निर्विकल्प ‘मास ट्रान्सपोर्टेसन’ 

अहिले काठमाडौँ उपत्पकामा साझा यातायातले मास ट्रान्सपोर्टेसन सञ्चालनमा ल्याएपछि अन्य निजी कम्पनीले पनि सोही प्रकृतिका बस चलाउन थालेका छन् । काठमाडौँ दिगो सहरी यातायात योजनाले उपत्यकाको भित्री सडकमा माइक्रो र टेम्पो बन्द गर्ने ‘पाइलट प्रोजेक्ट’ पनि सञ्चालन गरिरहेको छ । सोही योजनाअन्तर्गत गोङ्गबु, जमल, मैतीदेवी, सिनामङ्गल रुटका साना गाडीलाई प्रतिस्थापन गरी नयाँ ठूला सुविधायुक्त बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

‘काठमाडौँमा माइक्रो र टेम्पोमा यात्रा गर्नु भनेको कुनै ठूलै अपराध गरेपछि पाइने सजाय जस्तै बन्न थालेको छ । मानौँ हामीले बिहान घरबाट निस्किँदा अपराध गरेका छौँ, त्यसको सजायस्वरुप माइक्रो वा टेम्पोमा यात्रा गर्नुपरेको हो,’ लतिपुरबाट दैनिक माइक्रो वा टेम्पोमा यात्रा गर्दै आएकी सुजता पाण्डे भन्छिन्, ‘यात्रा नगरौँ काम भ्याउन कठिन छ । यी सवारीसाधनमा चढ्नु ठूलै सजाय दिएजस्तै लाग्छ ।’ \

साँघुरा सिट, उभिँदा टाउको ठोक्किने, बस्न ठाउँ पाउनु त ठूलो अवसरसरह हुने ! निकै लामो समयसम्म यस्तै सार्वजनिक यातायातको बाहुल्य थियो— काठमाडौँमा । तर, समयक्रमसँगै अहिले यो बेथितिमा सुधार आउने क्रम देखापरेको छ । सरकारले साना गाडी विस्थापन गर्ने र त्यसको ठाउँमा ठूला तथा सुविधायुक्त बस सेवा (मास ट्रान्सपोर्टेसन) लाई प्रोत्साहन दिन थालेपछि सर्वसाधारलाई ठूलै राहत मिलेको छ ।

साना गाडीमा कुचुक्क परेर बस्दा सास फेर्नसमेत सकस हुन्थ्यो । तर, सरकारले ठूला बस सञ्चालन गर्न व्यवसायीलाई वातावरण बनाइदिएपछि त्यसबाट मुक्ति मिलेको अनुभव सुनाउँछिन् लतिपुरकी पाण्डे । अचेल उनी कतै यात्रा गर्नुप¥यो भने एकछिन कुरेरै भए पनि ठूला बस नै चढ्छिन् । ‘सिट नपाएर उभिएरै यात्रा गर्नुपरे पनि ढुक्कसँग सास लिन त पाइन्छ,’ उनी भन्छिन्, ‘सुरक्षित यात्राकै लागि भए पनि ठूला बसमा चढ्ने गरेकी छु ।’
अहिले काठमाडौँ उपत्पकामा साझा यातायातले मास ट्रान्सपोर्टेसन सञ्चालनमा ल्याएपछि अन्य निजी कम्पनीले पनि सोही प्रकृतिका बस चलाउन थालेका छन् ।

लाजिम्पाट बस्दै आएका राजाराम पोखरेलको पनि साना गाडी चढ्दाको भोगाइ पाण्डेको भन्दा फरक छैन । ‘उपत्यकाबासीले तीन वर्षअघिसम्म साना गाडीबाट हैरानी खेपेका थिए । तर, अहिले निकै सुविधाजनक स्थिति बनेको छ,’ उनले भने । साझा यातायातसँगै अन्य निजी कम्पनी तथा व्यवसायीले काठमाडौँ उपत्यकामा ठूला सवारीसाधन भिœयाएसँगै माइक्रो र टेम्पोमा कोचिँदै, थेप्चिँदै, झुन्डिँदै र निहुँरिदै यात्रा गर्नुपर्ने बाध्यता हटेको पोखरेल बताउँछन् ।

