिमा भइरहेको छ ।’ आयोजना काम किन ढिला भइरहेको छ भन्ने प्रश्नमा उनले नेपालका अरु आयोजनामध्ये निर्माणका हिसावले सवैभन्दा सफल आयोजना रहेको बताए ।

दोलखामा निर्माणाधीन २५ मेगावाट क्षमताको सिङ्गटीखोला जलविद्युत आयोजना टनेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ हजार ९ सय मिटर टनेलमध्ये २५ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । सिङ्गटीखोला आयोजनामा हेडबक्स, ग्राभेल, बाँध निर्माणको काम ८० प्रतिशत सकिएको छ । त्यस्तै विद्युत गृह निर्माण, पेनस्टकको काम पनि तीब्र रुपमा अगाडी बढेको आयोजनाका प्रवन्धक मनोहरी सापकोटाले क्यापिटल नेपाललाई जानकारी दिए ।

अहिले टनेल निर्माणको काम झन्डै अन्तिम फेजमा छ’ सापकोटाले भने, ‘अहिलसम्म आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । त्यो बाहेक सिभिलतर्फको काम पनि तीव्र गतिमा भइरहेको छ ।’ आयोजना काम किन ढिला भइरहेको छ भन्ने प्रश्नमा उनले नेपालका अरु आयोजनामध्ये निर्माणका हिसावले सवैभन्दा सफल आयोजना रहेको बताए । ‘आयोजनाको काममा कत्ति पनि ढिला भएको छैन’ उनले भने, ‘अरु आयोजनाको तुलनामा निर्माणको काममा सफल आयोजना हो ।’

आरजे एण्ड सुर्य कम्पनीले निर्माण गरिरहेको आयोजनामा चार ठाउँबाट टनेल बनाउने काम भइरहेको छ । वि.सं २०६७ सालमा आयोजनाले निर्माणको अनुमति पाएको थियो । २०७५ को चैत मसान्तसम्म विद्युत् उत्पादन गरेर बजारमा ल्याउने योजना रहेको सापकोटाले बताए । कुनै प्राविधिक समस्या नआएको खण्डमा निर्माण कार्य यहि रफ्तारमा भइरहे एक वर्षभित्र विद्युत उत्पादन सुरु गरिने उनले बताए । ‘काम भइरहेको छ । यहि गतिमा हुने हो भने एक बर्षमा निर्माणको काम सक्छौ’ उनले भने ।

सुरुमा विद्युत खरिद सम्झौता (पीपीए) १६ मेगावाटमा गरेको र आयोजनाको थप अध्ययनपछि २५ मेगावाट पीपीए सम्झौता भएको जनाइएको छ । सिभिल वर्क र हाइड्रो मेकानिकल क्रिमको ठेक्का क्रमशः रामेछाप शेर्पा कन्ट्रकसन प्रालि र क्रिम हाइडल प्रालि बुटवलले पाएका छन । त्यस्तै बाटो निर्माणमा आरजे कन्ट्रकसन, इलेक्ट्रो मेकानिकलको क्विकाइन एलोन्स कम्पनीले पाएका छन । सिङ्गटी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत सिङ्गटी सव—स्टेसनमा जोडिने छ ।

तर, विगत ७ बर्ष अघि सव—स्टेशन निर्माणको काम अलपत्र बनेको छ । आयोजना सम्पन्न हुँदा सम्म सिङ्गटी—लामो साँघु प्रशारण लाइन बनाएर प्राधिकरणले ४५ प्रतिशत जरिवाना तिर्नेपर्ने हुन्छ । प्रशारण लाइन बनाइसक्दा आयोजना सम्पन्न नभए आयोजनाले प्राधिकरणलाई २८ प्रतिशत जरिवाना तिर्नुपर्ने गरी पीपीए गरिएको उल्लेख छ ।