दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलः ढाँचा निर्माणमै अन्योल

योजनाले अहिले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण गरिरहरेको छ । यो राष्ट्रिय गौरवको ठूलो परियोजना हो । कुन मोडेलमा गराउने भन्ने विषय रोकिएकाले निर्माण सुरु हुन सकेको छैन । आयोजनाको अहिलेको काम जग्गा अधिग्रहण गर्नु हो ।

बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढाँचा निर्माणमै अन्योलता देखिएको छ । कोरियन कम्पनी ल्यान्डमाइन्ड वल्र्डवाइड (एलएमडब्ल्यु)ले सन २०१० मा सरकारलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो ।

कम्पनीको अध्ययन प्रतिवेदनबारे सरकारीस्तरबाट मोडिलिटी बनाउने विषयमा निर्णय हुन नसक्दा निर्माण प्रक्रिया सुरु हुन नसकेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने यात्रु चाप र आकासमा हुने एयर ट्राफिक जाम कम गर्न बैकल्पिक विमानस्थलको रुपमा रहेको विगत एक दशकदेखि निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।

आयोजनाले अहिले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण गरिरहरेको आयोजनाका प्रमुख रामहरि महर्जनले जानकारी दिए । ‘यो राष्ट्रिय गौरवको ठूलो परियोजना हो । कुन मोडेलमा गराउने भन्ने विषय रोकिएकाले निर्माण सुरु हुन सकेको छैन’ उनले भने, ‘आयोजनाको अहिलेको काम जग्गा अधिग्रहण गर्नु हो । अन्य काम पनि विस्तारै भइरहेका छन ।’ उनले आयोजना निर्माणमा ढिलाई भएको र भविष्यमा पनि ढिलाई हुन सक्ने सङ्केत दिए ।

८० वर्गकिलोमिटर क्षेत्रमा निर्माण हुने विमानस्थलको ९० प्रतिशत बन क्षेत्र पर्छ । बन क्षेत्रलाई ४ किल्ला तोकेर जग्गा अधिग्रहणको काम सुस्त गतिमा भइरहेको छ । १ हजार ४ सय जना सुकुम्बासीहरुलाई स्थानान्तरण गर्नुपर्ने काम अधुरै छ । नदीको कटान रोक्न चार किल्लामा तारवार लगाइएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

‘विमानस्थल कुन मोडालिटीमा बनाउने बारेमा पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ’ प्रमुख महर्जनले भने ‘यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति समेत गठन गर्ने निर्णय गरेको थियो ।’ विमानस्थल निर्माण गर्न ६ खर्ब ७० अर्ब रुपैयाँ लागत लाग्ने चिनियाँ कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।