ब्रोडलिङ्क, क्लासिक टेक, आइटेल र अलाइड नेट लिङ्कले प्राधिकरणलाई रोयल्टी बुझाउन आनाकानी गरिरहेका छन् ।
चार इन्टरनेट सेवा प्रदायक कम्पनीले रोयल्टी समयमै नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता खारेजीको प्रक्रिया थालेको छ । पटक पटक सूचना जारी गर्दा पनि रोयल्टी नबुझाउने ४ कम्पनीलाई अन्तिम पटक अवसर दिने र सो समयमा पनि नबुझाए दर्ता नै खारेज गर्ने प्राधिकरणले जनाएको छ । ब्रोडलिङ्क, क्लासिक टेक, आइटेल र अलाइड नेट लिङ्कले प्राधिकरणलाई रोयल्टी बुझाउन आनाकानी गरिरहेका छन् ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पटक पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाउने ४ कम्पनीलाई चेतावनी दिइसकेको र अझ एक पटक मौका दिने र सो समयमा पनि नबुझाए दर्ता नै खारेज हुने बताए । ‘हामीले पटक पटक बक्यौता रोयल्टी दाखिला गर्न आग्रह गरिरहेका छौं तर ४ कम्पनीले रोयल्टी बुझाउन आनाकानी गरिरहेका छन्,’ उनले भने ।
आठ इन्टरनेट सेवा प्रदायक कम्पनीले रोयल्टी नबुझाएपछि प्राधिकरणको ताकेतामा चार कम्पनीले बुझाएका थिए । प्राधिकरणका अनुसार रोयल्टी वापतको रकम बुझाउनेमा भायोनेट प्रालि, आईफोर टेक्नालोजिज प्रालि, आबीएसएस प्राइभेट लिमिटेड, नेटम्याक्स टेक्नोलोजिज प्रालिले मात्र रोयल्टी बापतको रकम बुझाएका छन् ।
प्राधिकरणले सूचना सार्वजनिक गरेको दुई हप्तापछि चार सेवा प्रदायकले रोयल्टी वापतको रकम बुझाउन थालेका हुन् ।
प्राधिकरणलाई रोयल्टी बापतको रकम बुझाएका इन्टरनेट सेवा प्रदायक कम्पनीमा भायोनेटले एक करोड ४२ लाख १३ हजार ७ सय, आईफोर टेक्नोलोजिजले एक लाख ४५ हजार रुपैयाँ, आबीएसएसले एक लाख ११ हजार पाँच सय १८ रुपैयाँ र नेट म्याक्स टेक्नोलोजिजले ८ लाख १३ हजार रुपैयाँमध्ये पाँच लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले दुई हप्ताअघि विभिन्न इन्टरनेट सेवा प्रदायकहरुलाई अनुमति पत्रको सर्तअनुसार आर्थिक वर्ष २०७३÷०७४ को रोयल्टी बापतको रकम बुझाउन ताकेता गरेको थियो ।