ठेकेदार कम्पनीको लापरबाहीले ७ वर्षदेखि भेरी पुल निर्माण अलपत्र

वाईपी कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको झोलुङ्गे पुलको काम सुरुका वर्षमा केही भए पनि विगत एक वर्षदेखि शून्य प्रगति रहेको मध्यपहाडी राजमार्ग (पश्चिम खण्ड) का सिनियर डिभिजन इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण भेरी पुल निर्माण अलपत्र परेको छ । आर्थिक वर्ष २०६८/०६९ मा ठेक्का सम्झौता भई काम सुरु भए पनि अहिले पुल निर्माणको काम हुन सकेको छैन ।

जाजरकोटको कुडु देखि रुकुमको चौरजहारी जोडिने झोलुङ्गे पुल ९८ मिटर लम्बाइको छ । वाईपी कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको झोलुङ्गे पुलको काम सुरुका वर्षमा केही भए पनि विगत एक वर्षदेखि शून्य प्रगति रहेको मध्यपहाडी राजमार्ग (पश्चिम खण्ड) का सिनियर डिभिजन इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । उनले काम सुरु गर्न आग्रह गर्दै एक हप्ता अगाडि सूचना सार्वजनिक गरेको बताए । ‘विगत एक वर्षदेखि ठेकेदार कम्पनीकोे कार्य प्रगति प्रायःशून्य छ’ उनले भने, ‘निर्माण व्यवसायी कम्पनीसँग स्पष्टीकरण माग गरेका छौँ, तर कुनै जवाफ आएको छैन ।’

१४ करोड ८ लाख २७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा कम्पनीले २ करोड ६९ लाख १५ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । कम्पनीले ७ वर्ष पहिले निर्माण सुरु गरे पनि अहिलेसम्मको प्रगति १८ प्रतिशत मात्र छ । ‘हालसम्म पुलको देब्रे फाउन्डेसन र पहिलो चरणको एन्कर प्लकको काम सुरु भएको छ’ इन्जिनियर न्यौपानेले भने, ‘काम गरेजस्तो देखाउने गरी निर्माण सामग्री थुपारिएको छ । तर, काम चाहिँ भएको छैन ।’ उनले कामको आधारमा समयमै बिल भुक्तानी गरेपनि कम्पनीले निर्माणमा आलटाल गरेको जानकारी दिए ।

कम्पनीले एक हप्तापछि अन्तिम पटक सूचना जारी गर्ने र त्यसपछि पनि स्पष्टीकरण नआए ठेक्का तोड्न सकिने मध्यपहाडी लोकमार्ग (पश्चिम खण्ड) का प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए । ‘लामो समय बित्दा पनि काम अलपत्र छ’ उनले भने, ‘ठेक्का तोडेर अर्को कम्पनीसँग सम्झौता गर्नुभन्दा यसैले गरोस् भन्ने हो । एक हप्ताभित्र अन्तिम सूचना जारी गर्छौं ।’ उनका अनुसार कम्पनी आफैँमा कमजोर र वित्तीय स्रोत अभावका कारण यसले लिएका अन्य आयोजनाहरु पनि अलपत्र परेका छन् ।

कम्पनीले २०७५ असार मसान्तसम्म पुल बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।