सरकारले उपत्यकामा साना गाडीलाई पूर्ण रुपमा विस्थापन गरी नयाँनयाँ सुुविधायुक्त मास ट्रान्सपोर्टेसनलाई प्राथमिकता दिनुपर्ने माग निकै अघिदेखि उठेको हो । १५ सिट क्षमताको माइक्रो तथा १० सिट क्षमताको टेम्पोले व्यवसायीलाई फाइदा पु¥यायो होला । तर, यात्रुका लागि ठूलो कष्ट दियो । साना गाडीकै कारण उपत्यकामा ट्राफिक जाम तथा अन्य धेरै समस्या बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

सरकारले तीन वर्षको समयसीमा दिएर साना तथा पुराना सवारीसाधन हटाउँदै छ भने ठूला तथा सुविधायुक्त बसको प्रभाव बढ्दै गएको छ । सरकारले पनि साना सवारीलाई पूर्ण रुपमा विस्थापन गर्ने योजना बनाउने र कार्यान्वयनमा दह्रो ढङ्गमा अघि बढ्ने लक्षण पछिल्लो समय देखापरेको छ ।
अहिले साना सवारीसाधन चल्ने ठाउँमा ठूला तथा स्तरीय बस सञ्चालन हुन थालेका छन् । यो अभियान साझा यातायातबाट सुरु भएको हो । ठूला बस सञ्चालन अभियानले अहिले विभिन्न निजी तथा सरकारी क्षेत्रबाट पनि यो अभियानलाई बल मिल्दै गएको छ । निजीक्षेत्र पनि साना सवारीसाधनलाई प्रतिस्थापन गर्दै उपत्यकाका विभिन्न रुटमा सुविधायुक्त ठूला बस सञ्चालनमा ल्याउन उत्सुक देखिएका छन् ।

हाल उपत्यकामा साझा, महानगर, अरेन्ज, मेट्रो सिटी, बूढानीलकण्ठ, चक्रपथ परिक्रमा, नेपाल यातायातलगायत ठूला बस सञ्चालनमा छन् । सरकारले लागू गरेको सहुलियत नीति सफल भइरहेको यातायात विभागका निर्देशक तुलसीराम अर्याल बताउँछन् । सरकारले भन्सारमा मात्र होइन, दर्ता तथा रुट पर्मिटमा पनि कडाइ गरेको छ । ‘टेम्पोको दर्ता बन्द गरेको छ । २० वर्ष पुराना सवारीलाई रुट इजाजत नवीकरण दिएको छैन । काठमाडौँ उपत्यकामा नयाँ माइक्रो बसलाई रुट पर्मिट बन्दजस्तै छ,’ अर्यालले भने ।

काठमाडौँ दिगो सहरी यातायात योजनाले उपत्यकाको भित्री सडकमा माइक्रो र टेम्पो बन्द गर्ने ‘पाइलट प्रोजेक्ट’ पनि सञ्चालन गरिरहेको छ । सोही योजनाअन्तर्गत गोङ्गबु, जमल, मैतीदेवी, सिनामङ्गल रुटका साना गाडीलाई प्रतिस्थापन गरी नयाँ ठूला सुविधायुक्त बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सामाखुसी रुटमा सञ्चालन हुँदै आएका सामाखुसी यातायात र सफा टेम्पो परिवहनसँग सम्झौता भइसकेको काठमाडाँै दिगो सहरी यातायातले जानकारी दिएको छ । यो रुटमा सञ्चालनमा रहेका माइक्रो तथा टेम्पोहरु तत्काल राजधानीका उपयुक्त अर्कै रुटमा लगी स्थानान्तरण गरिनेछ । विभागले यो रुट कार्यान्वयनमा ल्याएपछि बिस्तारै अन्य रुटहरुमा पनि ‘मास ट्रान्सपोर्टेसन’ व्यवस्था कार्यान्वयनमा ल्याउने बताएको छ । धेरै अघिदेखि यो रुटमा ठूला गाडी मात्रै सञ्चालनमा ल्याउने तयारी गर्दा व्यवसायीले विरोध गर्दै आएका थिए ।

