ठेकेदार कम्पनीकै आन्तरिक समस्याले मेलम्चीको काम सुस्त

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले रकम अभाव भएको भन्दै आयोजना निर्माणमा आलटाल गर्दै आएको हो ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना निर्माणको काम ठेकेदार कम्पनीको आन्तरिक समस्याले सुस्त बन्दै गएको छ । इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले रकम अभाव भएको भन्दै आयोजना निर्माणमा आलटाल गर्दै आएको हो ।

काम गरेको आधारमा समयमै भुक्तानी बिल दिने गरेको र ठेकेदारको आफ्नै आन्तरिक समस्याका कारण निर्माणमा ढिलाइ हुँदै गएको मेलम्ची आयोजना विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले जानकारी दिए । उनले सीएमसी केन्द्रिय कार्यालय इटालीको खातामा भुक्तानी जाने र ठेकेदार कम्पनीले नपाएको बताए ।

‘परामर्शदाताको सिफारिसमा कामका आधारमा आयोजनाले नियमित भुक्तानी दिइरहेको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीको केन्द्रीय कार्यालय, इटालीको खातामा पैसा पठाउने व्यवस्था छ, तर, ठेकेदारको नेपालस्थित कार्यालयलाई केन्द्रीय कार्यालय इटालीले थोरै रकमले काम चलाऊ भनेर निर्देशन दिन्छ, जसका कारण ठेकेदारले रकम अभाव देखाएर काम रोक्छन् ।’ उनले ठेकेदार कम्पनीको आफ्नै आन्तरिक समस्या र अभावका कारण आशातीत प्रगति हुन नसकेको बताए । एसियाली विकास बैङ्कको ऋण लगानीमा उक्त आयोजना निर्माण भइरहेको हो ।

प्राविधिक भन्छन्, ‘असार मसान्तसम्म काम सक्न कठिन’

गत चैत २८ गते आयोजनाको सुरुङ मार्ग ब्रेकथु्र भएपनि त्यसपछिका कामहरु निकै सुस्त देखिएको आयोजनाका अधिकारीहरु बताउँछन् । टनेलको भुँइ ढलान, भेन्टिलेसन, पाइप विस्तार तथा अस्थायी पाइप लाइन राख्ने काम बाँकी छन् । टनेलको आउटगेटबाट पानी प्रशोधन केन्द्रसम्म २ सय ५० मिटर पाइप जडान गर्ने काम सुरु हुन सकेको छैन । पानी प्रशोधन केन्द्रमा अन्य काम पनि बाँकी नै छन् । निर्माण सामग्री जस्तैः सिमेन्ट, बालुवा, गिटी, पेट्रोलियम ढुवानी तथा अन्य सामग्रीहरु समयमै आपूर्ति हुन नसकेको आयोजनाका इन्जिनियर पन्तले बताए । उनले आगामी असारसम्म निर्माण सम्पन्न गर्न कठिन रहेको बताए ।

खानेपानी मन्त्रीको समेत ध्यानाकर्षण

मेलम्ची आयोजना निर्माणमा ढिलाइ नगर्न आयोजना, ठेकेदार, सम्बद्ध सरकारी पक्षलाई खानेपानी मन्त्री बिना मगरले निर्देशन दिएकी छिन् । उनले यसअघि आयोजना निरीक्षणका क्रममा आगामी असारभित्रै आयोजनाको काम जसरी पनि सक्नुपर्ने बताएकी थिइन् । रकम अभावले ठेकेदारले आयोजनाको काम रोक्न नहुने मन्त्री पुनले बताएकी हुन् ।