कुलमानको निर्देशनपछि पनि अगाडि बढेन काबेली प्रसारण लाइन

जनप्रतिनिधि, स्थानीय प्रशासन तथा व्यक्तिहरुसँगको अन्तक्र्रियामा जसरी पनि निर्धारित समयभित्र प्रसारण लाइन बनाउने सहमति भएपनि बन्न नसकेको हो ।

डेढ महिना पहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित एक टोलीले काबेली प्रसारण लाइन निर्माण क्षेत्रको अनुगमन गरेको थियो । त्यत्तिबेला नै घिसिङले २०७५ बैशाख १० भित्र प्रसारण लाइन सक्नु भनेर निर्देशन दिए पनि प्रसारण लाइन बन्न सकेको छैन ।

जनप्रतिनिधि, स्थानीय प्रशासन तथा व्यक्तिहरुसँगको अन्तक्र्रियामा जसरी पनि निर्धारित समयभित्र प्रसारण लाइन बनाउने सहमति भएपनि बन्न नसकेको हो ।

विगत १० वर्षदेखि निर्माण सुरु भएको प्रसारण लाइन झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म निर्माण हुनुपर्छ । त्यसमध्ये गोदक—दमकको पहिलो खण्डको काम सम्पन्न भइसकेको छ । १३२ केभीए क्षमताको उक्त प्रसारण लाइन इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको बाँकी प्रसारण लाइन निर्माणको काम स्थानीयको मुआब्जा तथा वन क्षेत्रको विवाद र स्थानीयबासी, प्रशासन र जनप्रतिनिधिबीच समन्वय नहुँदा रोकिएको छ । उक्त खण्डमा ३५ भन्दा बढी टावर ठडाएर प्रसारण लाइन विस्तार गर्नुपर्ने हुन्छ । अहिलेसम्म टावर निर्माणको काम सुरु हुन सकेको छैन ।

ठेकेदारको मनोमानी, मुआब्जा विवाद, स्थानीय प्रशासन, जनप्रतिनिधिबीच समन्वयन नभएका कारण प्रसारण लाइन तोकिएको समयमा नै सम्पन्न गर्न नसकिएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

प्रसारण लाइन नबन्दा २५ मेगावाट क्षमताको काबेली बी—१ जलविद्युत् आयोजनाको विद्युत् खेर जानसक्ने देखिएको छ । अहिले उक्त आयोजनाको काम अन्तिम चरणमा छ । जेठभित्रै विद्युत् उत्पादन हुने लक्ष्य रहेको आयोजनाले जनाएको छ । त्यसैगरी २२ मेगावाटको तल्लो हेवा, १५ मेगावाट क्षमताको तल्लो हेवाखोला ए तथा १० मेगावाटको इवाखोला आयोजना निर्माण अन्तिम चरणमा छन् ।

उता सञ्चालनमा रहेको १४ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजना पनि प्रसारण लाइन बन्न नसक्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । भूकम्प र नाकाबन्दीका कारण थप ४ वर्ष पछाडि धकेलिए पनि त्यसपछि पनि अपेक्षाकृत काम हुन सकेको छैन ।