तर, सरकारले प्रोत्साहनस्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलियत ऋण दिने निर्णय व्यवस्था गरेपछि व्यवसायीहरु सहमत भएका थिए । बस खरिद गर्न नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास बैङ्क (एडीबी)ले १५ प्रतिशत अनुदान र ५ प्रतिशत काठमाडौँ दिगो सहरी यातायात आयोजनाले सहयोग गर्दै आएको छ ।

सरकारले साना सवारीसाधनलाई निरुत्साहित गर्दै गएपछि विगत लामो समयदेखि माइक्रो बस तथा अन्य साना सवारी सञ्चालन गर्दै आएका व्यवसायी आफैं ठूला बस सञ्चालनमा चासो देखाउन थालेका छन् । नेपाल यातायात, अरेन्ज बस, महानगर यातायात, बाबा गोकर्णेश्वर यातायात, सिटी मेट्रो यातायातलगायतले धमाधम ठूला बस भिœयाउन थालेका छन् । केही समयदेखि बूढानीलकण्ठ यातायात सेवा समितिले पनि बूढानीलकण्ठ–रत्नपार्क रुटमा १६ सिटे माइक्रो हटाएर ३४ सिटे ठूला बस चलाउन सुरु गरेको छ । हाल सो रुटमा यात्रा गर्ने यात्रुुका लागि थोरै भए पनि राहत मिलेको छ । दुई–तीन ओटा माइक्रोमा अटाउने मान्छे एउटै बसमा सरल तरिकाले जान पाउने भएकाले ठूूला बस बढ्नु स्वाभाविक नै भएको यात्रु विक्रम ओली बताउँछन् । ‘यात्रुले पैसा तिरेपछि सुविधा खोज्नु स्वाभाविक हो,’ उनले भने ।

यातायात व्यवस्था विभागले पनि साना सवारीसाधन चल्ने स्थानहरुमा अहिले ठूला बस सञ्चालनलाई प्रोत्साहन दिएको छ । अझ ती बसहरुमा वाइफाई, एलईडी टेलिभिजन, यात्रु गतिविधि निगरानीका लागि सीसी क्यामेरा तथा अन्य धेरै सेवासुविधाका कारण ठूला सार्वजनिक यातायात लोकप्रिय बन्दै गएका छन् । साझा यातायातले सुरु गरेको यो अभियानसँगै अहिले काठमाडौँका सडकमा आकर्षक बस चल्न थालेका छन् । काठमाडौंमा निजी सवारीसाधनको चाप बढ्दै गएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक अर्यालका अनुसार उपत्यकामा ठूला सार्वजनिक यातायातको प्रभाव सकारात्मक बन्दै गएको छ । उपत्यकामा चल्ने सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी, प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउन विभाग लागिपरेको उनले बताए ।
उपत्यकामा बढ्दो सवारी चाप तथा जनसङ्ख्यालाई दृष्टिगत गर्दै विभागले यात्रु सुविधाबारे नयाँ सोच अघि सारेको अर्यालको भनाइ छ । उनका अनुसार विभागमा निजीक्षेत्र तथा विभिन्न साना बस सञ्चालन गर्दै आएका कम्पनीले सुविधायुक्त बस दर्ता गर्ने प्रक्रिया बढेको र गत आर्थिक वर्षको तुलनामा चालू आवमा ठूला सवारीसाधन भित्रने क्रम पनि वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले चैत १ गतेदेखि देशैभर चल्ने २० वर्ष पुराना भाडाका सार्वजनिक सवारीसाधन जफत गर्ने नियम लागू गरेसँगै यही नयाँ वर्षदेखि काठमाडौँका मुख्य रुटमा चल्ने साना सवारीसाधन हट्ने देखिन्छ । साथै, पुराना रुटमा चल्ने माइक्रो विस्थापन गरी ठूला तथा सुविधायुक्त बस सञ्चालनमा ल्याउने तयारी भएको विभागले जानकारी दिएको छ ।

