चिनीको मूल्य घट्यो तर, किन घटेन बिस्कुट र चकलेटको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिटन ३ सय ४ डलरमा आइपुग्दा पनि चिनीलाई मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादन गरिने वस्तुको मूल्यमा केही कमी नआएको पाइएको हो ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य निरन्तर ओरालो लागे पनि चिनीबाट बन्ने वस्तुको मूल्य एक रुपैयाँ पनि घटेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिटन ३ सय ४ डलरमा आइपुग्दा पनि चिनीलाई मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादन गरिने वस्तुको मूल्यमा केही कमी नआएको पाइएको हो ।

चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर बन्ने बिस्कुट, चकलेट, ग्लुकोज, चिसो पेय पदार्थ, मिठाईलगायत खानेकुराको मूल्यमा केही कमी नआएको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमिल्सेनाले जानकारी दिए ।‘दैनिक उपभोग्य वस्तुको मूल्यमा कुनै फरक परेको छैन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘तर, बजारमा चिनीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।’

विश्व बजारमा तीन महिनादेखि चिनीको मूल्य निरन्तर ओरालो लागिरहेको विभिन्न तथ्याङ्कले जनाएको छ । गत डिसेम्बरमा विश्व बजारमा चिनीको मूल्य तीन सय ९३ दशमलव ९५ डलर थियो । त्यसैगरी, जनवरीमा तीन सय ९७ दशमलव ४०, फेब्रअरीमा तीन सय ५६ दशमलव ५५, मार्चमा तीन सय ६६ दशमलव ९० र अहिले अप्रिलमा तीन सय ४७ डलरमा आइपुगेको छ ।

त्यसैगरी, बजारमा चिनीको मूल्य हाल प्रतिकेजी ६५ देखि ७० रुपैयाँमा आइसकेको छ । तर, चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग भई उत्पादन भएका वस्तुको मूल्य नघटेको उपभोक्तावादी संस्थाहरु बताउँछन् ।

आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौड्यालले चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादित वस्तुको मूल्यमा ध्यान नगएको स्वीकार गरे । ‘यसमा अहिलेसम्म हाम्रो ध्यान गएको थिएन,’ प्रवक्ता पौड्यालले भने, ‘अब यसलाई नजिकबाट नियाल्छौं ।’

‘आयातीत चिनीमध्ये ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थको रुपमै प्रयोग हुन्छ । भनेपछि चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर उत्पादन हुने सामग्रीको मूल्य घट्नुपर्छ,’ उनले भने, ‘यसलाई कसरी कानुनी दायरामा ल्याउने भन्ने बारेमा सरकार नीतिगत रुपमा अघि बढ्छ ।’

चिनीको मूल्य ओरालो लागेपछि बिस्कुट उद्योगी,  चक्लेट उत्पादन गर्ने कम्पनीले अस्वाभाविक रुपमा नाफा कमाइरहेको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘चिनीको मूल्य नघटेकै बेलामा उद्योगीले आफ्नो उत्पादनको मूल्य निर्धारण गरेका थिए,’ उनले भने, ‘तर, अहिले चिनीको मूल्य प्रतिटन ६० डलर घटिसकेको छ । तर, मूल्यमा कुनै परिवर्तन आएको छैन ।’

यो तीन महिनाको अवधिमा बिस्कुट, चकलेट उद्योग, पेय पदार्थ उत्पादक कम्पनीले मूल्य नघटाएर अस्वाभाविक नाफा कमाउँदै आएको महर्जनले बताए ।