प्राधिकरणमा वर्ल्डलिङ्क र एनसेलविरुद्ध दर्जनाैं उजुरी

इन्टरनेटको गुणस्तर कमजोर भएको भन्दै पछिल्लो पटक विभिन्न सेवा प्रदायकविरुद्ध प्राधिकरणमा उजुरी पर्न थालेका छन् । उपभोक्तासँग अग्रिम पैसा लिने र सुविधा नदिने भएपछि उपभोक्ताले कारबाहीका लागि प्राधिकरणमा उजुरी दिन थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणमा चालू आर्थिक वर्षको ९ महिनासम्म चार दर्जनभन्दा बढी उजुरी परेका छन् ।

चर्चित नेपाली मोबाइल एप हाम्रो पात्रका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले वल्र्डलिङ्कको सुविधा राम्रो नभएको नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी दिए । प्राधिकरणले देवकोटाको उजुरीका आधारमा वल्र्डलिङ्कलाई उपभोक्ताको गुनासो सम्बोधन गर्न पत्राचार गर्यो । तर पनि वल्र्डलिङ्कको सुविधा सुध्रिएन । प्राधिकरणमा वल्र्डलिङ्कको सुविधा राम्रो नभएको र अग्रिम पैसा लिएर समयसम्म सेवा नदिएको दर्जन उजुरी परेका छन् ।

इन्टरनेटको गुणस्तर कमजोर भएको भन्दै पछिल्लो पटक विभिन्न सेवा प्रदायकविरुद्ध प्राधिकरणमा उजुरी पर्न थालेका छन् । उपभोक्तासँग अग्रिम पैसा लिने र सुविधा नदिने भएपछि उपभोक्ताले कारबाहीका लागि प्राधिकरणमा उजुरी दिन थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणमा चालू आर्थिक वर्षको ९ महिनासम्म चार दर्जनभन्दा बढी उजुरी परेका छन् । प्राधिकरणमा २ वर्षमा एक सय ३० उजुरी परेको प्राधिकरणले जनाएको छ । इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी उजुरी वल्र्डलिङ्कको रहेको छ ।

मोहन यादवले वल्र्डलिङ्कको डाटा सम्बन्धमा, प्रज्वल वादर र नीरज जोशीले पनि वल्र्डलिङ्कको सेवा राम्रो नभएको बारेमा उजुरी दिएका छन् । भोजराज अधिकारीले भने वल्र्डलिङ्कसँगको इन्टरनेट सम्झौताबमोजिमको सेवा तथा गुणस्तर नभएको सम्बन्धबारे प्रधिकरणमा उजुरी दिएका छन् ।

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका विरुद्ध पनि प्राधिकरणमा दर्जनभन्दा बढी उजुरी परेका छन् । प्राधिकरणमा परेको उजुरीमध्ये काममा ढिलाइ गरेको, एनसेल सापटी योजना अनलिमिटेड र एनसेल प्याक सेवाले उपभोक्ता ठगिएको साथै नेटवर्क नटिप्नेलगायत उजुरी परेका छन् ।

त्यस्तै टेलिकममा विषयमा प्राधिकरणमा १० महिनामा ११ ओटा उजुरी परेका छन् । प्राधिकरणमा टेलिकममा परेका उजुरीमा विभिन्न जिल्लामा मोबाइल फोन नलाग्ने समस्या, ल्यान्डलाइन फोन बिग्रिएर सेवाविहीन भएको, मोबाइल नचालाएको र कल नगरेको अवस्थामा पनि ब्यालेन्स घट्दै गएको, रिचार्ज नहुने र टावर मर्मत नभएको, विभिन्न जिल्लामा टावर निमार्णमा ढिलाइ तथा काम सुस्त रहेको, नेटवर्कले काम नगरेको जस्ता उजुरी प्राधिकरणमा परेका छन् ।

सुबिसु केबलनेट प्रालिको सुविधाका विषयमा तीन उजुरी परेका छन् । नेट सुस्त रहेको भन्दै कम्पनीविरुद्ध तीन उजुरी परेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै नेपाल टेलिकम र एनसेलका विषयमा संयुक्त रूपमा १२ उजुरी परेका छन् । विभिन्न जिल्लामा टावर, नेटवर्किङ समस्या, टावर निर्माण ढिलाइ, थ्रिजी र फोरजी समस्या, दक्ष कामदारको कमीलगायतका टेलिकम र एनसेलका १२ ओटा उजुरी परेका छन् । त्यस्तै एभरेस्ट लिङक्ले ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्ने सम्झौताबमोजिम सेवा नदिएको सम्बन्धमा एउटा उजुरी परेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकका विषयमा परेको उजुरीका विषयमा अनुसन्धान हुने र कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् । ‘हामीले वल्र्डलिङ्क, एनसेल र टेलिकमलाई चेतावनीसहित पत्राचार गरिसकेका छौं, पटकपटक एउटै विषयमा गुनासो र उजुरी आयो भने कारबाही हुन्छ,’ उनले भने ।