दिगो सहरी विकास आयोजनाले ‘मास ट्रान्सपोर्टेसन सिस्टम’मा आधारित रहेर उपत्यकालाई तीन तहमा विभाजन गरी उपत्यकाको सार्वजनिक यातायात प्रयोगकर्तालाई थप राहत दिने प्रतिबद्धता जनाएको छ । तत्कालका लागि दोस्रो चरणको रुटअन्तर्गत हाल मैतीदेवी, डिल्लीबजार, पुरानो बानेश्वर, सिनामङ्गल, गोङगबु नयाँबसपार्क रुटका लागि भारतमा १७ ओटा बस बनाउने काम भइरहेको विभागले जानकारी दिएको छ । हाल उक्त रुटमा माइक्रो र टेम्पो गरी ६५ ओटा साना सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

साझा यातायातले आफ्नो स्तरीय सेवाका कारण पछिल्लो समय उपत्यकावासीको मन जितेको छ । काठमाडौँमा हाल ४७ ओटा साझाका सुविधायुक्त बस सञ्चालनमा छन् । गत महिना मात्र साझाले अपाङ्गमैत्री तथा रातिको समयमा चल्ने सेमी लो–फ्लोर बस सञ्चालनमा ल्याएको थियो । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितका अनुसार अहिलेको अवस्थामा उपत्यकालगायतका स्थानमा साझाजस्तै ठूला बसको निकै नै अवश्यकता छ । ‘साझाले उपत्यकामा हाल रहेको सार्वजनिक सवारी व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्दै आएको छ,’ उनले भने । अगामी दिनमा साझाले ठूलो परिमाणमा बस भिœयाउने तयारी गरेको दीक्षित बताउँछन् । साझा यातायातजस्तै चक्रपथ रुटमा चल्ने महानगर यातायातले पनि बिस्तारै यात्रुको मन जित्दै गएको छ । यसले चक्रपथमा दैनिक तथा आवश्यकता पर्दा यात्रा गर्ने सर्वसाधारणलाई राहत मिलेको छ ।

अर्को ठूलो बस तथा साझाजस्तै सेवासुविधा दिँदै आएको सिटी मेट्रोले पनि उपत्यकावासीको मन जित्दै गएको छ । उक्त बस नयाँ बसपार्क, गोङ्गबु, चक्रपथ, पुतलीसडक, बानेश्वर, कोटेश्वर हुँदै काँडाघारीसम्मको रुटमा चल्दै आएको छ । लामो रुटमा चल्ने बस भएकाले सो बस उपयुक्त रहेको यात्रुहरु बताउँछन् । विभागले पनि उपत्यकामा ठूला बस सञ्चालन गर्न निजी तथा अन्य निकायलाई प्राथमिकता दिँदै आएको छ । अन्य रुट बूढानीलकण्ठ, कीर्तिपुरलगायतका स्थानमा पनि ठूला बस सञ्चालनमा छन् । पछिल्लो समय बौद्ध–जोरपाटी क्षेत्रमा पनि सुविधायुक्त बस सञ्चालन हुन थालेका छन् ।

बनेपा–धुलिखेल रुटमा विवाद तथा सिन्डिकेटको विषयमा मतान्तर बढ्दै गएपछि मयूर यातायातलाई यातायात विभागले रुटपर्मिट दिएको छ । विभागले मयूर यातायातलगायत उपत्यकामा चल्ने सिटी मेट्रो, अन्नपूर्ण यातायात, साझा यातायात, शिवदर्शन यातायात, मध्यउपत्यका यातायातलाई एकै दिन रुट पर्मिट दिएको थियो ।

साझा यातायातले पनि यही समयमा विभागबाट रुट पर्मिट लिएर सो क्षेत्रमा बस सञ्चालन सुरु गरेको छ । सिटी मेट्रोले काँडाघारीसम्मको मात्र रुट पर्मिट अनुमति लिएकोमा अब बनेपा–धुलिखेलसम्म पुग्ने भएको छ । यसले सर्वसाधारण यात्रुलाई निकै सहज भएको छ ।