१२ अर्ब लगानीमा थपिए ४ नयाँ स्टिल उद्योग

व्यावसायिक घरानाले संयुक्त तथा एकल लगानीमा नयाँँ स्टिल उद्योग थपेका हुन् । कम्पनीहरुले थपिएका स्टिल उद्योगमा १२ अर्ब रुपैयाँ लगानी गर्दैै छन् ।

आत्मनिर्भरतर्फ उन्मुख स्टिल उद्योगमा चार नयाँ कम्पनी थपिएका छन् । व्यावसायिक घरानाले संयुक्त तथा एकल लगानीमा नयाँँ स्टिल उद्योग थपेका हुन् । कम्पनीहरुले थपिएका स्टिल उद्योगमा १२ अर्ब रुपैयाँ लगानी गर्दैै छन् ।

चाउचाउ, सिमेन्ट, अटोमोबाइल्स, खाद्यपदार्थलगायत उत्पादनमा चर्चित सारडा ग्रुप र नन्दकिशोर राठी समूह मिलेर विराटनगरमा ४ अर्ब रुपैयाँको लागानीमा प्रिमियर स्टिल उद्योग सञ्चालमा ल्याउँदै छन् । विराटनगरमै आरती स्टिल उद्योग सञ्चालनमा आउँदै छ । यसमा सम्पूर्ण लगानी भारतीयहरुको छ । अहिले पनि विराटनगरमा आरती ब्रान्डमा रड उत्पादन हुँदैछ ।

उता भैरहवामा अर्घाखाँची सिमेन्टका लगानीकर्ता मिलेर २ अर्ब रुपैयाँको लागतमा श्री स्टिल उद्योग सञ्चालन गर्दै छन् । अर्घाखाँचीका लगानीकर्तामध्ये श्री स्टिलमा पशुपति मुरारका भने छैनन् । भैरहवामै माधव श्रेष्ठ समूहले पनि २ अर्ब रुपैयाँ लगानी गरेर नयाँ स्टिल उद्योग खोल्दै छ ।

सिमेन्ट उद्योगमा सफल मानिएका उद्योगी विष्णु न्यौपानेले वीरगन्जमा ४ अर्ब रुपैयाँको लगानीमा सर्वाेत्तम स्टिल उद्योग लगाएका छन् ।

नेपालमा ठूलठूला पूर्वाधार निर्माण भइरहेको र रडको माग अत्यधिक बढेकाले नयाँ उद्योग स्थापना गर्न लागेको सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले जानकारी दिए । ‘देशभित्र जलविद्युत्, सडकलगायत ठूलठूला पूर्वाधार निर्माण भइरहेको छ । त्यहाँ चाहिने कच्चा पदार्थमध्ये एक रड हो,’ उनले भने, ‘रडको माग बढ्दै गएकाले नयाँ उद्योग लगाएको हो ।’

सारडा ग्रुप सिमेन्ट उत्पादनमा पनि सफल भएको छ । यसले शिवम् ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । अबदेखि रड उत्पादनमा जान लागेको अध्यक्ष सारडाले जानकारी दिए ।

सौरभ समूहअन्तर्गत हाल सर्वाेत्तम सिमेन्ट उत्पादन भइरहेकोमा अबदेखि रडसमेत उत्पादन हुने भएको छ । सौरभ समूह बनाएर उत्पादनमूलक क्षेत्रमा आक्रामकरुपमा अघि बढेको अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । ‘केही समय अघिदेखि सिमेन्ट उत्पादन बजारमा ल्याएका छौं,’ न्यौपानेले भने, ‘अबको ६ महिनाभित्र सर्वोत्तम ब्रान्डमा रडसमेत ल्याउने योजना बनाएका छौं ।’

अहिले उद्योगको पूर्वाधार निर्माण भइरहेको छ । २०७५ सालभित्र चार ओटै रड उद्योग सञ्चालनमा आउने छन् ।

अहिले चार ओटै स्टिल उद्योगको पूर्वाधार निर्माण भइरहेको छ । आगमी ६ महिनादेखि एक वर्षसम्म सबै उद्योग सञ्चालनमा आउँदै छन् । स्टिल उद्योगको बजार बढ्दै गएपछि उद्योगीहरु यतातिर आकर्षित भएका हुन् ।